संवेदनशील फिल्म हेरे भने छिट्टै आँखामा आँशु आइहाल्छः प्रकाश घिमिरे

पोखरा न्यूज । कलाकार प्रकाश घिमिरेको जन्म पोखरा ३ नदीपुरमा भएको हो । पिता तेजनाथ घिमिरे र माता इन्द्र कुमारी घिमिरेको पहिलो सन्तानको रुपमा जन्मिनु भएका प्रकाशको सानैदेखि समाजसेवातर्फ बढी रुचि थियो । सोही कारण उहाँ किशोर अवस्थामा नै समाजसेवामा लाग्नुभयो । २०३९ सालमा स्थापना भएको सुर्योदय युवा क्लबको संस्थापक अध्यक्ष हृुनुहुन्छ । साहित्य, खेलकुदमा रुचि भएका व्यक्ति त्यसमा आवद्ध थिए । नाटक, कविता, खेलकुद क्षेत्रका कार्यक्रम क्लब मार्फत गर्न थाले । एकांकी नाटक देखाइन्थ्यो । उमेरमा आफूभन्दा साना साथी उहाँले जम्मा गर्नुभएको थियो । रंगकर्मी अनुप बराल समेत क्लबमा हुनुहुन्थ्यो । अनुप कै डिमान्ड पूरा गर्न समेत नाटक देखाउन थालियो । यसरी प्रकाशको रंगयात्रा आरम्भ भयो ।

उहाँले ताण्डव नृत्य तथा अजम्बरी भ्वाइलेन, न्यायप्रेमी, आस्थामा उठेका हातहरु, क्रिया नाम सर्वनाम विशेषण, काफ्का, थाङ्गला, जात सोध्नु जोगीको, सिरुमारानी, निरमाया, अटलबहादुरको आतंक आदि गरी ३० वटा जति नाटकमा उहाँले अभिनय गरिसक्नुभयो ।

२०६२ मा दलन टेलिसिरियलमा उहाँले अवसर पाउनुभयो । आहुतिले लेखेको नविन सुब्बाले निर्देशन गरेको यो टेलिसिरियल मार्फत ‘धम्बरे’ क्यारेक्टर मार्फत उहाँ चिनिनुभयो । नविन सुब्बाकै सिहँदरबार टेलिसिरियलका दूईवटै एडिसनमा उहाँले काम गर्नुभयो ।

फिल्म गरुढ पुराढ, साँहिली, गोपी, करोडपति, जात्रै जात्रा, छ माया छपक्कै आदि गरेर ४० भन्दा बढी फिल्ममा उहाँले अभिनय गर्नुभएको छ । विभिन्न सर्ट फिल्म र म्युजिक भिडियो मार्फत समेत उहाँले आफ्नो क्रियाशिलता बढाउनुभएको छ । अबको समय रंगक्षेत्र र फिल्म क्षेत्रमा नै विताउने उहाँको योजना छ । आज उहाँसँग हामीले फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
पहिला बेस्सरी हेर्थे । बाल्यकालमा धेरै हेरियो । घरको नजिकै कल्पना सिनेमा हल भएको कारण समेत धेरै फिल्म हेरियो त्यतिबेला । अहिले फिल्म हेर्न निकै कम भएको छ ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
पहिला हलमा नै हेरिन्थ्यो, अहिले युट्युब, नेटफ्लिक्स र टिभीमा बढी हेर्छु । हलमा जाने क्रम धेरै कम भएको छ । हामीले भिडियो फिल्म चक्कामा नि धेरै हेरियो । ६, ७ वटा फिल्म एकैचोटी ल्याएर साथीहरु बसेर रातभरि हेरिन्थ्यो ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभुती कस्तो हुन्छ ?
हलमा हेर्दा नै रमाइलो हुन्छ । मज्जा आउँछ । ठूलो पर्दा भएको कारण होला । हलमा धेरै दर्शकको रियाक्सन एकैचोटी हेर्न पाइन्छ, देख्न पाइन्छ , आफू पनि रमाउन पाइन्छ । ताली बजाउने, हास्ने, रुनी सँगै गर्न पाइन्छ । घरमा हेर्दा एक्लै भइन्छ । एक्लै हुँदा कोसँग सेयर गर्ने अर्थ रहदैन । पहिल्यैदेखि साथीहरुसँग हेर्ने भएकोले घरमा टक लाग्दैन । घरमा एक्लै काम गर्न मज्जा आउँछ तर फिल्म हेर्दाचाहि त्यति मज्जा लाग्दैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
टिकट काट्दा कल्पना हलमा अधिकांश मैले नै काट्थे । त्यहाँ धेरै भिँड हुन्थ्यो । मानिसको टाउको टाउकोमा चढेर गएर टिकट काटिन्थ्यो । एकपटक पञ्जाबी बाला लगाउने चलन थियो । मैले हातमा बाला लगाएको थिए । टिकट काट्न हात छिराउने ठाउँमा सानो प्वाल हुन्थ्यो । हात छिराउँदा बाला सहित गयो । टिकट सहित हात बाहिर निकाल्दा त बालाले हातको नसानै देखिने गरेर छाला ल्वात्तै लछा¥यो । रगत बग्न थाल्यो । टिकट छोड्दा अरुले लिन्थे । सोही कारण रगत बग्दा समेत हातको टिकट छोडिन ।

