पोखरामा फिल्म कहिले चल्छन् भनेर दर्शकहरू प्रश्न गर्नुहुन्छ : निकेश द्वा

प्रभु अधिकारी, पोखरा न्यूज । पोखराको मल्टीप्लेक्स हल मीड टाउन सिनेमाजका व्यवस्थापक निकेश द्वा ले दर्शकहरूले पोखरामा फिल्महरू कहिले चल्छन् भनेर दिनहुँ प्रश्न गर्न थालेको बताउनुभएको छ । कोभिड -१९ का कारण शुरु भएको लकडाउन देखि निरन्तर सिनेमा हलहरू बन्द भएका कारण दर्शकहरू आत्तिएर कहिले फिल्म चल्छ भनेर प्रश्न गरिरहेको उहाँले बताउनुभयो ।

हल सञ्चालक र फिल्म वितरक समेत रहनुभएका निकेशले पोखरा न्यूज सँग कुरा गर्दै भन्नुभयो – ‘ हामीसँग दैनिक १०/१५ जना दर्शकले फोनमार्फत हल कहिले खुल्छ भनेर सोध्ने र म्यासेज गर्ने गर्नुहुन्छ, दर्शकले कोभिडको मनोवैज्ञानिक असर कम गर्न स्वास्थ्य मापदण्ड पुरा गरेर फिल्म चलिदिए फ्रेस हुन पाइन्थ्यो भन्ने खालको धारणा व्यक्त गर्नुहुन्छ।‘

सरकारले सिनेमा हल सञ्चालन गर्न दिएको खण्डमा आफूहरू दर्शकको मागलाई मध्यनजर गर्दै  जनस्वास्थ्य मापदण्ड अपनाएर फिल्म प्रदर्शन गर्न तयार रहेको द्वा बताउनुहुन्छ । ‘यस्तो अवस्था कति लम्बिने हो भन्ने ठेगान छैन तसर्थ हामी फिल्म प्रदर्शन गर्न तयार छौ, निर्माताले पनि फिल्म रिलिज गर्न तयार हुनुपर्‍यो’, उहाँले भन्नुभयो । आफूहरूले हल सञ्चालन नहुँदा घाटामा गए पनि कर्मचारीलाई ५० प्रतिशत तलब दिएर बसेको जनाउँदै उहाँले निर्माताले पनि सिनेमा क्षेत्रलाई चलायमान बनाउन तयार भएका फिल्म रिलिज गर्नुपर्ने उहाँको तर्क छ ।

सधैँ नाफा घाटा मात्र हेरेर नहुने बताउँदै निकेशले जनस्वास्थ्य मापदण्ड अपनाएर फिल्म क्षेत्रलाई चलायमान बनाउने , आश्रितलाई जोगाउने र दर्शकको चाहनालाई पुरा गर्ने सबैको कर्तव्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले हल पहिलेकै जसरी खुलिहाल्ने अवस्था छैन । हामीलाई अहिले नै आम्दानी गर्नुपर्‍यो भन्ने पनि हैन । कम्तीमा जनस्वास्थ्य मापदण्ड अपनाएर यस क्षेत्रलाई चलायमान गराउन र कामदार कर्मचारीको रोजीरोटी जोगाउन पाए हुन्थ्यो भन्ने हो।’

अवस्था सामान्य नहुँदासम्म फिल्म हेर्न दर्शकको मागलाई मध्यनजर गर्दै पुराना फिल्म पुनः रिलिज गर्ने कि भन्ने सोचमा पनि आफूहरू रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो -‘चलचित्र सङ्घसँग हरेक हप्ता सम्पर्कमा छौँ, हल खोल्नुपर्‍यो भन्नुहुन्छ , त्यतिकै चलाउँदा दर्शक नहुने हुन् की भन्ने डरले फिल्म निर्माताले फिल्म रिलिज गर्न आँट गर्नुहुन्न, नयाँ पुराना फिल्म रिलिज गर्नेबारे हामी निरन्तर छलफलमा छौँ ।’

