चीन र भारतसँग स्वतन्त्र सम्बन्ध कायम राख्नुपर्नेमा जोड

पोखरा न्यूज संवाददाता । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गर्नुभएको छ ।

नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उहाँले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गर्नुभएको हो । चिनियाँ रक्षामन्त्री फेङ्हे आइतबार नेपालको एकदिने भ्रमणमा आउनुभएको थियो । रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा. भट्टराईले छिमेकीहरुसँग नेपालको सम्पन्ध जहिलेपनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो मुलुकसँग जोड्ने गल्ती गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जहिलेपनि हामी स्वतन्त्र मुलुक हौँ । अर्को स्वतन्त्र मुलुकसितको सम्बन्ध स्वतन्त्र नै हो । त्यसलाई तेस्रो मुलुकसँग जोड्ने कुरा अगाडि बढायौँ भने हामी फस्छौँ । त्यो गलत हामीले गर्नुहुँदैन । नेपाल भारतको सम्बन्ध दुई मुलुकको स्वतन्त्र सम्बन्ध हो । नेपाल र चीनको सम्बन्ध पनि दुई मुलुकको सम्बन्ध हो । अन्य जुनसुकै मित्रराष्ट्रहरुसँगको सम्बन्ध पनि हाम्रो स्वतन्त्र सम्बन्ध हुन्छ ।’’

डा. भट्टराईले नेपाली सेनालाई वार्षिक रुपमा चीनले दिँदै आएको सहयोगको निरन्तरता बाहेक अन्य कुनै गतिविधि नभएको उहाँले बताउनुभयो । उहाँले भारतसँग सीमा विवाद लगायतका विषयमा परराष्ट्रमन्त्री स्तरीय जोइन्ट कमिसनको बैठक डिसेम्बर महिनाभित्र नै सम्पन्न हुने पनि बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सम्बन्धित कमिटीहरुमा छलफल गरी टुंगोमा पुग्नुपर्ने बताउनुभयो ।

पूर्व रक्षामन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले चीन र भारत दुबै देशलाई सँगै लिएर नेपालले आफ्नो हितका लागि काम गर्नुपर्ने बताउनुभयो । नेपाल कुनै पनि देशतिर नढल्केर कुनै पनि देशको अहित हुने काम नगरेर आफ्नो उन्नति गर्नतिर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले चीन र भारत दुबै देशलाई आफ्नो विश्वासमा लिएर काम गर्नुपर्ने पनि बताउनुभयो । नेपालले युद्धको अवस्था ल्याउन दिन नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढि सदुपयोग भनेको नै युएन पिसकिपिङमा मात्रै हो, नेपालको सिमामा सेनाले त्यति चासो दिएको छैन् । त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ । सेना डाईरेक्ट जानुपनि हुँदैन् । युद्धै भएको अवस्थामा मात्रै जाने हो । नेपालले युद्धको अवस्था ल्याउन दिनुपनि हुँदैन् । सुगौली सन्धिमा हामीले धेरै गुमायौं नि । हाम्रो रणनीति भनेको नै भारत र चीनलाई विश्वासमा लिएर नै नेपालको हितमा सम्बन्ध उपयोग गर्ने हो । नेपालले एक अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन् ।’’

नागरिक अगुवा सुन्दरमणि दिक्षितले नेपालका राजनीतिक दल र नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशको हितका लागि सोचेर अगाडि बढ्न आग्रह गर्नुभयो । दुई ठूला विकसित देशहरुको बीचमा रहेको नेपालले दुबै देशसँग सुमधुर सम्बन्ध बनाएर अगाडी बढ्न सके मात्रै प्रगति गर्न सकिने भएकाले व्यक्तिगत स्वार्थमा केन्द्रित नहुन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालीहरुले अलिकति बुद्धि लगाउन सक्यौँ भने ।

आफ्नो स्वार्थ र पार्टीको स्वार्थ छोडेर यी दुई मुलुकसँग फाइदा लिन सक्यौँ भने केही सिक्याँै भने हामी धेरै माथि जान सक्छौँ । दलका नेताहरुले आपसको हित हेरेर चीन र भारतलाई लडाएर, झगडा गराएर आफ्नो पार्टीलाई मात्रै फाइदा हुनेगरी अगाडि बढे नेपालको फल प्राप्त गर्दैन । त्यो फल प्राप्त गर्न सकिएन भने हम्रो दुर्भाग्यपूर्ण अवस्था हुने छ ।उनीहरुले आफ्नो देशको हितलाई हेरेर चीन र भारतसँगको सम्बन्ध विस्तार गरी अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button