कोभिडका कारण पोखराका सिनेमा हललाई मासिक २ करोड घाटा

  • पोखरा न्यूज
  • २०७७ मंसिर १०
कोभिडका कारण पोखराका सिनेमा हललाई मासिक २ करोड घाटा

राजाराम पौडेल, प्रभु अधिकारी। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएएता फिल्म प्रदर्शन हुन नसक्दा सिनेमा हल सुनसान छन् । सरकारले जनस्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर  अधिकांश क्षेत्र खुला गर्न अनुमति दिएको भएता पनि संक्रमणको उच्च जोखिम रहेको भन्दै  सिनेमा हल र पार्टी-प्यालेस लगायतका केही क्षेत्र खुला गर्नको लागि भने अझै अनुमति दिएको छैन ।

संक्रमणको जोखिमबाट सिर्जित यस्तो अवस्थाका कारण कमाई हुने आशामा लगानी गरेका हल सञ्चालकहरु अप्ठेरो अवस्थामा परेका छन् । उनीहरुले आफूहरु  मात्र नभएर हलमा कार्यरत जनशक्ति र सिनेमा जगत् सँग जोडिएका  स्रष्टा सर्जक, प्राविधिक, कलाकारहरू लगायत सबै कठिन परिस्थितिमा रहेको बताइरहेका छन् । कोभिड मारमा सँगसँगै परेका  हस्पिटालिटी क्षेत्रका होटेल रेस्टुरेन्ट जस्ता पर्यटकीय क्षेत्र खुला हुँदा आन्तरिक पर्यटकका कारण चहलपहल बढेको भन्दै  सरकारले  सिनेमा क्षेत्रलाई पनि जनस्वास्थ्य मापदण्ड पुरा सञ्चालन गर्न दिनुपर्ने माग सम्बन्धित पक्षले गर्दै आएका छन् ।

पोखरा क्षेत्रमा मल्टीप्लेक्स हल मीड टाउन सिनेमा, क्यूएफएक्स सिनेमाको फेन्चाइज पोखरा सिनेप्लेक्स र  सिने प्लाजा पोखरा अन्तर्गतका सिनेमा घरहरू यति बेला बन्द रहेका छन् । सिनेमा घर बन्द हुँदा मासिक झन्डै २ करोड बराबरको नोक्सानी भइरहेको यहाँका सञ्चालकहरूले बताउँदै आएका छन्।  पोखराको मल्टीप्लेक्स हल मीड टाउन सिनेमाजका व्यवस्थापक निकेश द्धा अहिले पहिलेकै जसरी हल खुलिहाल्ने अवस्था नभएको भए पनि जनस्वास्थ्यका मापदण्ड पुरा गरेर हल सञ्चालन गर्न आफूहरू तयार रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘अहिले हल पहिलेकै जसरी खुलिहाल्ने अवस्था छैन । हामीलाई अहिले नै आम्दानी गर्नुपर्‍यो भन्ने पनि हैन  । कम्तीमा जनस्वास्थ्य मापदण्ड अपनाएर यस क्षेत्रलाई चलायमान गराउन र कामदार कर्मचारीको रोजीरोटी जोगाउन पाए हुन्थ्यो भन्ने हो।’

सरकारले सिनेमा हल सञ्चालन गर्न दिएको खण्डमा आफूहरू सिनेमा प्रदर्शन गर्न तयार रहेको र  निर्माताले पनि  फिल्म रिलिज गर्नुपर्ने उहाँको तर्क रहेको छ । उहाँले भन्नुभयो, हामीले सधैँ नाफा घाटा हेरेर मात्र हुँदैन  । मुख्य कुरा भनेको यो क्षेत्रलाई चलायमान बनाउने हो । आश्रितलाई जोगाउने हो । ”  आफूहरू हल सञ्चालन नहुँदा  घाटामा गए पनि कर्मचारीलाई ५० प्रतिशत तलब दिएर बसेको जनाउँदै उहाँले यस्तो अवस्था कति लम्बिने हो भन्ने ठेगान नभएका कारण निर्माताले पनि सिनेमा क्षेत्रलाई चलायमान बनाउन  तयार भएका फिल्म रिलिज गर्नुपर्ने बताउनुभयो ।

