पोखरा थिएटरमा नियमित गतिविधि पुनः शुरु

पोखरा न्यूज ।  पोखरा थिएटरले आफ्ना गतिविधिलाई पुनः शुरु गरेको छ । कोरोना कहरका कारण लामो समयसम्म नियमित गतिविधि हुन नपाएकोले सुनसान बनेको पोखराको रंगमञ्चलाई फेरि जगाउन थिएटरले खोजेको हो । त्यसका लागि यतिबेला थिएटरमा अभिनय कक्षा शुरु भएको छ । अभिनय क्षेत्रमा रुचि भएका तथा रंग क्षेत्रमा अगाडि बढ्न चाहने व्यक्तिहरुको लागि लक्षित गरेर यो कक्षा सञ्चालन गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पोखरा न्यूजलाई जानकारी दिनुभयो । भौतिक उपस्थितिमानै शुरु गरिएको अभिनय कक्षामा स्वास्थ्य मापदण्ड अपनाइएको उहाँको भनाई छ ।

नयाँ प्रतिभालाई रंगक्षेत्रमा ल्याउन चौथो ब्याचको रुपमा नयाँ अभिनय कक्षा संचालन गरिएको हो । यो अभिनय कक्षा तीन महिना अवधिको हुनेछ । लाइफ स्किल, ड्रामा, थिएटर, एक्टिङ र प्रोडक्सन क्षेत्रका बारेमा विद्यार्थीले जान्ने मौका यस अभिनय कक्षाबाट प्राप्त गर्न सक्नेछन् । तीन महिनासम्म दैनिक ३ घण्टाको दरले हप्तामा ५ दिन कक्षा हुनेछ ।

यस्तै पोखरा थिएटर विद्यालय नाटक महोत्सव गर्ने तयारी गरेको छ । गत वर्ष आयोजित विद्यालय नाटक महोत्सवमा नयाँ पुस्ताले देखाएको सहभागिताका कारण दोस्रो संस्करणको विद्यालय नाटक महोत्सव गर्ने तयारी थालिएको थिएटर अध्यक्ष परिवर्तनले बताउनुभयो । यसका अलावा कोरोनाका कारण नाटक मञ्चन हुन नसकेर निरास भएका रंगकर्मी र रंगप्रेमीका लागि लक्षित गरेर नयाँ नाटक मञ्चनको लागि रिर्हसल समेत थाल्ने योजनामा थिएटर पुगेको छ ।

‘विद्यालय नाटक महोत्सव र नियमित नाटक मञ्चन गर्ने योजनाका साथ रंगकर्मीसँग छलफल गर्न थालिएको छ’ अध्यक्ष परिवर्तनले भन्नुभयो । छलफल पश्चात विद्यालय नाटक महोत्सव गर्ने मिति तथा नियमित नाटक मंञ्चन गर्ने मिति तय गरिने थिएटर सञ्चालक मध्येका एका दिलप्रसाद गुरुङले बताउनुभयो । हुनत कोभिड १९ को प्रभावले आक्रान्त परिरहेको रंगमन्चलाई जीवन्त राख्न थिएटरले कोरोना कहरको समयमा समेत अभिनय तथा निर्देशन सम्बन्धी भर्चुअल कक्षा सञ्चालन गरेको थियो ।

पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालनमा आएपछिको दुई वर्षको अवधिमा मात्र पोखरा थिएटरमा ४८ वटा नाटक मञ्चन भएका थिए । थिएटर स्थापना भएको आगामी फागुनमा तीन वर्ष पुग्छ । कोरोनाका कारण सुनसान भएको रंगमञ्चलाई पुरानै अवस्थामा फर्काउन उद्देश्यका साथ केही हप्तादेखि रंगकर्मी जुटेर छलफल तथा ज्ञान आदानप्रदान गर्ने कार्य गरिरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button