कलालाई प्राथमिकता दिनुपर्छ चर्तीकलालाई होइन : योगेश काजी

पोखरा । गायक तथा संगीतकार योगेश काजीको जन्म बाग्लुङ जिल्लाको बलेवा अमलचौरमा भएको हो । उहाँमा बाल्यकालदेखिनै नृत्य तथा संगीतमा रुचि थियो ।

उहाँको पहिलो रेकर्ड भएको गीत ‘किन यस्तो मोड आयो’ हो । धौलागिरि एफएमले आयोजना गरेको धौलागिरि आइडलको विजेता बनेपछि २०६१ सालमा यो गीत रेर्कड भएको थियो । प्रकट कुमार शिशिरले रचना गर्नुभएको तथा जेम्स प्रधानले एरेन्ज गरेको गीतमा संगीत र आवाज भर्दै योगेशको सांगीतिक क्षेत्रमा औपचारिक रुपमा डेब्यु भयो । त्यसोत यसअगाडि नै उहाँले विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै संगीत पारखीको ध्यान खिच्नु भएको थियो ।

हालसम्म एक सयको हाराहारीका गीतमा उहाँले आवाज भर्नुभएको छ । उहाँले आवाज भरेका गीतमा फिल्म नाइकेको हुँ म नाइके, भुकम्प सम्बन्धी गीत दैब हे, कार्टुन क्रिउको हेल्लो मलाई मिसकल हान्ने हु आर यु, ऐसेलुको पात, मेरो माया छुन्छ छुदैन, घिन्ताङ घिन्ताङ मायालु, मनचरी, कालापानी, ह्याप्पी तिहार, ऐसेलु बोटैमा अल्झ्यो मेरो रुमाल आदि छन् ।

यसबाहेक छ माया छपक्कै फिल्मको जुनको जुनेली, डन आयो डन, ह्याप्पी तीहार, एक्सको छम्मा, प्रकाश सपुतको नमस्कार र फुटेको चुरा, प्रिति आलेको फरिया लरिलै बरिलै, टल टल टल्किने ऐना लगायतका गीतको संगीत संयोजन गरिसक्नुभएकोे छ । उहाँ विभिन्न संगीत र संगीतसम्बद्ध संस्थामा आवद्ध हुनुहुन्छ । स्टेज कार्यक्रममा दर्शकलाई आफ्नो प्रस्तुति मार्फत झुमाउन उहाँ खप्पिस हुनुहुन्छ । यसपाली योगेशसँग सांगीतिक क्षेत्रको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईंको सांगीतिक यात्रा कसरी शुरु भयो ?

सानैदेखि नृत्यमा लागेको थिए । स्कूल पढ्दाबाटनै नाच्ने गाउने रहर जाग्यो । गाउँमा छदा भजन गाउने टोली थियो उहाँहरुसँग हिड्थे । बिस्तारै संगीत तिर ढल्किए । किन कसरी भन्ने को जवाफ चाहिँ खासै छैन बस् लागिरहे ।

कस्ता गीत गाउन मनपर्छ ?

शुरुवातमा पप गीत गाउथे । बिचको समय आधुनिक र शास्त्रीय संगीततर्फ ढल्किए कारण २०६५ सालमा ईमेज च्यानलले आयोजना गरेको साउथ एशिएन स्टार नेपालमा भाग लिए । जसमा उत्कृट ६ सम्म पुगे । त्यही दौरानमा मलाई काठमाण्डौको बसाईमा सहज गराउने मेरो साथी गंगाराज राई जो अहिले बेलायतमा हुनुहुन्छ, इन्द्र आरपी अहिले नेपाल आइडलको प्रि–जज हुनुहुन्छ, आदेश गुर्माचन्द मगर, ममता गुरुङ, प्रतिभा राई, लेखराज गुरुङ, पद्मिनी राई लगायतका साथीहरु सबै शास्त्रीय संगीतको अध्ययन अध्यापन गरिरहनु भएको थियो । उहाँहरुको साथ संगत र सहयोगले त्यतै ढल्किए । अहिले मलाई सबै प्रकारका गीतमा कोसिश गर्न मनलाग्छ र गरेको छु ।
बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?