अवस्था सामान्य नहुँदासम्म फिल्म हेर्न दर्शकको मागलाई मध्यनजर गर्दै पुराना फिल्म पुनः रिलिज गर्ने कि भन्ने सोचमा पनि  आफूहरू रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो -‘चलचित्र सङ्घसँग हरेक हप्ता सम्पर्कमा छौँ, हल खोल्नुपर्‍यो  भन्नुहुन्छ , त्यतिकै चलाउँदा दर्शक नहुने हुन् की भन्ने दरले  ठुलो लगानीमा निर्माण भएका फिल्म निर्माताले समेत अहिलेको स्थितिमा फिल्म रिलिज गर्न आँट गर्नुहुन्न ।’ आफूहरूसँग दैनिक  १०/१५ जना दर्शकले  फोनमार्फत हल कहिले खुल्छ भनेर सोध्ने र म्यासेज गर्ने गरेको बताउँदै उहाँले दर्शकले पनि कोभिड त्रासका वावजुत केही समय मुड फ्रेस बनाउन  मनोरञ्जन खोजिरहेको तर्क व्यक्त गर्नुभयो  ।

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड तोक्नु भन्दा पहिला नै आफूहरूले फिल्म हेर्न आउने दर्शकलाई सचेत गराउँदै स्यानिटाइजर, मास्क लगाउन  सुरु गर्दै स्वास्थ्य सुरक्षा मापदण्डमा गइसकेको र त्यसरी फिल्म प्रदर्शन गर्न थालेको दुई हप्ता नहुँदै सरकारको निर्देशनमा हल बन्द गरेको मीड टाउन ग्यालेरिया कप्लेक्सका सञ्चालक समेत रहनुभएका निकेशले बताउनुभयो । ‘उहाँले भन्नुभयो  ‘सुरुमा त एक दुई महिना होला भन्ने लागेको थियो , तर आठ महिना बितिसक्यो,  हल बन्द भएपछि कर्मचारीलाई आधा तलब दिन थाल्यौ, हामीसँग प्रत्यक्ष २५ जना  र सेक्युरिटी टिम सहित ४४ जना कर्मचारी हुनुहुन्छ, हलमा आउन परे पनि नपरे पनि पचास प्रतिशतको दरले आजको दिनसम्म तलब  खुवाइरहेका छौँ, सरकारले यस्तो कुरा बुझिदिनुपर्‍यो ।’

हल सञ्चालक र फिल्म वितरक रहनुभएका निकेशले कलिउडका , बलिउडका र  हलिउडका चल्ने अनुमान गरिएका फिल्म प्रदर्शन हुन लागेको समयमा लकडाउन भएका कारण  फिल्म आउन लागेको १० दिन अगाडिबाटै पप कन देखि लिएर कफीका साथै सबै खानेकुरा समेत स्टक राखेकोमा  त्यसरी स्टक राखेको शतप्रतिशत सामाग्री समेत  खेर गएको  बताउनुभयो । द्धा का अनुसार वर्तमान परिस्थितिमा फिल्म प्रदर्शन हुन नसके पनि हलमा सेक्युरिटी, डिपक्लिनिङ,  हरेक दिन प्रोजेक्टर ,साउन्ड सिस्टम, सर्भर अन अफ,  एयर कन्डिसन मर्मत र  हल  मेन्टेन गर्दा धेरै नोक्सानी बेहोर्नुपरेको उहाँको भनाई छ ।

