फिल्म पत्रकारितातर्फको आर्कषण बढेको छः श्रीराम सिग्देल

पोखरा न्यूज । पत्रकार श्रीराम सिग्देल चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले २०५४ सालमा आदर्श समाज दैनिकबाट पत्रकारिता आरम्भ गर्नुभएको थियो । आर्दश समाज दैनिकमा अहिले पनि मनोरञ्जन स्तम्भकारको रुपमा रहनुभएका उहाँ फेवा पोष्ट साप्ताहिक सहायक सम्पादक तथा हिमालयन एफएमको गण्डकी प्रदेशको संवाददाता समेत हुनुहुन्छ ।

अभिनयमा समेत रुचि राख्ने उहाँले अभिनेता राजेश हमालको क्यारिकेचर दुरुस्तै गर्नुहुन्छ । केही नेपाली फिल्ममा छोटो भूमिकामा अभिनय गरिसक्नु भएका उहाँले पोखराको फिल्म पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन नेतृत्वदायी भूमिका निभाउनु भएको छ । अझै पनि नेपाली फिल्मी क्षेत्र र फिल्मी पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन निरन्तर कलम चलाउने बताउने उहाँसँग नेपाली फिल्म र पोखराको फिल्मी पत्रकारितासँग सम्बन्धित रहेर केही प्रश्न सोधेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
मैले अहिलेसम्म फिल्म प्रशस्तै हेरे । पचासको दशकमा सबैभन्दा बढी फिल्म हेरे, त्यतिबेला जति पनि नेपाली फिल्म बने अधिकांश फिल्म हेरेको छु । फिल्म हेर्ने क्रम साठीको दशकमा अलि कम भयो । ७० दशकमा आएर झनै कम भयो । अहिले फाट्टफुट्ट हेर्छु । राम्रो भनिएका फिल्म हेर्छु । विष्यवस्तुलाई समेत ध्यान दिएर फिल्म हेर्ने मेरो बानी छ ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
मेरो फिल्म हेर्ने माध्यम हल नै हो । सुरुवातदेखि नै हलमा नै प्रायः फिल्म हेर्थे । अहिले आएको प्रविधिको कारण घरमा युट्युब मार्फत समेत फिल्म हेर्छु । यसका अलावा टिभीको माध्यमबाट पनि मैले धेरै फिल्म हेरे ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
हलमा ठूलो पर्दामा हेर्दाको मज्जा घरमा हुँदैन । सोही कारण हलमा फिल्म हेर्दाको जस्तो रमाइलो अनुभूति घरमा बसेर फिल्म हेर्दा पाउँदिन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
पचासको दशकमा नेपाली फिल्मको उर्वर समय आयो । महानायक राजेश हमालको उदयसँगै नेपाली फिल्मको उदय भएको मेरो बुझाई छ । त्यतिबेला मलाई फिल्म हेर्ने रुचि आफै जाग्थ्यो ।

नेपाली फिल्म ‘तिलहरी’ हेर्नको लागि टिकट काट्न भनेर विन्ध्यवासिनी हलमा लाइनमा बसेको थिए । टिकट काट्नको लागि भिड ठूलो थियो । भिडमा पसे । टिकट काट्ने क्रममा मैले लगाएको सर्टको बाहुला नै च्यातियो । त्यतिबेला टिकट काट्न सजिलो थिएन । ठेलमठेल हुन्थ्यो ।

मैले आठ कक्षा पढ्दाबाट फिल्म हेर्न थालेको थिए । म अमरसिंह माविमा पढ्थे । ७ कक्षासम्म आर्वामा अध्ययन गरेपछि ८, ९, १० कक्षा अमरसिंहमा पढे । त्यतिबेला भारतमा बसेर आएको राजु भन्ने साथी थियोे । उसले हिन्दी फिल्म हेर्न खोज्थ्यो । उसैसँग मेरो संगत भयो । अनि फिल्म हेर्न थाले । त्यतिबेला प्रायः घरबाट ढाँटेरै फिल्म हेर्थे । फिल्म हेर भनेर घरबाट पैसा दिने कुरा भएन, मौका मिलाएर हेर्थे । हलमा त्यतिबेला सेकेन्डको टिकट काटेर हेर्दा समेत अर्कै खालको आनन्द आउथ्यो ।

