म्याग्दीको बेनी-अर्थुङ्गे सडक स्तरोन्नति शुरु गरियो

पोखरा न्यूज । कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएको म्याग्दीको बेनी-अर्थुङ्गे सडक स्तरोन्नति आयोजना शुरु भएको छ ।

आँपरुखदेखि अर्थुङ्गेको पुलाचौर जाने सडकको चोक जोड्ने सडकमा नाली बनाउने, ढलान गर्न र कालोपत्रे गर्न गत वर्ष ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयनको क्रममा कोरोना जोखिम, बन्दाबन्दी, मजदूर र निर्माण सामग्रीको अभावका कारण प्रभावित भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले करिब २५ प्रतिशत भौतिक प्रगति भएको आयोजनालाई आगामी चैत महिनासम्म म्याद थपेर चालु आर्थिक वर्षमा निरन्तरता दिइएको बताउनुभयो । यो बेनी नगरपालिकाको सबैभन्दा ठूलो र महत्वपूर्ण आयोजना हो ।

एक करोड ३५ लाख लागत अनुमान गरिएको आयोजना खुसीहोम बिल्डर्सले ८८ लाखमा ठेक्का लिएको थियो । सम्झौताअनुसार २०० मिटर ढलान, ७०० मिटर कालोपत्रे गर्ने र ७०० मिटर नाली बनाउने लक्ष्य छ । देउरालीमा ढलान सकेको ठेकेदारले सेनाको श्रीबक्स गुल्मको ब्यारेकमुनिको सडक ढलानको तयारी गरेको इञ्जिनियर विमलरञ्जन कार्कीले बताउनुभयो ।

बेनी नगरपालिकाको चार र रघुगङ्गा गाउँपालिकाको दुई वटा वडाका बासिन्दाले सदरमुकाम बेनी आवतजावत गर्न प्रयोग गर्ने यो सडक स्तरोन्नति गर्न बेनी नगरपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको छ । आयोजनाको शुक्रबार अनुगमन गर्न पुग्नुभएका नगरप्रमुख हरिकुमार श्रेष्ठ लगायतको टोलीले निर्माण व्यवसायी मनोज कार्कीलाई थपिएको समयभित्र काम सम्पन्न गर्न र गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न निर्देशन दिनुभयो ।

आयोजना स्थलमा भेटिएको कमलस बालुवा प्रयोग नगर्न निर्देशन दिइएको थियो । यसअघि गत असारमा रिबाउण्ड ह्याम्बर उपकरणको प्रयोग गरेर नालीको ढलान परीक्षण गर्दा गुणस्तरअनुसारको नपाएपछि भत्काउन निर्देशन दिइएको थियो । सो नाली भत्काएर नयाँ बनाउन पुनःनिर्देशन दिइएको छ ।

यसैगरी अर्थुङ्गेमै निर्माण शुरु भएको वडा कार्यालय भवनलाई गति दिन ठेकेदार कम्पनीका प्रतिनिधि शिशिर शाहीलाई निर्देशन दिइएको छ । भवनको जग खन्ने मात्र काम भएको छ । बर्खामा पहिरो खसेपछि रोकिएको भवन निर्माणलाई तीव्रता दिने शाहीले प्रतिबद्धता जनाउनुभयो । वडा कार्यालय भवन निर्माणका लागि पनि चैतसम्म म्याद थप भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button