यो समयमा बैङ्कले किस्ताको लागि ताकेता गरिरहेको कारण मानसिक टर्चर हुने  बताउँदै उहाँले बैङ्कबाट  किस्ता ऋणमा नै थपिदिउँला व्याज तिरिदिनु भन्ने खालको जवाफले हल सञ्चालक तनावमा बस्नुपरेको दुखेसो व्यक्त गर्नुभयो।  ‘हलको व्याज मात्र यो समयको सवा करोड पुग्न जान्छ, शून्य आम्दानीमा हामीले १० करोड ऋणको व्याज सवा करोड तिर्न असम्भव कुरा भएको छ, ऋण लिएको बैकले राष्ट्र बैकबाट केही कुरा आएको छैन तिरिहाल्नुपर्छ भन्दै बैङ्क ताकेता गर्छ’ ,उहाँले भन्नुभयो – ‘कर्मचारीलाई केही नतिरेको भए हामीले व्याज धान्न सक्थ्यौ होला । व्याज कहाँबाट तिर्ने आम्दानी भए पो व्याज तिर्ने हो, बैकलाई अनुरोध गर्दा राष्ट्र बैकले भनेको छैन भन्ने कुरा आउँछ, कसरी धान्ने चिन्ता भएको छ , सरकारले अवस्था सामान्य गर्नको लागि पहल गरिदिए हुन्थ्यो ।’

कोरोना नियन्त्रण गर्न सफल देश चाइना, ताइवान, सिंगापुर, जापान सबैले लकडाउन गरे लकडाउनसँगै बोर्डर कन्ट्रोल गरे तर नेपालमा लकडाउन भयो बोर्डर कन्ट्रोल केही भएन, तीन महिना लकडाउनको सट्टा एक महिना हल चलेको भए दुई महिनाको किस्ता बढी तिर्न सकिन्थ्यो होला भन्ने अहिले हुन् थालेको उहाँले बताउनुभयो । मीड टाउन सिनेमाजमा रहेका  दुई वटा मल्टिप्लेक्स हलमा कूल ३ सय ५० सिट क्षमता रहेकोमा अवस्था सामान्य हुँदा सरदरमा मासिक रूपमा ६० देखि ७० लाख रुपैयाँको हाराहारीमा कारोबार हुने गरेकोमा कोभिडका कारण त्यो सबै गुमेको उहाँले बताउनुभयो । उहाँहरूको लगानीमा बुटवलमा समेत कुल १ हजार ४ सय सिट क्षमताका हल छन् । त्यहाँको अवस्था समेत उस्तै रहेको उहाँले बताउनुभयो ।

यता क्यूएफएक्स सिनेमाको फेन्चाइज पोखरा सिनेप्लेक्सको अवस्था समेत उस्तै छ । कुल सिट क्षमता ५ सय ७४ रहेको  पोखरा सिनेप्लेक्सका दुई हलमा  झन्डै १८ जना प्रत्यक्ष रूपमा कार्यरत कर्मचारी छन् । केहीलाई बिदा दिएको र केहीलाई निरन्तरता दिएर  अवस्था सामान्य होला भन्ने अपेक्षाका साथ पर्खिरहेको  सञ्चालक मध्येका एक राजेन्द्र प्रधानले बताउनुभयो । उहाँले  अहिले हल खुलिहाल्ने अवस्था नभएको बताउँदै  हल खुलेको खण्डमा समेत अवस्था सामान्य नहुँदासम्म फिल्म हेर्न दर्शक आउने नआउने ठेगान नभएकाले  तुरुन्त आम्दानी हुने  नदेखिएको बताउनुभयो  ।

उहाँले भन्नुभयो  ‘हामीले वल्डवाइड ट्रेन्ड हेरिरहेका छौँ , अवस्था सहज नभई हल खोल्दा एयर कन्डिसन,हल  मेन्टेन र बिजुलीको खर्च समेत धान्दैन भन्ने लागिसक्यो,  सरकारी तवरबाट हल सञ्चालकको फाइनान्सियल समस्या समाधानका लागि पहल गरिदिने हो भने केही हुन्थ्यो भन्ने लागेको छ  । आफूहरूले  पोखरामा ठुलो अपेक्षाका साथ हल सञ्चालन गरेको बताउँदै उहाँले लगानी गरेको १ पैसा पनि फिर्ता लिन नपाइरहेको अवस्थामा कोभिडले ठुलो समस्यामा पारेको सञ्चालक प्रधानले बताउनुभयो । नर्मल अवस्थामा पनि हलमा मासिक २५/३० लाखको कारोबार हुने गरेको र राम्रो हुँदा ६०/७० लाखको मासिक कारोबार हुने गरेकोमा अहिले त्यो सबै गुमाउनुपरेको उहाँले बताउनुभयो ।