फिल्म रिलवाला चक्का मार्फत देखाइन्थे । रिल बेला–बेलामा चुडिन्थ्यो । त्यस्तो बेलो हल्ला गर्ने चिच्याउने, सिठि बजाउने गरिन्थ्यो ।
कल्पना हलमा फिल्म हेर्दा पंखामा अचानक आगो लागेपछि भागाभाग भयो । मसँग अनुप र अनिल गएका थिए । भागाभाग भएपनि म उनीहरुलाई समाएर भित्र नै बसे । हुनत केही भएको थिएन ।

मलाई हलमा फिल्म हेर्दा डर लाग्ने भनेको संवेदनशील फिल्म हेरे भने छिट्टै आँखामा आँशु आइहाल्छ । यसरी आँशु आउँदा आसपासका मानिसँग लाज लाग्छ । अरुलाई केही भएको छैन आफू रोएको रोएइ भइन्छ ।


हलमा हेरेको पहिलो फिल्म ?
६ वर्षको हुँदा भारतको दिल्लीमा ‘निलकमल’ हेरेको हुँ । एउटा दशैमा दिल्लीमा बुबासँग जाँदा यो फिल्म हेरे । कैलालीमा छँदा खुल्ला मैदानमा हिन्दी फिल्म हेरेको याद छ । पोखरा आएपछि घरको नजिकै कल्पना सिनेमा हल भएको कारण धेरै हेरियो । नेपालीमा ‘माइतिघर’ फिल्म हलमा हेरेको पहिलो फिल्म थियो । मलाई राम्रो लागेको नेपाली फिल्म ‘परालको आगो’ हो । त्यति बेला फिल्म फेर्न नै नहुने थियो । त्यतिबेला म अनुप, दीपक छुट्ने थिएनौ । १०, १२ जना एकैचोटी जाने गथ्र्यौ । कुनै फिल्म २, ३ पटक समेत हेरिन्थ्यो । धेरै हिन्दी फिल्म हेरिन्थ्यो । पछि नेपाली फिल्म हेर्न थालियो ।

