पृथ्वीजयन्तीको दिन पुस २७ गते गोरखा नगरपालिका बिदा

पोखरा न्यूज । गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २ सय ९९ सदस्यीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।

नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा उहाँको सम्मान र सम्झनामा नगरपालिकाको अगुवाइमा सरसफाइ, खेलकूद, दीप प्रज्वलनलगायत कार्यक्रम गर्न लागिएको उहाँको भनाइ छ । कार्यक्रमअन्तर्गत पुस २६ गते नगरपालिकाभित्रका सबै वडामा सरसफाइ कार्यक्रम हुने प्रमुख प्रशासकीय अधिकृत पन्तले बताउनुभयो । चोक, हरमटारी, पुरानो बसपार्क हुँदै गोरखा दरबारसम्म खुला दौड प्रतियोगिताको आयोजना गर्ने तय भएको छ ।”

त्यस्तै पुस २७ गते सदरमुकामको खेलकूद मैदानदेखि हरमटारी हुँदै गोरखा सङ्ग्रहालयसम्म विभिन्न जातजातिको झाँकी प्रस्तुत प्रदर्शन गरिने प्रमुख प्रशासकीय अधिकृत पन्तले बताउनुभयो । दिवसका अवसरमा पुस २८ गते गोरखा जेसिसको अगुवाइमा वक्तृत्वकला प्रतियोगितासहित खेलाडी सम्मान र पुरस्कार वितरण कार्यक्रम गरिने उहाँको भनाइ छ । नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा पुस २७ गते एक दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत पन्तले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button