जिफानले फिल्म निर्मातालाई प्रोत्साहन गर्ने

पोखरा न्यूज । गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान)ले विशुद्ध गुरुङ भाषा तथा संस्कृतिमा आधारित फिल्म निर्माण गर्ने निर्मातालाई प्रोत्साहन गर्ने भएको छ । पोखरामा भएको जिफानको १३ औँ साधारण सभाबाट जिफानमा दर्ता भएका गुरुङ भाषा र संस्कृतिमा आधारित फिल्म निर्मातालाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ दिने निर्णय भएको अध्यक्ष भोज बहादुर गुरुङले जानकारी दिनुभयो ।

‘गुरुङ फिल्म निर्माण गर्ने साथीहरुलाई प्रोत्साहन गर्नको लागि प्रत्येक गुरुङ भाषाको फिल्म निर्मातालाई १० हजार रुपैयाँ दिने निर्णय भएको छ । यस्तो रकम संस्थाले फण्ड कलेक्सन गरेर उपलब्ध गराउनेछ’ जिफान अध्यक्ष गुरुङले भन्नुभयो । फिल्म निर्मातालाई राम्रो फिल्म तथा मौलिक फिल्म बनाउन उत्पेरणा मिलोस् भन्ने हेतुले यो निर्णय गरिएको उहाँको भनाइ छ । यसैगरी गुरुङ फिल्ममा काम गर्ने मध्ये प्राविधिक कसलाई मान्ने भन्ने बारेमा रहेको विवाद समेतलाई जिफानले प्रष्ट पार्ने साधारणसभा मार्फत निर्णय गरेको छ । यसको लागि प्राविधिकलाई चार प्रकारमा वर्गिकरण गर्ने निर्णय गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

कोरोनाका कारण रोकिएको फिल्म दर्तालाई समेत जिफानले खुल्ला गरेको छ । बनिसकेका फिल्मको प्रर्दशन गर्न र निर्माण गर्ने तयारी भएका फिल्मको छायाकंन गर्ने कार्य सुचारु गर्न दिने निर्णय समेत जिफानले गरेको छ । यसरी प्रर्दशन र छायाकंन गर्दा स्थानीय सरकारको नियम र कानूनलाई भने पालना गर्नुपर्नेछ ।

निर्माण भएर प्रर्दशनको प्रतिक्षामा रहेका फिल्मलाई प्रर्दशन गर्न दिने निर्णय भएको छ । जिफानको निर्णय पश्चात आगामी माघ २४ र फागुन १ गते फिल्म ‘ङ्हेल्स्यो’(सैना) पोखरामा प्रर्दशन गरिने भएको छ । हालै यो फिल्म भमरकोट पार्टी प्यालेस विरेन्द्रचोक पोखरामा प्रर्दशन गरिएको थियो । ५, ६ वटा फिल्म प्रर्दशनको प्रतिक्षामा रहेका छन् । फिल्म प्रर्दशन गर्न कम्तिमा १४ दिनको ग्याप रहनुपर्नेछ ।

जिफानको १३ औँ साधारण सभा तमुधिं नेपालका अध्यक्ष हुम तमुको प्रमुख आतिथ्यतामा भएको थियो । यो कार्यक्रममा बोल्दै अध्यक्ष तमुले तमु एकताको अभियान सबै तमुहरु हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘तमुको पहिचान र अधिकारका निम्ती अगाडि बड्नुपर्छ, राम्रो काम गर्नेलाई तमुधिं नेपालले सम्मान गर्नेछ’ गुरुङले भन्नुभयो ।

फिल्ममार्फत गुरुङ कला, संस्कृति, मौलिकता, कथाबस्तु संरक्षण, सवर्द्धनका साथै अन्तर्राष्ट्रियकरणका लागि गुरुङ फिल्मको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो । तमु एकता, भाषा, कला संस्कृति संरक्षण सबै तमु संघ संस्थाको उद्देश्य भनिए पनि व्यवहारमा कार्यन्वयनमा जिफान जुटिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

गुरुङ फिल्मी क्षेत्र अझै पनि राज्यबाट विभेदमा परेको भन्दै अधिकार प्राप्तिका लागि एकता, सचेततासहित दवाव दिनुपर्ने उनको जोड थियो । गुरुङ फिल्म कम्पनीहरुको विकास व्यवसायिकतासँगै जिफानको संस्थागत विकासका निम्ति विशेष ध्यान दिनुपर्ने प्रमुख अतिथि गुरुङको सुझाव थियो ।

कार्यक्रममा जिफानका पूर्वअध्यक्ष गिरीप्रसाद गुरुङ, पूर्व कानूनी सल्लाहकार कृष्ण कुमार गुरुङ, तमु कलाकार संघ गण्डकीका महासचिव टस बहादुर गुरुङ, जिफानका प्रथम उपाध्यक्ष गुञ्ज गुरुङ, कार्यबहाक महासचिव लबसन गुरुङ लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button