यति एयरलाइन्सले शुरु गर्यो पर्वतीय उडान

प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने

पोखरा न्यूज संवाददाता । यति एयरलाइन्सले आज (शनिबार) देखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) शुरु गरेको छ । एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजना अनुसार आज बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताउनुभयो ।

उहाँका अनुसार आजबाट प्रत्येक शनिबार नियमित रुपमा दुईवटा पर्वतीय उडान हुनेछन् । एयरलाइन्सले सस्तो प्याकेजमा उडान गर्ने भएपछि यात्रुहरुको चाप पनि बढी देखिएको छ । एयरलाइन्सले सगरमाथाको उचाई बराबरको मूल्य ८ हजार ८ सय ४८ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने प्याकेज ल्याएको छ । जसका कारण माग बढेको प्रवक्ता बार्तौलाले बताउनुभयो ।

यस्तै एक जना व्यक्ति मात्रै यात्रा गर्ने हो भने ७ हजार ८ सय ४८ रुपैयाँमा झ्यालको सिट पाउने गरी टिकट उपलब्ध गराइएको पनि उहाँले बताउनुभयो । कोभिडको समयमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरी उडान गरिएको बार्तौलाले बताउनुभयो । पर्वतीय उडानमा सहभागि भएका यात्रुहरुले नजिकैबाट हिमालय देख्न पाउँदा खुशी लागेको बताएका छन् । एउटा टिकट किन्दा अर्को सित्तैमा पाउँदा सस्तो पनि भएको र जहाजबाट हिमाल अवलोकन गर्दा निकै आनन्द महसुस भएको बताए ।

शनिबारको पर्वतीय उडानमा जानु भएका ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सस्तोमा पर्वतीय उडान गर्न पाउँदा खुशी लागेको बताउनुभयो । एयरलाइन्सले यात्रुहरुको माग बढ्दै गए उडान संख्या बढाउँदै जाने बताएको छ । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्वतीय उडानमा भारी छुट दिइएको एयरलाइन्सले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button