कास्कीको छाचोकमा निर्माण गरिने १५ श्यया अस्पताल भवनको शिलान्यास

पोखरा न्यूज । कास्कीको मादी गाउँपालिका-७ को तल्लो छाचोकमा १५ श्ययाको अस्पताल भवनको शिलान्यास गरिएको छ ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा नागरिकको पहुँचसम्म पुर्याउने देद्देश्यले नेपाल सरकारले देशैभरिका स्थानीय तहमा अस्पताल निर्माण गर्ने योजना अन्तरगत मादी गाउँपालिकाको छाचोकमा अस्पताल निर्माण गर्न लागिएको हो । १० रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने अस्पतालको प्रतिनिधिसभाका सांसद एवम् पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले शिलान्यास गर्नुभएको छ ।

शिलान्यास गर्दे अधिकारीले कोरोना भाइरसको महामारीपछि सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर देशभरका अस्पतालमा स्वास्थ्य उपकरण तथा क्षमता वृद्धिका साथै नयाँ संरचना निर्माण शुरु गरेको जानकारी दिनुभयो । संसारभरको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारका स्वास्थ्य सेवा गाउँ गाउँमा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।

सरकारी सुविधा तथा छात्रवृत्तिमा एमविविएस तथा एमडी गरेका चिकित्सकहरुले कम्तिमा पनि दुई वर्ष सरकारले खटाएको क्षेत्रमा रहेर सेवा गर्नुपर्ने व्यवस्था गरेको हुँदा विशेषज्ञ चिकित्सकको अभाव नहुले उहाँले स्पष्ट पार्नुभयो । स्थापना गरिने प्रत्येक अस्पतालमा तीन जना चिकित्सक सहित २७ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने व्यवस्था सरकारले मिलाएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा अस्पताल निर्माणपछि गुणस्तरीय सेवा प्रवाहका लागि आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले विगतमा चार/पाँच वर्षमा एउटा पुलको योजना गाउँपालिकामा पर्दा समेत गौरव गर्नुपर्ने क्षण रहेको स्मरण गर्दै मादी गाउँपालिकामा यसै महिना तीन वटा मोटरेवल पुलको शिलान्यास र एउटा झोलुङ्गे पुलको उद्घाटन गरिएको उल्लेख गर्नुभयो ।

अस्पताल बनेसँगै मादीको उत्तरी भेगका वडा नं १,२,३,४,५,६ र ७ नं वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ । अस्पतालको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर), डिजाइन तथा बोलपत्र आह्वान लगायतका काम छिट्टै अघि बढाइने तयारी भइरहेको वताइएको छ । अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट तीन करोड २३ लाख रुपैयाँ बजेटको अख्तियारी गाउँपालिकालाई आइसकेको जानकारी सो अवसरमा दिइएको छ । बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने सो अस्पपतालका लागि १८ करोड ३२ लाख रुपैयाँ बजेट तय गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिनुभयो । अस्पतालका लागि जमिन उपलव्ध गराउने जग्गादाता तथा ज्याउदु पुल निर्माणका जग्गादाताहरुलाई दोसल्लाबाट सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button