पर्वत र बागलुङ जोड्ने मोटरेबल पुल एक अर्ब २९ लाखमा बन्ने

पोखरा न्यूज । सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ ।

कुश्मा नगरपालिका-४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका-१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माण गर्न यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रक्रिया शुरुआत भए पनि अहिले अर्थ मन्त्रालयले बजेट स्वीकृति दिएपछि सर्भेक्षण अघि बढेको हो ।

कालीगण्डकी नदीमाथि २०६ मिटरको उचाइ र ५१० मिटर लामो पुल बन्ने भएको हो । यसका लागि अघिल्लो आवमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाइएको छ ।

महाशाखाका शाखा अधिकृत शशी पौडेलद्वारा जारी पत्रमा कुश्मा-नेपाने कालीगण्डकी मोटरेबल पुल निर्माण उपभोक्ता समितिको २०७० सालदेखि फागुन ११ सम्म गरी ११ वटा निवेदन दिइएको जनाइएको छ । कार्यालयले गत फागुन १८ गते भौतिक पूर्वाधार मन्त्रालयलाई आदेश दिएपछि चालु आवको बजेटमा समावेश गरेको पुल निर्माण समितिका अध्यक्ष मेघनाथ शर्माले जानकारी दिनुभयो ।

समितिले विसं २०७० देखि हालसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन, भौतिक पूर्वाधार तथा यातायात, अर्थ र परराष्ट्र मन्त्रालय एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरी ११ पटक निवेदन दिएको थियो । अन्तिम पटक गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालयले समेत सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणका लागि माग गरेको थियो ।

दुई सय छ मिटरको उचाइ र ५१० मिटर लामो यो पुल सार्क क्षेत्रका मुलुककै नमूना पुल हुने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताउनुभयो । चालु आवभित्र विस्तृत सर्भेक्षणको सबै काम सम्पन्न गरेर बोलपत्र आह्वान हुुने र अर्को आवको शुरुदेखि नै निर्माण शुरु हुने उहाँले जानकारी दिनुभयो ।

पुल निर्माण भएमा पर्वत र बागलुङबीच सिधा सम्पर्क हुने छ भने बुटवल, भैरहवा, लुम्बिनी हुँदै पोखरा र स्याङ्जासम्मको दूरी घट्ने भएको छ । राष्ट्रिय गौरवका दुई सडक आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसमेत यही पुलले जोडिने भएका छन् भने सडक अभावले लामो समयदेखि अलपत्र बनेको बलेवा विमानस्थलसमेत सञ्चालनमा आउने भएको छ । पुल यस क्षेत्रको पर्यटकीय विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष शर्माले बताउनुभयो ।

उहाँका अनुसार कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलाई जोड्ने महत्वपूर्ण नाका सो क्षेत्र बन्ने भएको छ । यसले सिङ्गो धौलागिरि क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रारम्भिक सर्वेक्षणका बेला उक्त पुल निर्माणका लागि रु एक अर्ब २९ लाख लागत लाग्ने अनुमान गरिएको थियो । अहिलेको अवस्थामा भने लागत बढ्ने देखिएको छ । पर्वत र बागलुङ जोड्न यसअघि कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल, निजी क्षेत्रद्वारा यान्त्रिक पुल र बन्जीजम्प गर्ने पुलसमेत सञ्चालनमा आए पनि मोटरेबल पुल निर्माणका लागि दुवै जिल्लाका बासिन्दाले लामो समयदेखि माग गर्दै आएका थिए । पुल निर्माणमा सहजीकरण गर्न लागि कुश्मा नगरपालिका निरन्तर लागिरहेको नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button