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड तोक्नु भन्दा पहिला नै आफूहरूले फिल्म हेर्न आउने दर्शकलाई सचेत गराउँदै स्यानिटाइजर, मास्क लगाउन सुरु गरेको र त्यसरी फिल्म प्रदर्शन गर्न थालेकोमा दुई हप्ता नहुँदै सरकारको निर्देशनमा हल बन्द गरेको निकेशले बताउनुभयो । उहाँले भन्नुभयो ‘ हामीले पुर्व तयारी गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइरहेको बेला  सरकारकै दिर्देशनमा बन्द गरेका हौँ,  अब पनि स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्न समस्या छैन ।

संक्रमणको जोखिमबाट सिर्जित यस्तो अवस्थाका कारण कमाई हुने आशामा लगानी गरेका हल सञ्चालकहरू मात्र नभएर हलमा कार्यरत जनशक्ति र सिनेमा जगत् सँग जोडिएका स्रष्टा सर्जक, प्राविधिक, कलाकारहरू लगायत सबै कठिन परिस्थितिमा परेको उहाँले बताउनुभयो ।  ‘हामीसँग प्रत्यक्ष २५ जना र सेक्युरिटी टिमसहित ४४ जना कर्मचारी हुनुहुन्छ,  ५० प्रतिशतको दरले आजको दिनसम्म तलब खुवाइरहेका छौँ, हामीले गरिरहेको योगदानलाई पनि बुझिदिनुपर्‍यो, सम्बन्धित पक्षले चासो दिनुपर्‍यो,’ उहाँले भन्नुभयो ।

निकेशले कलिउडका , बलिउडका र हलिउडका चल्ने अनुमान गरिएका फिल्म प्रदर्शन हुन लागेको समयमा लकडाउन भएका कारण १० दिन अगाडिबाटै पप कन ,कफीका साथै सबै खानेकुरा समेत स्टक राखेकोमा सम्पूर्ण सामाग्री खेर गएको बताउनुभयो । उहाँका  अनुसार वर्तमान परिस्थितिमा फिल्म प्रदर्शन हुन नसके पनि हलमा सेक्युरिटी, डिपक्लिनिङ, हरेक दिन प्रोजेक्टर ,साउन्ड सिस्टम, सर्भर अन अफ, एयर कन्डिसन मर्मत र हल मेन्टेन गर्दा धेरै नोक्सानी बेहोर्नुपरेको छ ।

यता बैङ्कले किस्ताको लागि ताकेता गरिरहेको कारण मानसिक टर्चर हुने बताउँदै उहाँले बैङ्कबाट किस्ता ऋणमा नै थपिदिउँला व्याज तिरिदिनु भन्ने खालको जवाफले हल सञ्चालक तनावमा बस्नुपरेको दुखेसो  व्यक्त गर्नुभयो। ‘हलको व्याज मात्र सवा करोड पुग्न जान्छ, शून्य आम्दानीमा करोडौ  ऋणको व्याज  तिर्न असम्भव भएको छ, बैकले राष्ट्र बैकबाट केही कुरा आएको छैन भन्दै ताकेता गर्छ’ ,उहाँले भन्नुभयो ।  मीड टाउन सिनेमाजमा रहेका दुई वटा मल्टिप्लेक्स हलमा कूल ३ सय ५० सिट क्षमता रहेकोमा अवस्था सामान्य हुँदा सरदरमा मासिक रूपमा ६० देखि ७० लाख रुपैयाँको हाराहारीमा कारोबार हुने गरेकोमा कोभिडका कारण त्यो सबै गुमेको उहाँले बताउनुभयो ।

कोभिड मारमा सँगसँगै परेका हस्पिटालिटी क्षेत्रका होटेल रेस्टुरेन्ट जस्ता पर्यटकीय क्षेत्र खुला हुँदा आन्तरिक पर्यटकका कारण केही चहलपहल बढेको भन्दै उहाँले सरकारले सिनेमा क्षेत्रलाई जोगाइ राख्न उपयुक्त कदम चाल्नुपर्ने र  जनस्वास्थ्य मापदण्ड पुरा गरी हल सञ्चालन गर्न पहल गर्नुपर्ने उल्लेख गर्नुभयो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button