विस्तारै नेपाली फिल्म हेर्न मलाई लाज लाग्यो । खै के भयो पछि फिल्म कम हेर्न थाले । काममा व्यस्त भएर समेत होला । स्कुलमा पढाउन थाले । फिल्म हेर्ने क्रम घट्यो । म फिल्म हेर्न अनुपसँग धेरै गएको छुँ ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई धेरै कलाकारको अभिनय मनपर्छ । यसमध्ये माओत्से गुरुङ, मेनका प्रधान, अनुप बराल, दयाहाङ राई, बुद्धि गुरुङ, सौगात मल्ल, प्रमोद अग्रहरी अब्बल लाग्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
पछिल्लो क्रममा नेपाली फिल्मले आफ्नोपन समात्दैछ । पूर्वीय चिज, पश्चिमेली चिज, टोन तथा भाषामा डिटेलमा काम भइरहेको छ यो सकारात्मक पाटो हो । आफ्नो संस्कृति झल्काउने फिल्म बन्न थालेका छन् ।

सुधार गर्नुपर्ने पक्ष ?
स्क्रिप्ट सेलेक्सन गर्दा विचार गर्नुपर्छ । समाजलाई नै फिल्ममा देखाउने हो । त्यसका लागि राम्रो स्क्रिप्ट र राम्रो प्रोड्युसर चाहिन्छ । फिल्म बुझेका निर्माताले लगानी गर्ने हो भने नेपाली फिल्मी क्षेत्र राम्रो हुने थियो । पाउने भन्दा केही योगदान गर्छु भन्ने खालको निर्माताको खाँचो यहाँ छ । यस्ता खालका निर्माता हुने हो भने बजार समेत विस्तार हुन्थ्यो ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
त्यो त सबै मानिसमा स्वभाविक रुपमा हुने कुरा हो । मलाई समेत हुन्थ्यो । फिल्म हेरेर बाहिर निस्केपछि क्यारेक्टर आफूमा रुपान्तरण भएको महशुस हुन्थ्यो । कहिलेकाँही बाटोमा हुँदा नटेरेर पारा देखाउन खोजिन्थ्यो । हामीले समूहमा फिल्म हेर्ने र छलफल गर्ने गथ्यौँ । फिल्म हेरेपछि फिल्मको के चिज राम्रो के चिज नराम्रो भनेर बेलुका बसेर छलफल गथ्र्यौ । घर अगाडिको कल्भर्टमा बसेर सकारात्मक पक्ष नकारात्मक पक्ष र अभिनयको बारेमा लामो बहस हुन्थ्यो ।

तपाईले देखेको सपना ?
मैले फिल्म तिर त्यस्तो खासै ठूलो सपना देखेको छैन । गर्दा गर्दे यो स्थानमा आए । मैले सपना त फिल्ममा भन्दा सामाजिक क्षेत्रमा देखेको हुँ । उन्नतशील नेपाल, विकसीत नेपाल देख्न चाहेको मानिस हुँ । नेपाल विकसित बनाउन आफ्नो ठाउँ विकसित बनाउनुपर्छ भन्ने मान्यता मेरो हो । हामीले हाम्रो ठाउँ भनेर सुर्योदय युवा क्लब खोलेर काम गरेका थियौँ । अभिनयतिर भने त्यस्तो ठूलो सपना पालिन । अझै पनि ठूलो सपना अभिनय क्षेत्रमा देखेको छैन ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?
मैले अभिनय गरेको ‘पानी फोटो’ प्रर्दशन गर्न बाँकी छ । ‘पूर्व पश्चिम’ फिल्म डविङ गर्न बाँकी छ । ‘दूई नम्बरी’ फिल्मको छायाकंन आधाँ भएको छ । ‘बाबरी’ सुटिङमा जान नै पाएको छैन । ‘नयाँ गणपति’ माघ २ गतेबाट बन्दिपुरमा छायाकंन हुँदैछ । अर्को ‘प्रकाश’ फिल्म जुम्लामा सुटिङ हुँदैछ । यो फिल्ममा कास्टिङ भएको छ भन्ने आएको छ । पोखराबाट बन्दै गरेको फिल्म ‘हुक्का’को छायाकंन सकियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button