किताब पढेर तस्कर बनेपछि के अर्थ ? केशवशरण

पोखरा न्यूज । पत्रकार केशवशरण लामिछाने अन्नपूर्ण पोस्ट दैनिकको गण्डकी ब्युरो प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ । उहाँले पत्रकारिता क्षेत्रको यात्रा गरेको दुई दशक नाघिसक्यो । २०५७ साल वैशाख १ गतेदेखि पत्रकारितामा प्रवेश गर्नुभएको उहाँ पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील हुनुहुन्छ । उहाँको पत्रकारिता क्षेत्रको यात्रा पोखरा हटलाइन दैनिकबाट भएको थियो । उहाँसँग नेपाल समाचारपत्र दैनिक, पोखरा एफएम, समय साप्ताहिक र नागरिक दैनिकमा काम गरेको अनुभव छ ।

हाल समाधान दैनिकमा समेत आबद्ध लामिछानेले लेक सिटी कलेज अफ रिसर्च सेन्टरमा पत्रकारिता विषय प्राध्यापन गर्नुहुन्छ । लामिछाने पुस्तक पढ्ने बानीको विकास गराउन खुलेको संस्था र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्ष पनि हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा अगाडि बढ्न खोज्ने नयाँ पुस्तालाई आवश्यक सल्लाह प्रदान गर्दै अगाडि बढ्न हौसाउने लामिछानेसँग यसपालि पुस्तक अध्ययनसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

पुस्तक कतिको पढ्नुहुन्छ ?

किताब खासै पढ्दिन भनौँ, किताब पढ्नेहरूको संस्था र्‍यान्डम रिडर्स सोसाइटीमा छु । मज्जैले पढ्छु भनौँ भने ढाँटेको हुन्छ, ढोँग हुन्छ । वास्तवमा किताब पढ्न निकै मन लाग्छ तर, थोरै थोरै पढ्न भ्याएको हुन्छु । किताब पढ्ने कुरा प्रचारको विषय पनि होइन होला, तर हामी र्‍यान्डम रिडर्सेलीहरु किताब पढ्ने कुरा प्रचार गर्दै पठन संस्कृति विस्तारको अभियानमा छौँ । त्यसै कारण पनि म तपाईँका प्रश्नहरूको कठघरामा उभिन तयार भएँ । हैन भने मलाई किताब पढ्छु, पढ्ने मानिस हुँ भन्न लाज लाग्छ ।

कोर्सका पुस्तक र बाहिरी पुस्तक पढ्दाको फरक के हुन्छ ?

कोर्सका किताब पढ्नु बाध्यकारी हुन्छ, छनोटको अवसर हुँदैन वा कम हुन्छ । बाहिरी किताब रोजी रोजी र खोजी खोजी पढ्न पाइन्छ । बाध्यताले पढ्नु र रुचिले पढ्नु फरक भइहाल्ने भयो । कोर्सका किताब परीक्षामा पास गर्ने उद्देश्यले पढ्न पर्‍याे। बाहिरी किताब आनन्दका लागि पढिन्छ । यही होला फरक ।

तपाईलाई मन पर्ने पुस्तक कुन कुन हुन् ?

थुप्रै छन् । मैले देखेको नेपाल (हर्क गुरुङ), त्यस बखतको नेपाल (भीमबहादुर पाँडे), शिरीषको फूल (पारिजात), पागल बस्ती (सरुभक्त), घामका पाइला (धच गोतामे), भूपिका कविताहरू, आदि आदि ।

तपाईँलाई लेखन शैलीमा अब्बल लेखक को लाग्छ ?

पारिजात, धच गोतामे, शङ्कर लामिछाने, सरुभक्त, थुप्रै लेखक छन्, जो लेखन शैलीमा अब्बल लाग्छ । पछिल्लो पुस्तामा, मिठो लेखन शैली बुद्धि सागर र अमर न्यौपानेको पनि लाग्छ । गनेस पौडेल र कुमार नगरकोटीको शैली अजीव लाग्छ । ननफिक्सन पनि मिठासले लेख्ने हर्क गुरुङ हुन् ।

लगातार कति समयसम्म पुस्तक पढ्नुहुन्छ ?

रातैभरि वा दिनैभरि पढ्दिनँ । आधा रातसम्म वा आधा दिन चाहिँ पढेको हुन्छु । मन परेका थुप्रै किताब एक दुई सिटिङमा पढ्दा त्यसरी आधा रात, आधा दिन गएको छ ।

तपाईँको पुस्तक पढ्ने माध्यम ?