हलमा हेरेको पहिलो फिल्म ?
मैले हेरेको पहिलो फिल्म हिन्दी फिल्म ‘मर्द’ हो । यो पूर्णिमा हलमा हेरको थिए । नेपाली फिल्म भने ‘युगदेखि युगसम्म’ हलमा पहिला हेरेको ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई मनपर्ने कलाकार राजेश हमाल र करिश्मा मानन्धर हुनुहुन्छ । उहाँहरुको जोडीले अभिनय गरेका धेरै नेपाली फिल्मले दर्शकको मन जितेका छन् ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
फिल्म एउटा मनोरञ्जनको माध्यम तथा समाजको ऐ्ना हो । फिल्मको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गर्न सकिन्छ । हुनत फिल्म एउटा व्यवसाय समेत हो । फिल्ममा देखिएका दृश्य तथा फिल्ममा महत्वका साथ उठाइएका विषयवस्तुका कारण सबैले अपनत्व महशुस गर्न पाउँछन्् । मजदुरका कुरा, दुःखी गरिबका कुरा, सामान्य व्यक्तिका कथालाई फिल्ममा स्थान दिइयो । जसका कारण सामान्य व्यक्तिमा केही उर्जा थपियो । फिल्मका कारण उनीहरुले अगाडि आउन साहस गरे नेपाली फिल्मले धेरैको उत्थान मात्र गरेन मनोबल उच्च बनाउनका लागि सघाएको समेत छ ।

सुधार गर्नुपर्ने पक्ष ?
नेपाली फिल्म निर्माणमा प्राविधिक रुपमा भएका कमजोरी सुधार गर्नुपर्छ । नेपाली मौलिकतालाई टपक्क टिपेर फिल्म बनाउने जमर्को गर्नुपर्छ । खाली व्यवसायको लहडमा फिल्म बनाउनु हुँदैन । मैले हलमा हेरको पछिल्लो फिल्म ‘आमा’ले मन छोएको थियो । अब सबैले मौलिकतालाई जोड दिएर फिल्म बनाउनुपर्छ ।

फिल्ममा अभिनय गर्ने रहर पलायन ?
मलाई फिल्म हेर्दा खेल्न पाए भन्ने हुन्थ्यो । कलाकार बन्न सजिलो रहेनछ भन्ने पछि थाहा पाए । मुल पेशा नै यसलाई बनाएर हिड्न पर्नेरहेछ । त्यस्तो गर्न सकिन । हुनत केही फिल्ममा सानो अभिनय गरे । प्रेम पागल, पछ्यौरी, रामलक्ष्मण, धर्मात्मा मैले अभिनय गर्ने अवसर पाएका फिल्म हुन् ।
मलाई एउटा सम्झना छ । हामी पृथ्विनारायण क्याम्पस पढ्थ्र्यौ । ‘पछ्यौरी’ फिल्मको एउटा गीतको सुटिङ उद्योग वाणिज्य संघमा हुँदै थियो । सुटिङको लागि क्याम्पसमा बस आयो । म प्रमाणपत्र तह पढ्थे । फिल्मको लागि कलाकार लिएर जाँदा म समेत परे । अनि सो फिल्ममा सानो भूमिकामा अभिनय गरे ।

फिल्मी पत्रकारिताको सुरुवात कसरी गर्नुभयो ?
त्यतिबेला पत्रपत्रिकाको स्कोप थियो । मैले फिल्म धेरै नै हेर्थे । टेलिभिजन र रेडियोको क्रेज खासै थिएन । फिल्मी पत्रिका तथा काठमाण्डौबाट निस्कने पत्रिकामा फिल्म सम्बन्धि समाचार पढ्थ्यौ । नेपाली फिल्म हेरेर समीक्षा लेख्न सकिन्छ भन्ने मलाई लाग्यो । त्यतिबेला मेजर नेपाली लिएर म पढ्दै थिए । सोही कारण लेखनमा रुचि जाग्यो । अनि ‘चोर’ भन्ने नेपाली फिल्मको पहिलो समीक्षा गरेको थिए । जुन समीक्षा आदर्श समाज पत्रिका प्रकाशित भएको थियो । त्यहि समयबाट मेरो पत्रकारिताको यात्रा सुरु भयो । कला मनोरञ्जन र संगीतको बारेमा पत्रकारिताको माध्यमबाट अगाडि बढाउन सकिन्छ भन्ने मनमा लाग्थ्यो । बोर्डसिटका पत्रपत्रिकामा समाचार देख्दा मैले पनि लेख्न सक्छु भन्ने हुन्थ्यो । सोही जोशका कारण फिल्मी पत्रकारिता सुरु गरे ।

