झण्डै साढे ९ महिनापछि गुरुङ फिल्म प्रर्दशन

पोखरा न्यूज । गत वर्षको चैत्र १ गते गुरुङ फिल्म ‘फिच्यो’ पोखरामा प्रर्दशन गरिएको थियो । कोरोना महामारीका कारण त्यसपछि गुरुङ फिल्म प्रर्दशन हुन सकेनन् । नयाँ वर्ष २०७७ को सेरोफेरोमा प्रर्दशन गर्ने तयारी गरिएका ‘ङ्हेल्स्यो’ (सैना) र ‘शिरसुबा’ कोरोनाका कारण प्रर्दशन हुन पाएनन् । यसरी कोरोना महामारीको कारण रोकिएको फिल्म प्रर्दशन हुने क्रम पोखरामा सुरु भएको छ । फलस्वरुप झण्डै साढे ९ महिनापछि पोखरामा गुरुङ फिल्म प्रर्दशन गरियो । शनिबार भमरकोट पार्टी प्यालेस बिरेन्द्रचोक पोखरामा प्रर्दशन गरिएको फिल्म ‘ङ्हेल्स्यो’(सैना)ले अब गुरुङ फिल्म प्रर्दशन गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । यसले गुरुङ फिल्म क्षेत्रमा नयाँ उत्साह थपेको छ ।

त्यसो त गुरुङ फिल्म एशोशिएशन नेपाल जिफानले औपचारिक रुपमा फिल्म प्रर्दशन तथा छायाकंन गर्ने निर्णय भने गरेको छैन । शनिबार प्रर्दशन गरिएको फिल्म हेर्न उपस्थित दर्शकको भिडका कारण जिफानले अब तुरुन्तै बैठक आयोजना गरेर गुरुङ फिल्म प्रर्दशन र छायाकंन गर्न खुल्ला गर्ने निर्णय गर्ने तयारी गरेको छ । ‘गुरुङ फिल्म प्रतिको दर्शकको माया तथा सर्पोटका कारण अब हामी जिफानको बैठक मार्फत फिल्म प्रर्दशन र छायाकंन गर्न दिने औपचारिक निर्णय गर्ने तयारीमा छौँ’ पोखरा न्युजसँग कुरा गर्दै जिफानका अध्यक्ष भोजबहादुर गुरुङले भन्नुभयो ।

कोरोना महामारी नियन्त्रणमा नआएपछि मानिसमा डर हटिसकेकोले स्वास्थ्य मापदण्डलाई पालना गरेर फिल्मी गतिविधि गर्न सकिने गुरुङको भनाई छ । अध्यक्ष गुरुङ भन्नुहुन्छ ‘सैना फिल्म प्रर्दशन गर्नु भनेर हामीले मिति दिएको हैन, निर्माताले आफ्नै जोखिममा फिल्म देखाउनु भएको थियो । त्यहाँ उपस्थित भएको दर्शकलाई हेर्दा अब फिल्म हलमा देखाउँदा हुन्छ भन्ने सन्देश दियो । हामीले १५ दिनको फरकमा फिल्म देखाउने गरेका थियौँ । शनिबारको उपस्थिती हेर्दा अब फिल्म निर्माताले हल बुक गर्दा हुन्छ । अब दर्शकको साथ पाइन्छ ।’

कोरोना कहरकै बिचमा गुरुङ फिल्म ‘बाह्रपोखरी’को छायाकंन समेत गरियो । जिफानसँग अनुमति नलिई जोखिम आफैले लिएर स्वास्थ्य मापदण्ड पालना गरेर छायाकंन भएको थियो । अब निर्माण भएर प्रर्दशनको समय पर्खिएर बसेका फिल्म प्रर्दशन सँगै छायाकंनमा जाने फिल्मको छायाकंन समेतलाई सुचारु गर्ने गुरुङफिल्मकर्मीको तयारी छ ।