हार्डकपी नै हो । मोबाइलमा एउटा एप्स पनि छ, पेमेन्ट गेटवेबाट पैसा तिरेर डाउनलोड पनि गरेको छु, तर इलेकट्रोनिक माध्यमले तानेन ।

पुस्तक अध्ययनसँग सम्बन्धित केही रमाइला वा नरमाइला अनुभव सुनाउनु ?

हुर्कँदै गर्दा कोर्स बाहिरका किताब पढ्ने वातावरण र मौका जुरेन, नरमाइलो पक्ष त्यही हो । पछिपछि किताब प्रेमी साथी र अग्रजहरूको सत्सङ्ग पाएँ, त्यो रमाइलो लाग्छ । चर्चा धेरै सुनेर किनेका किताब किन्दा फसेका अनुभव पनि छन्, नामै नसुनेको तर हात परेपछि पढ्दा पढ्दै औधी मन परेका किताब पनि छन् ।

पुस्तक किन पढ्ने ?

आनन्द लिन । अर्को कुरा मेरो पेसा पत्रकारिताले पनि पढ्न बाध्य गराउँछ, जानकारीका लागि पनि सूचनाका लागि पनि पढ्नै पर्ने हुन्छ । तर, मूल कुरा त रुचि नै हो । पढ्नु पनि कहिलेकाहीँ लत हो कि जस्तो लाग्छ । किताब पढ्नु ठुलो कुरा हैन, पढेको कुरा व्यवहारमा उतार्नु महत्त्वपूर्ण हो । किताब पढक्कडहरुसँग डेढ अक्कल नभएको पनि देखेको छु । किताबै नपढेका विवेकी, ज्ञानी र असल मानिसहरू पनि व्यहोरेको छु । साँच्चै भन्दा मलाई डेढ अक्कलबिनाका पढक्कड मानिसभन्दा नपढेका र नपढ्ने ज्ञानी मानिस प्रिय लाग्छ । यसको मतलब नपढ्नु भन्नेचाहिँ हैन । पढौँ । आफूले पढेर थाहा पाएको ज्ञान व्यवहारमा उतार्न प्रयत्न गरौँ । तपाईँको प्रश्नको राम्रो उत्तरचाहिँ अमेरिकी लेखक रे ब्राडबरीले दिएका छन्, उनी भन्छन्, किताब जलाउनुभन्दा पनि खराब कुरा छ, त्यो हो किताब नपढ्नु । त्यसैले पनि  पढौँ।

नेपाली लेखकले पुस्तक लेख्दा के कुरामा ध्यान दिनुपर्छ ?

यस्तो प्रश्नको उत्तर दिने हैसियत मैले राख्दिन । पाठक पनि गतिलो पाठक हुन नसकेको मैले के भन्नु र खै ? फिक्सनमात्रै हैन, ननफिक्सनका किताबहरू पनि उत्तिकै धेरै आए हुन्थ्यो भन्ने लाग्छ ।

पाठकले कसरी पुस्तक छनोट गर्ने र पढ्ने केही तरिका भन्नु न ?

म त साथीहरूको कुरा सुनेर छनोट गर्छु । पुस्तक वार्ताहरू पढेर पनि आइडिया लिन्छु । विश्वसनीय समीक्षकको समीक्षालाई पनि आधार मान्छु । राम्रा लेखकहरू, विद्वानहरूले लिने किताब र लेखकहरूको सूचीले पनि छनोटलाई सजिलो बनाउँछ ।

अन्तमा, पुस्तक प्रेमीलाई के भन्नुहुन्छ ?

पुस्तक पढ्नु आआफ्नै रुचिको कुरा हो । भरमार किताब पढ्ने र अति पुस्तक प्रेमी नेता, अर्थशास्त्री, विद्वान, समाजशास्त्री, अनेक विषयका ज्ञाताहरू यो समाजमा धेरै छन्, तर देशलाई, समाजलाई तिनीहरूले आआफ्नो ठाउँबाट सकारात्मक योगदान गरे कि गरेनन्, प्रश्न महत्त्वपूर्ण त्यहाँ छ । किताबी ज्ञान किताबमै थन्क्याएर अर्कै खाले बन्नुको अर्थ छैन । ‘नछोप्नु है चरी बरी, सराप आँसु लाग्दछ, नमार्नु जन्तु है कुनै, बसेर काल जाग्दछ’ भन्ने कविता मुखाग्र पारेर वन्यजन्तु तस्कर बन्नुको अर्थ हुँदैन ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button