चलचित्र पत्रकार संघको शाखा पोखरामा कसरी जन्मियो ?
चलचित्र पत्रकार संघ केन्द्रमा थियो । संस्था काठमाण्डौमा सिमित थियो । फिल्मको मुख्य बजार काठमाण्डौ उपत्यका भए पनि दोस्रो बजार पोखरा, धरान नारायणगढ, बुटबल, सुर्खेत, विर्तामोड जस्ता ठाउँमा थियो । केन्द्रले यी ठाउँमा शाखाको रुपमा चलचित्र पत्रकार संघको शाखा खोल्ने योजना बनायो । हामीले पनि फिल्मी पत्रकारिता गर्ने उपयुक्त ठाउँ पोखरा हुनसक्छ भनेर काम गर्दै थियौ । किनकि त्यतिबेला यहाँ फिल्मी गतिविधि धेरै हुने थिए । संघ नै बनाएर पत्रकारलाई आवद्ध गर्ने र फिल्म पत्रकारितालाई व्यवस्थित रुपमा अगाडि बढाउने हाम्रो उद्धेश्य थियो । केन्द्रको र हाम्रो उद्धेश्य मेल खायो । चलचित्र पत्रकार संघ केन्द्रको संस्थापक भरत शाक्य उहाँकै प्रमुख आतिथ्यतामा चलचित्र पत्रकार संघ पोखरा शाखा २०६० सालमा स्थापना गरिएको हो । त्यतिबेला अध्यक्षमा म श्रीराम सिग्देल, उपाध्यक्ष्मा नविन घायल, सचिवमा शिव शर्मा चञ्चल, सहसचिवमा टंक खनाल, कोषाध्यक्षमा इन्द्र राई तथा सदस्यमा एमबी आस्था मगर, विभु भुषाल, माधव बराल र सागरराज तिमिल्सीना हुनुहुन्थ्यो ।

त्यतिबेला फिल्मी पत्रकारितामा कस्तो चुनौती थियो ?
ठूलो चुनौती थियो । त्यसबेला यहाँका पत्रिकाले राजनीति र अर्थ क्षेत्रका समाचारलाई महत्वका साथ प्राथमिकता दिन्थे । मनोरञ्जन र खेलकुदलाई खासै स्थान दिइदैन्थ्यो । स्थान दिनुपर्छ भन्न थाल्यौ । हामीले त्यो चुनौतीको सामना गरेउ ।

त्यतिबेला फिल्म सिटी रुपमा परिचय बनाएको पोखरामा दैनिकजसो फिल्म सुटिङ हुन्थ्यो । सोही कारण पत्रपत्रिकाका सम्पादकहरुलाई कन्भिन्स गरेर ठाउँ दिुनुहोस् भनेर आग्रह गरेँ । केहीले स्थान दिए । केहीले दिएनन् । छुट्टै स्पेश नदिए पनि छेउमा, वीचको छेउमा छाप्ने थाले । चुनौती मोलेर सुरु गरिया,े अहिले स्थान दिँदा खुशी लाग्छ ।

अहिले सन्तुष्ट हुने अवस्था छ ?
अहिले पुरै सन्तुष्ट हुने अवस्था छैन । मोफसलमा रहेका पत्रपत्रिकाले अझै प्राथमिकताका साथ स्थान दिएका छैनन् । काठमाण्डौबाट प्रकाशन हुने राष्ट्रिय दैनिकले पेज छुट्याएर कला मनोरञ्जनलाई स्थान दिएका छन् । तर हामीकहाँ त्यस्तो नभए पनि पहिला कै जसरी निरास हुनुपर्ने अवस्था भने छैन । समाचार आयो भने प्रकाशन गर्ने गरेका छन् । टेलिभिजन र अनलाइनमा समेत स्थान दिइएको छ । यो सकारात्मक पक्ष हो तर पुरै सन्तुष्ट हुने अवस्था भने होइन ।

फिल्ममा पोखराको अवस्था पहिला र अहिले कस्तो पाउनुहुन्छ ?
छायाकंनको हिसाबले पोखरा पहिलो नम्बरमा थियो । अहिले विभिन्न प्रविधिले गर्दा पोखरामा छायाकंनमा कमी आएको छ । पहिलाका फिल्ममा नेचुरल सिन हेर्न पाउथ्यौ । अहिले कृतिम सिन हेर्न पाउने अवस्था आयो । प्रविधिले फड्को मार्दा यस्तो भयो । पहिले भन्दा अहिले धेरै फिल्म बन्न थालेका छन् । फिल्ममा मौलीकता र गुणस्तरियताको कमी छ ।

फिल्मी पत्रकारितासँग सम्बन्धित थप केही भए भन्नु ?
पोखरामा रहेर फिल्मी पत्रकारितालाई कसरी हुन्छ अगाडि बढाउन पर्छ भनेर जग हाल्ने काम गरेका थियौ । जति गर्न सकँेउ हामीले गरेँउ । सबैको साथ नपाए पनि केहिको साथका कारण संस्था अगाडि बढिरहेको छ । फिल्म पत्रकारितातर्फको आर्कषण बढेको छ । पछिल्लो पुस्ताले गरेको देख्दा खुशी लाग्छ तर सन्तुष्ट हुने अवस्था अझै छैन । अब सबै मिलेर यसलाई झनै व्यवस्थित र आर्कषक बनाउनुपर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button