पाइला फिल्मस प्रा.लि.का मेनेजिङ डाइरेक्टर आशबहादुर गुरुङले अपेक्षा गरेभन्दा धेरै दर्शकको सहभागीतामा ‘ङ्हेल्स्यो’ (सैना) फिल्म प्रर्दशन गरिएको बताउनुभयो । ‘लामो समय भयो भेटघाट नभएकोले लोसारको शुभकामना आदानप्रदान गरेर फिल्म प्रर्दशन गरौं न भनेर कार्यक्रम आयोजना गरेका थियौँ । दूई सय जना जति भइन्छ होला भन्ने हाम्रो अपेक्षा थियो । तर दर्शकको ठुलो सहभागिता भयो । झण्डै ८ सय दर्शकको सहभागी हुनुहुन्थ्यो । यसले हामीमा उत्साह थपेको छ’ पोखरा न्युजसँग उहाँले भन्नुभयो ।

फिल्मक्षेत्र ठप्प भएको कारण फिल्मकर्मीबिच भेटघाट गर्नको लागि कार्यक्रम आयोजना गरिएको उहाँले खुलाउनुभयो । सामाजिक सञ्जालमा राखिएको विशेष प्रर्दशन भन्ने सूचनाको आधारमानै दर्शकको उल्लेख्य उपस्थिती भयो । अब यो फिल्मलाई पुनः प्रर्दशन गर्ने तयारी समेत रहेको गुरुङको भनाई छ । सैना फिल्मको छायाकंन २०७६ सालको मंसिरमा गरिएको थियो ।

फिल्ममा विश्वात्म गुरुङ, स्नेहा गुरुङ, बन्दना घर्तिमगर, सुशान गुरुङ, थमन गुरुङ, मिलन गुरुङ, देब कुमारी गुरुङ, कुमारी गुरुङ आदीको अभिनय रहेको छ ।
पाइला फिल्मस प्रा.लि. पोखराको पाँचौ प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता मिलन क्रोम्छें तमु हुनुहुन्छ । ले.कर्ण प्रसाद गुरुङ, पान कुमारी गुरुङ, देब कुमारी गुरुङ, कुमारी गुरुङ र तोल प्रसाद गुरुङको संयुक्त लगानीमा यो फिल्म निर्माण भएको हो । फिल्मको कथा लेखन तथा निर्देशनको जिम्मेवारी माओत्सेतुङ गुरुङले पुरा गर्नु भएको हो ।

मनोज गुरुङको शब्द संगीत तथा तेजेन्द्र गुरुङको एरेन्जमा तयार भएका गीत फिल्ममा समावेश छन् । फिल्मको छायाकंन पोखरा आसपास तथा पर्वतको महाशिला गाउंपालिका बालाकोटमा गरिएको हो । फिल्मका अर्जुन गुरुङको मुख्य सह–निर्देशन र महेन्द्र गुरुङ (ईश्वर) को सह–निर्देशन रहेको फिल्ममा निर्माण नियन्त्रक समेत रहनुभएका पाइला फिल्म प्रालिका मेनेजिङ डाइरेक्टर आश गुरुङले जानकारी दिनुभयो । फिल्म हेरिसकेपछि दर्शकले फिल्मप्रति गरेको सकारात्मक प्रतिक्रियाले निर्माण पक्ष झनै उत्साहित बनेको छ ।
सैना फिल्म प्रर्दशनसँगै निर्माण भएर प्रर्दशन गर्न नपाएका फिल्मलाई प्रर्दशन गर्ने बाटो खोलिदिएको छ । गुरुङ फिल्म एशोशिएसन नेपालका संस्थापक अध्यक्ष माओत्से गुरुङले निर्मातासँग सल्लाह गरेर फिल्म शिरसुबाको प्रर्दशन गरिने बताउनुभयो । शिरसुबा माओत्सेको निर्देशनमा निर्माण भएको फिल्म हो । कोरोनाका कारण यो फिल्म प्रर्दशन हुन पाएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button