म ज्याद भारतको मुम्बइमा बसे किनकी मेरा दूई जना दाजुहरु मुम्बइमा हुनुहुन्थ्यो । त्यतिबेला टेलिभिजनमा नै ज्यादा हेरिन्थ्यो, सुनिन्थ्यो । गाउँमा भने रेडियो र क्यासेट गीतसंगीत सुन्ने मुख्य स्रोत थियो ।

तपाईंलाई मनपर्ने गायक तथा गायिका ?

मलाई मनपर्ने सत्यराज आचार्य, स्वरुपराज आचार्य, अन्जु पन्त हुनुहुन्छ ।
सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
अहिले सम्म विकल्प खोज्नु परेको छैन । तर अध्ययन गरेर लाग्न जरुरी छ । जीवन धान्ने हुन औलामा गनिनै पर्छ । त्यसका लागि आफू पुर्ण रुपले तयार हुनु जरुरी छ । त्यसपछि संगीतबाटै जीवन धान्ने मात्र होइन लोभ लाग्दो लाईफ नै जीउन सकिन्छ ।

तपाईले देखेको सपना ?

धेरै छन् त्यही भएर दिनरात मेहनत गरिराखेको छुँ । राति दुई तीन बजेसम्म काम गर्छु कहिले काहीँ बिहान नै हुन्छ । संगीतको क्षेत्रकै केही सपना छन् जुन पुरा गर्न दिनरात मेहनत गर्दैछु ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?

हाम्रो सबैभन्दा ठूलो पक्ष लोक संगीत हो । किनकी हाम्रोमा लोक संगीतको खानी नै छ । नेपाली दर्शक श्रोताहरुले हरेक बिधालाई उत्तिकै माया गर्नुभएको छ । सुनले सुनकै दर्जा पाएको छ । यो नेपाली संगीतको सकारात्मक पाटो हो ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?

सुधार्नुपर्ने कुराहरु धेरै छन । संगीतमा लाग्ने कर्मीहरु, राज्यले लिनुपर्ने जिम्मेवारीका कुराहरु, सम्बन्धित बिधामा ज्ञानका कुराहरु आदि धेरै कुरा सुधार गर्नुपर्नेछ । छोटकरीमा भन्नुपर्दा गीत संगीततर्फ राज्य उत्तरदायी हुनुपर्छ । कलाकर्मीले ज्ञान हासिल गर्नुपर्छ । कलालाई प्राथमिकता दिनुपर्छ चर्तीकलालाई होइन ।

आफूमा निखारता कसरी थप्दै आउनुभएको ?

म निखारिने प्रयासमा छु । यसका लागि संगीत बाहेक अरु केही गरेको र सोचेकै छैन । संगीतको कर्मलाई निरन्तरता दिँदै निखारता थप्दै आएको छुँ ।

संगीत क्षेत्रबाट पाएको कुरा ?

पाएको भनेको आत्म सन्तुष्टि, पैसा र इज्जत नै हो ।

संगीत क्षेत्रबाट गुमाएको कुरा ?

पारिवारिक समय । आफन्त सँगको सामिप्यता । अनि आफ्नो ब्यक्तिगत समय छैन । यी गुमाएका कुरा हुन् । तर दर्शकको स्रोताको मायाले यसलाई विर्साइदिन्छ ।

अबका योजना के छन् ?

पछिल्लो पटक संगीत संयोजनमा निकै रुचि बढ्यो निरन्तर गरी रहेको छु । लोकलय हाम्रो रगतको नशामा छ यस्लाई आधुनिकिकरण कसरी गर्न सकिन्छ भन्ने हेतुले त्यही साधनामा लागेको छु । भावी योजना पनि लोकलय सृजना र संयोजन गर्नमै हुनेछ । बेला–बेला गाउने म्युजिक भिडियो बनाउने छु । त्यसबाहेक केही फिल्मका लागि कम्पोज र एरेन्ज गरिरहेको छु ।

अन्तमा के भन्नुहुन्छ ?

आदरणीय दर्शक श्रोता शुभचिन्तकको माया पाएको छु । यो सधै रहोस । मेरो गीत संगीतलाई सुनेर सल्लाह सुझाव प्रतिक्रिया पाइरहुँ । सधै संगीतमा रहिरहन सकु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button