तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा पूर्वाधार निर्माण गर्न जोड

पोखरा न्यूज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटको आज बिहान अवलोकन गर्नुभएको छ । पछिल्लो समय निकै प्रख्यात मानुङकोटको अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यहाँ पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

गाउँबाट भागेको मनलाई गाउँमै बसुँबसुँ बनाउने अभियानमा आफू लागिपरेको भन्दै वरिष्ठ नेता पौडेलले आज मानुङ सोही दिशातर्फ अगाडि बढेको बताउनुभयो । चर्चित गन्तव्यको रूपमा विकास भएको मानुङको सुन्दरतालाई कायम राख्नेतर्फ ध्यान दिनुपर्नेमा पौडेलको जोड थियो ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतको सहभागिता थियो । मानुङकोटबाट बिहानै सूर्योदय र कुहिरोको दृश्य हेर्न पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धवलागिरि, माछापुच्छ्रे , अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । मानुङकोटबाट दमौली बजार, मादी नदी, साँगेखोला, तनहुँ जलविद्युत्को बाँध निर्माणस्थल एवं मनोरम दृश्यहरू देख्न सकिन्छ । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरू प्रष्ट देख्न सकिन्छ । मानुङडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button