विकासको निर्देशनमा ‘सरला’ गीतको भिडियो तयार

भिडियोमा गीतकै परिवेशको ‘टोन’ आउनेछ

पोखरा न्यूज । पोखराका विकास सुवेदीको निर्देशनमा नयाँ म्युजिक भिडियो तयार भएको छ । सुवेदीले दुई वर्षको अन्तरमा ‘सरला’ बोलको गीतको भिडियो निर्देशन गर्नु भएको हो । दुई वर्षको ग्यापसँगै नयाँ जोस मनमा थप्दै म्युजिक भिडियो निर्देशनमा सक्रिय बन्न खोजेको उहाँको भनाई छ । यसअगाडि सुवेदीले मेलिना राईको आवाजमा रहेको गीत ‘मेरी आमा’को भिडियो निर्देशन गर्नु भएको थियो । त्यसपछि दुई वर्ष ग्याप रह्यो । अहिले पुनः निर्देशनमा फर्कनुभएको हो ।

‘समय आफूले चाहे जसरी नै बिताउनु पर्छ । आखिर समय नै जीवनको लम्बाई रहेछ । एक पटक हिँडेको बाटो लामो समय पछि हिँड्दा नयाँ लाग्दो रहेछ । दुई वर्ष पछि फेरी उही जोसका साथ नेपाली म्युजिक भिडियो निर्देशनको यात्रामा फर्केको छु । यसै साता सरला लिएर आउँदै छु’ उहाँले भन्नुभयो ।

निशान भट्टराईको आवाजमा रहेको गीतको रचना प्रह्लाद शाहले गर्नु भएको हो । गीतमा सङ्गीत सुवास भुसालले भर्नुभएको छ । मंसिर १६ गते मङ्गलवार रिलिज हुने भिडियो भाका इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो । भिडियोमा नाजिर हुसेन र अनु थापाको मुख्य अभिनय रहनेछ । साथमा थिएटरका कलाकारले भिडियोमा साथ दिएका छन् । सागर प्रधानको छायांकन र जीवन थापाको सम्पादनमा भिडियो तयार भएको हो । गीत भाका इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुनेछ ।

भिडियो सन्देश मूलक बनेको निर्देशक सुवेदीले बताउनुभयो । पोखरा न्यूजसँग कुरा गर्दे निर्देशक सुवेदी भन्नुहुन्छ– ‘भिडियो सन्देशमूलक बनेको छ, देशको जुनसुकै भूभागमा बसेको भए पनि एकले अर्काको अस्तित्व स्विकार्नु पर्छ भन्ने सन्देश भिडियोमा छ, गीतको थिम अनुसारको भिडियोलाई म्युजिकल सर्टको रूपमा आकर्षक बनाइएको छ ।’

भिडियोको छायांकन वीरगन्ज, भिमफेदि र नगरकोटमा गरिएको हो । एकले अर्काको अस्तित्व स्विकार्न नसक्दा पहाडकी युवती र मधेसको युवा बिचको सम्बन्धले भोग्नु परेका उतारचढाव भिडियोमा हेर्न पाइने निर्देशक सुवेदीको भनाई छ । म्युजिक भिडियोमा गीतकै परिवेशको ‘टोन’ आउने उहाँको दाबी छ ।

सुवेदीले हालसम्म झन्डै पाँच सय म्युजिक भिडियो निर्देशन गरिसक्नु भएको छ । उहाँले अञ्जु पन्तको आवाजमा रहेको गीत ‘तिमी आफै पग्लिएर’को भिडियोबाट म्युजिक भिडियो निर्देशनमा डेब्यु गर्नुभएको थियो ।

पोखरा २४ कास्कीकोटका सुवेदीको कथा, पटकथा तथा संवादमा चलचित्र ‘प्रकाश’ समेत निर्माण हुँदैछ । यसका अलावा सुवेदीले ‘डकुमेन्ट्री’ मार्फत समेत आफ्नो क्षमता प्रदर्शन गरिसक्नुभएको छ । उहाँ सञ्चार क्षेत्रमा समेत स्थापित भइसक्नु भएको व्यक्ति हुनुहुन्छ । पोखराको हिमचुली एफएमबाट उहाँले सञ्चार क्षेत्रको यात्रा आरम्भ गर्नुभएको थियो । उहाँले टेलिभिजन कार्यक्रमको माध्यमबाट समेत आफ्नो बेग्लै परिचय बनाउनुभयो । हाल सङ्घीय राजधानीमा रहेर क्रियाशील बन्नु भएका उहाँले जन्मथलो पोखरा फर्किएर कर्म गर्ने योजना रहेको खुलाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button