सिने प्लाजा पोखराका सञ्चालक उत्तम द्धा सिनेमा क्षेत्र पहिलाकै अवस्थामा फर्कन समय लाग्ने बताउनुहुन्छ । ‘पहिलाकै अवस्थामा फर्कन धेरै समय लाग्छ होला । हल चल्यो भने पनि डेढ वर्ष लाग्छ । राम्रा फिल्म आए भने मात्र हो, त्यो पनि । मानिसलाई कोरोनाको त्रास छ’,उहाँले बताउनुभयो । लकडाउन हुनुभन्दा अगाडिसम्म सिन प्लाजामा मासिक ५० देखि ७० लाख रुपैयाँ सम्मको व्यापार हुने गरेको उहाँले सुनाउनुभयो । हल बन्द भएपछि हलमा प्रयोग हुने मेसिनहरू जाम भएको छ । मोबिल पनि जम्यो, सामानहरू बिग्रिएको छ । स्टाफलाई पारिश्रमिक दिनुपर्‍यो । बैकको किस्ता र व्याज बुझाउन प¥यो । समस्या नै समस्या छ । चार वटा हलमा गरेर ५२ जना स्टाफ रहेका तर अहिले सबै स्टाफ राख्न सकिएको छैन, केही स्टाफ राखेका छौँ , सञ्चालक द्धा भन्नुहुन्छ ।

‘हल सञ्चालकलाई राहत भनेको ऋण मिनाहा, विद्युत् महसुलमा छुट दिन सके हुने हो । महिनामा चार वटा हलमा गरेर ३५ देखि ४० हजार बिजुलीको चार्ज अहिले पनि आउँछ । बिजुलीको चार्ज मिनाहा, ट्याक्स मिनाहा गरिदिने भएदेखि केही न केही राहत हुने थियो । सङ्घ मार्फत माथिल्लो तहमा कुरा भइरहेको छ । विकास बोर्डमा कुरा राखेका छौ । तर सरकारलाई सुन्ने फुर्सद नभएर हो कि, अप्ठ्यारो स्थितिमा छ, बुझ्न सकको छैनौ,’ सञ्चालक द्धा ले गुनासो व्यक्त गर्नुभयो । सिने प्लाजा अन्तर्गत चार वटा हल छन् । विन्ध्यवासिनी, श्रीकृष्ण, वाराही क र वाराही ख । चार वटा हलको कुल सिट क्षमता ३ हजार ४ सय हो । विन्ध्यवासिनी हल र श्रीकृष्ण हलको एक–एक हजार सिट क्षमता हो भने वाराही क र वाराही ख को सात/सात सयको सिट क्षमता हो ।

तस्विर : राजाराम पौडेल

पोखराकै अर्को पुरानो कल्पना सिनेमा हल बन्द भएको छ । यो सिनेमा हल रहेको जग्गा तथा भवन झन्डै १ वर्ष अगाडि पोखराको प्रतिभा माविले किनेको छ । त्यसपछि केही समय पुनः भाडामा हल चलाउन विद्यालयले दिए पनि अहिले अब नचलाउने भनेर हल सञ्चालकले चाबी हस्तान्तरण गरिसकेको प्रतिभा माविका प्राचार्य विश्व गोपाल पराजुलीले जानकारी दिनुभयो । पराजुली भन्नुहुन्छ–‘कल्पना सिनेमा हल अहिले बन्द भयो, हामीले लिएको करिब एक वर्ष हुन लाग्यो, हामीले लिने बेलामा चल्दै थियो, पछि केही समय उनीहरूले चलाए, पछि सिनेमा हल चल्ने स्थिति देखिएन, सायद भाडा तिर्न पनि अप्ठ्यारो भयो होला, अनि नचलाउने निधो गरेर हामीलाई चाबी हस्तान्तरण गरे । अब पूर्ण रूपमा बन्द भयो।’ प्रतिभा माध्यमिक विद्यालयको नाममा रहेको जग्गा तथा भवनमा थप संरचना बनाएर शैक्षिक कार्यक्रम सञ्चालन गरिने पराजुलीले बताउनुभयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस