नेकपा सचिवालय बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल

पोखरा न्यूज संवाददाता । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ । .

मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षद्वयले आ–आफ्नो धारणा राखेपछि औपचारिक छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल पनि हुने उहाँले बताउनुभयो । सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनसँगै पार्टीभित्र देखिएको संकटको जड र समाधानका विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठको भनाई छ । उहाँले भन्नुभयो, ‘‘अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रस्ताव, पार्टीमा संकट आउनुको कारण, त्यसको समाधान र निकासका बारेमा केन्द्रित भएर छलफल गर्ने काम बाँकी छ ।’’

उहाँले स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै हुने पनि बताउनुभयो । यसअघि नै मंसिर १८ गतेका लागि बैठकको मिति निर्धारण भएकाले पूर्वनिर्धारित मितिमै बैठक बस्ने उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button