मलाई फिल्म हेर्न घरबाट ढाँटेर जानु परेन : प्रमिला

पोखरा न्यूज । कलाकार प्रमिला तुलाचनको जन्म पोखराको तेस्रापट्टीमा भएको हो । उहाँ नेपाली रंगमञ्च र फिल्मी क्षेत्रमा स्थापित बनिसक्नुभएको कलाकार हुनुहुन्छ । नेपाली फिचर फिल्म ‘धर्मात्मा’ बाट ठूलो पर्दामा उहाँको यात्रा सुरु भएको हो । हुनत यो फिल्ममा अभिनय गर्नु अगाडिनै उहाँले भिडियो फिल्म मालती, संगम, कान्छीको संजोगमा काम गर्नुभएको थियो ।

‘दलन’ टेलिफिल्मले उहाँलाई धेरै माझ चिनायो । ‘दलन’ भन्दा अगाडि नै दूई टेली फिल्ममा उहाँले अभिनय गर्नु भएको थियो तर ती दूई टेलिफिल्म रिलिज भने भएनन् । पञ्चेबाजा, अग्निदहन, नाइके, चचहुई सहित झण्डै डेढ दर्जन नेपाली फिचर फिल्ममा उहाँले अभिनय गरिसक्नुभएको छ । फिल्ममा मात्र नभएर विभिन्न नाटकमा अभिनय गरेर रंगमञ्चका दर्शकमाझ समेत उहाँले बेग्लै छाप छोड्नुभएको छ । यसका अलावा व्यवसायिक क्षेत्रमा समेत तुलाचनले अनुभव संगाल्नुभएको छ । कलाकार तुलाचनसँग आज फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

मलाई फिल्म हेर्न एकदमै मनपर्छ । फिल्मबाट धेरै कुरा सिक्न पाइने भएकोले फिल्म हेर्न रुचाउछु । म कलाकार समेत भएको हिसाबले त झनै फिल्म हेर्न जरुरी छ ।

तपाईंको फिल्म हेर्दा के कुरामा बढी ध्यान दिनुहुन्छ ?

कलाकार भएकोले मैले फिल्म हेर्दा पात्रले गरेको अभिनयमा ध्यान दिएर हेर्छु । कुन कलाकारले कस्तोे अभिनय गर्छ, जिवन्त अभिनय भनेको के हो, आर्टमुभीमा के हुन्छ, एक्सनमा के हुन्छ भन्ने कुरालाई ध्यान दिएर हेर्छु ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

सकेसम्म हलमा गएर हेर्छु । त्यसको अलावा टिभी तथा युट्युबको माध्यमबाट घरमा समेत उतिकै हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा हेर्न मज्जा लाग्छ । विषयवस्तुलाई नजिकबाट महशुस गर्न हलमा सहज हुन्छ । तर सधै हलमा हेर्न सम्भव हुँदैन । त्यसैले घरमा समेत हेर्नुपर्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

मैले सबैभन्दा पहिले फिल्म हेरेको पोखराको कल्पना सिनेमा हलमा हो । मलाई त्यतिबेला हिरो, हिरोइन साँच्चिकै हल भित्र नै छन् होला भन्ने लाग्थ्यो । हलको पछाडिबाट कलाकार निस्कन्छ की जस्तो अनुभव हुन्थ्यो र हलको पछाडि गएर हेर्थे । पछाडिपट्टी स्टाफ बस्दा रहेछन् । कलाकार बस्ने होला भनेर कहिले निस्कन्छ भन्दै बाटो कुथेँ । अहिले सम्झदा रमाइलो लाग्छ ।

हलमा हेरेको पहिलो फिल्म ?

मैले हेरेको पहिलो हिन्दी फिल्म ‘प्रेम नगर’ हो । फिल्म हेर्दा नाम थाहा थिएन धेरै पछाडि बल्ल थाहा पाएको हुँ । राजेश खन्ना र हेमा मालीनीको अभिनय रहेको थियो । त्यतिबेला म पाँच वर्षको थिए होला । नेपाली फिल्ममा पहिलोपटक हेरेको ‘जीवन रेखा’ हेरेको हो ।

मनपर्ने फिल्मी कलाकार ?

