संघीयतालाई संस्थागत गर्न स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण :मेयर जिसी

पोखरा न्यूज । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै मेयर जिसीले स्थानीय निकाय र स्थानीय तह फरक भएकाले संघीयतालाई संस्थागत गर्न स्थानीय सरकारको जिम्मेवारी बढी हुने बताउनुभएको हो । व्यवस्था परिर्वतन भएपनि सोच परिर्वतन नहुँदा काम गर्दा चुनौतीहरु आउने गरेको बताउँदै संघीय व्यवस्थालाई लागू गराउन स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

‘काठमाडौं र पोखराका आ–आफ्नै विशेषता छन्’, जिसीले भने,‘ काठमाडौं सांस्कृतिक सहर हो, भने पोखरा प्राकृतिक रुपमा सुन्दर छ, एक अर्काबाट हामीले धेरै कुरा सिक्न र सिकाउन सक्छौं ।’ अरु महानगर भन्दा काठमाडौं महानगरपालिका पाको र पुरानो महानगर भएकाले यसले स्थानीय तहमा अग्रणी भूमिका खेल्नुपर्ने जिसीको भनाई छ ।

काठमाडौं–पोखरा जोड्ने सडक चार लेनको हुनुपर्ने बताउँदै जिसीले दुबै सहरले पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने र यसमा समन्वय गर्नुपर्ने बताउनुभयो । पोखराको भौगोलिक विशेषता अनुसार नै विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको सो अवसरमा जिसीले बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनियन्त्रित बसाईंसराइ काठमाडौ र पोखराको चुनौती भएको बताउनुभयो । उहाँले स्थानीय तहबीचमा पनि समन्वय र अनुभव आदान प्रदान हुनुपर्ने बताउनुभयो । काठमाडौं अहिलेको अवस्थाबाट पाठ सिकेर पोखराले बसोबासलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । उनले कोरोनाका कारण सिथिल बनेको पर्यटनलाई चलायमान बनाउनुपर्ने बताउँदै काठमाडौं र पोखराको यसमा समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौ र पोखरासहित देशमै पर्यटनलाई चलायमान बनाउन प्रदेश र संघीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । खड्गीले काठमाडौंले उदाहरणीय काम गरेर नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराले स्वागत र कार्यक्रमको सञ्चालन महानगरका प्रवक्ता धनबहादुर नेपालीले गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले काठमाडौं महानगरका प्रमुख शाक्य र उपप्रमुख खड्गीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । पोखराका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । शाक्यले पनि पोखरा महानगर प्रमुख जिसी र प्रमुख प्रशासकीय अधिकृत बराललाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button