अन्नपूर्णमा पोखराको भन्दा सुविधा सम्पन्न अस्पताल बन्छ : अध्यक्ष कुँवर

अन्नपूर्णले थाल्यो १५ शैय्याको अस्पताल निर्माण

पोखरा न्यूज । कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले आफ्नो गाउँपालिकामा पोखराको भन्दा सुविधा सम्पन्न अस्पताल बनाउने बताउनुभएको छ ।

स्थानीय तहमा देशैभर एकै पटक अस्पताल निर्माण शिलान्यास गर्ने सरकारको  कार्यक्रम अन्तर्गत सोमबार अन्नपूर्णमा  १५  शैय्याको आफ्नै अस्पताल निर्माणको शुरु गर्दै अध्यक्ष कुँवरले पालिकामा ठुला अस्पतालहरूले दिने सरहकै सुविधा दिने गरी संरचना र उपकरण व्यवस्थापन गर्ने बताउनुभएको हो ।

अस्पतालको शिलान्यास गर्दै कुँवरले भन्नुभयो- ‘पोखराको भन्दा सुविधा सम्पन्न अस्पताल बन्छ । विकसित मुलुकमा भएका जस्तै सेवा सुविधा हुन्छ । बत्ती नहुँदा सोलारको व्यवस्था हुन्छ । उपकरण अत्याधुनिक हुन्छ ।’ निर्माण  हुने अस्पतालमा  सहरमा जस्तो नाक थुनेर बस्नुपर्ने अवस्था नरहने बताउँदै उहाँले यहाँको अस्पतालमा आउने बिरामी हिमालको दृश्य र  स्वच्छ हावाले नै केही निको हुने बताउनुभयो  ।

उहाँले अस्पतालको  निर्माणको लागी नेपाल सरकारले साढे २ वर्षको म्याद दिएको भए पनि डेढ वर्ष भित्रै निर्माण सक्ने  दाबी गर्नुभयो । तीन तले भवनको अस्पतालमा ५८ वटा कोठा हुनेछ । शौचालय र स्नान कक्ष छुट्टै बनाइने छ । अस्पताल निर्माणका लागि गाउँपालिकाले १८ करोड भन्दा बढी लागत स्टिमेट निकालेर टेन्डर समेत आह्वान गरिसकेको छ । कतिपय गाउँपालिका र नगरपालिकाहरुले जग्गाको खोजी समेत गर्न नसकेको अवस्थामा अन्नपूर्णले ठाउँ सुनिश्चित गर्दै टेन्डरको सूचना निकालेको छ । ‘अहिलेसम्म सूचना कसैले निकालेको रेकर्ड छैन । शिलान्यास गरेका फोटा त आउला तर कहाँ बनाउने भन्ने टुङ्गो छैन,’ पालिका अध्यक्ष युवराज कुँवरले भन्नुभयो, ‘सबै अलमलमा छन् । देशभरमै टेन्डर प्रक्रियामा जाने अन्नपूर्ण पहिलो हो ।’

टेन्डरको अवधि १ महिना हुने र त्यसपछि अध्ययनसहित सम्झौता गरेर काम थालिहाल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो  । ‘२०७९ जेठ मसान्तभित्र सक्नुपर्ने गरी सूचना निकालिएको छ । तर हामी त्यो भन्दा पहिले अस्पताल बनाइसक्छौँ,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिको कार्यकाल सकिनु अघि नै अस्पतालबाट सेवा सुरु हुन्छ । हाम्रा लागि यो गौरवको योजना हो ।’ पालिकाले प्रदेश सरकारसँगको साझेदारीमा अन्नपूर्ण ५ मा हाइवे अस्पताल बनाइरहेको छ । ‘सामुदायिक स्वास्थ्य इकाईहरू बनेका छन् । विशिष्टीकृत स्वास्थ्य सेवा बाहेक सबै उपचार पालिकाभित्रै हुन्छ,’ अधिकारीले अघि भन्नुभयो , ‘यो अस्पताल बनेपछि स्वास्थ्यका कारण हुने बसाइसराइ रोक्छ । बरु सहर गएकाहरू गाउँ फर्कन्छन् ।’

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अन्नपूर्ण गाउँपालिका अध्यक्ष धर्म तमुले सङ्घीयताले बिस्तारै प्रतिफल दिन थालेको भन्दै यसलाई संस्थागत गर्न जनस्तरबाट सहयोग आवश्यक रहेको बताउनुभयो । काँग्रेसका सभापति मनपति भण्डारीले  अस्पताल निर्माणको निगरानी गरी पूर्ण क्षमतामा सञ्चालनका लागि खबरदारी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित  राजनीतिक पार्टीका प्रतिनिधिहरू तथा पूर्व जनप्रतिनिधिहरुले स्थानीय तहमा  ठुलो अस्पताल बन्न लागेको भन्दै  खुसी  व्यक्त गरेका थिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button