कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् :अध्यक्ष तिमिल्सिना

पोखरा न्यस्ज । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गर्नुभएको छ।

विराटनगरमा आइतबार प्रदेश नं १ का मुख्यमन्त्रीसहित सांसदहरु सहभागी ’कोभिड-१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मीसँगै जनचेतना फैलाउने कुरामा जनप्रतिनिधिको भूमिका पनि त्यतिकै महत्वपूर्ण रहेको बताउनुभयो । ‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्न आग्रह ग¥यौं,’ उहाँले भन्नुभयो, ‘संक्रमण फैलिएको मुलुकबाट विद्यार्थी ल्याउँदा जनता के हुने हो भनेर आतंकित भइरहेको अवस्था थियो। अहिले संक्रमण लाखौंमा पुगिसकेको छ। यो अवस्थामा हामी आतंकित नभईँ सचेत हुन जरुरी छ।’

अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन जनप्रतिनिधि अगाडि सरेको मुलुकले सफलता प्राप्त गरेको अनुभव रहेको जानकारी गराउँदै नेपालमा पनि सांसद, स्थानीय तहका प्रतिनिधि र राजनीतिक दलका संगठनहरु जनतामा पुग्नुपर्ने धारणा राख्नुभयो।
‘यो महामारी अहिले मानव जातिको चुनौती हो। यसकाविरुद्ध सबै एक भएर लड्नुपर्छ,’ उहाँले भन्नुभयो, ’समाजमा अफ्ट्यारो परेको बेला आफ्नो भूमिका देखाउन जनप्रतिनिध, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलगायत सबैलाई यो एउटा अवसर पनि हो।’

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो। ’रोग नियन्त्रणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका पक्कै हुन्छ,’ उहाँले भन्नुभयो, ’तर, उपचार नभएको कोरोना जस्ता महामारीमा दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र साबुन पानीले हात धुँने वा स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डको प्रयोग गर्ने महत्वपूर्ण रैछ, यसका लागि सचेतना आवश्यक छ।’ पैसा वा राहतले भन्दा सचेताना र स्वास्थ्य मापदण्डको पालना गर्दै अनुशासनमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएको उहाँले बताउनुभयो ।

’स्वास्थ्य अनुशानमा बसेर हाम्रा दैनिक गतिविधिलाई कसरी नियमित बनाउने भन्ने सचेतना फैलाउनुपर्ने र त्यसमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने महशुस गरेर यसप्रकारको कार्यक्रम सातै प्रदेशमा आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार कोरोना नियन्त्रणका लागि दिनरात काम गरिरहेको बताउनुभयो। उहाँले सांसदहरूले सरकारले गरेका राम्रा कामहरूको सञ्चार गर्न तथा स्वास्थ्य सचेतना जनतामा फैलाउन आग्रह गर्नुभयो । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विज्ञ डाक्टर विनोदप्रसाद गुप्ताले कोभिड-१९ पछाडिको विज्ञान बारे सांसदहरू बीच प्रस्तुतिकरण गर्नुभएको छ। त्यसैगरी स्वास्थ्य संगठनका रणनीतिक, जोखिम तथा संकट सञ्चार विज्ञ डा. सुनुर वर्माले कोभिड जोखिम सञ्चार तथा समुदायको संलग्नताको महत्व र कोभिड सम्बन्धी अफवहा तथा गलत सूचनाको प्रतिकारमा निर्वाचित प्रतिनिधिको भूमिका बारे प्रस्तुतिकरण दिनुभएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button