मलाई मनपर्ने कलाकार हिन्दीमा अमिताभ, रेखा र जया हो । नेपालीमा गौरी मल्ल र शिव श्रेष्ठ मनपर्छ । नयाँ पुस्ताकोमा प्रदीप खड्काको अभिनय मनपर्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली फिल्मको सकारात्मक पक्ष भनेको अहिले अभिनय सिकेर, अभिनय सम्बन्धी अध्ययन गरेर फिल्म क्षेत्रमा आउने चलन छ । यो राम्रो पक्ष हो । सिकेर आएको कारण अहिलेका धेरै कलाकारको अभिनय निखारिएको छ । पहिला अनुभवको लागि आउने चलन थियो अहिले प्यासनको हिसाबले सिकेर आउने चलन छ ।

सुधार गर्नुपर्ने पक्ष ?

अभिनय सिकेको, थिएटरको अनुभव लिएको कलाकारलाई फिल्ममा प्राथमिकता दिनुपर्छ । मोफसलका प्रतिभावान् कलाकारलाई उतिकै स्थान दिनुपर्छ । फिल्ममा मौलिक विषयवस्तुलाई स्थान दिनुपर्छ । बलिउड, हलिउड ट्रेनलाई पछ्याउनु भन्दा नेपाली मौलिक विषयवस्तुलाई जोड दिुनपर्छ । किनकी अहिले मौलिक कथा हराएका छन् । परालको आगो, माइतिघर, कन्यादान, चिनो जस्ता मौलिक फिल्म आउन छोडे । अब मौलिक कथालाई प्राथामिकता दिनुपर्छ बल्ल नेपाली फिल्मको महत्व बढ्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

सानोमा फिल्म हेर्दा म हिरोइन बन्छु भन्ने त थिएन तर अभिनय गर्छु भन्ने हुन्थ्यो । हिरोको बहिनी भएर खेल्ने रहर थियो । साथीहरुबीच पछि गएर को के बन्ने भन्ने छलफल हुँदा मैले फिल्म खेले भने म हिरोको बहिनी बन्छु भन्थे । किनकी मलाई हिरोको बहिनी क्यारेक्टर साह्रै मनपथ्र्यो । हिरोइन हुन्छु भन्ने मेरा साथीहरु फिल्म लाइनमा लागेनन् । मैले फिल्म खेल्न पाएकोले कहिलेकाही भेट हुँदा साथीले जिस्क्याउछन् । उनीहरु म कला क्षेत्रमा लागेकोमा खुशी छन् । र, अर्को कुरा मैले नेपाली फिचर फिल्ममा हिरोको बहिनी भएरनै अभिनय गर्न पाए ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

फिल्म हेर्न प्रायः जसो शनिबार जान्थ्यौ । ‘कालिया’ फिल्म मैले हलमा १२ पटक हेरे । हुनत हलको अगाडि घर भएको कारण धेरै फिल्म हेर्न गइयो । शनिबार ८, ९ जना मिलेर छुटमा ५० पैसाको टिकट काटेर हेर्न जान्थ्यौँ । त्यतिबेला स्पेशलको १ रुपैया थियो । यसरी फिल्म हेर्न पाउँदा खुशी लाग्थ्यो । सोही कारण शनिबार कहिले आउँला भन्ने मनमा हुन्थ्यो । त्यतिबेला धेरै त हिन्दी फिल्म हेरिन्थ्यो ।

अर्को कुरा मलाई फिल्म हेर्न घरबाट ढाँटेर जानु परेन । म पढाइमा ध्यान दिने अनुशासित विद्यार्थी थिए । घर नै कल्पना सिनेमाहल अगाडि भएकोले फिल्म हेर्न सजिलो थियो । स्कुल हापेर हेर्नुपर्ने अवस्था थिएन । मैले नाइट सो मार्फत धेरै फिल्म हेरे । चिनेका धेरै हुने भएकोले नाइट सो हेर्दा टिकट काट्नु पर्थेन । ५, ६ जना साथी मिलेर खाना खाएर बेलुका फिल्म हेर्न समेत गइन्थ्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button