भीड छिचलेर मन परेको फिल्म हेर्दा आनन्द आउथ्यो : शम्भु थापा

पोखरा न्यूज । शम्भु थापाको कलाकारिता क्षेत्रको औपचारिक यात्रा २०५२ सालमा सञ्जय लामाले निर्देशन गरेको नाटक कठोर बाट भएको हो । उहाँले पोखराको गोल्डेन आई टेलिभिजनबाट प्रसारित टेलिसिरियल ‘कञ्जुस बुढो’मा निर्माता र कलाकारको रुपमा काम गर्नुभयो । विभिन्न वृत्तचित्र निर्माण समेत उहाँको सक्रियता रह्यो । उहाँले निर्देशन गर्नुभएको ‘जीवनको दोबाटो’ टेलिसिरियल गण्डकी टेलिभिजनबाट गरियो ।

थापाले केही म्युजिक भिडियो निर्देशन गर्नुभयो । उहाँ विभिन्न फिल्म तथा टेलिफिल्ममा कलाकारको रुपमा समेत देखिनुभयो । उहाँ स्पाइनी बेब्लर क्रियसन कम्पनीमा आवद्ध हुनुहुन्छ । यो कम्पनी मार्फत नेपाली फिल्म ‘धौली’ निर्माण गरिएको थियो । यही कम्पनीले अहिले ‘हुक्का’ फिल्म निर्माण गर्दैछ । जुन फिल्मको निर्देशन थापाले गरिरहनुभएको छ । फिल्मको छायाकंन सकिसकेको छ । थापासहितको टिमले लामाचौरमा हिमाज सिनेमाहल सञ्चालन समेत गरेको छ ।

मिजासिलो स्वभावका थापाको जन्म पोखरा महानगरपालिका वडा नम्बर १८ ग्यारजातीमा भएको हो । उहाँले शिक्षण पेशा समेत गर्नुभयो । सरकारी तथा बोडिङ स्कूलमा गरी झण्डै १० वर्ष काम गरेको अनुभव उहाँसँग छ । त्यतिमात्र नभएर उहाँ स्टेशनरी व्यवसायमा सम्लग्न हुनुभयो भने पर्यटन व्यवसायी समेत उहाँ क्रियाशील हुनुहुन्छ । निर्माणाधीन फिल्म ‘हुक्का’लाई उत्कृष्ट बनाउन मेहनत गरिरहेका थापा निरन्तर फिल्मी क्षेत्रमा अगाडि बढ्ने बताउनुहुन्छ । यसपाली हामीले थापासँग केही फिल्मी क्षेत्रसँग सम्बन्धित प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?
म धेरै फिल्म हेर्छु ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

मेरो फिल्म हेर्न मुख्य माध्यम हल हो । हल बाहेक टिभी र युट्युब मार्फत घरमा समेत फिल्म हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

फिल्म हेर्न हलमा नै रमाइलो लाग्छ । घरमा हेर्दा हलको जस्तो अनुभूति मिल्दैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

भीडलाई छिचलेर टिकट काउण्टरबाट टिकट काटेर मन परेको फिल्म हेर्दा बढी आनन्द आउथ्यो ।

हलमा हेरेको पहिलो फिल्म ?

हलमा हेरेको पहिलो फिल्म हिन्दी फिल्म ‘मुद्दत’ हो ।

मनपर्ने फिल्मी कलाकार ?

मलाई मनपर्ने कलाकार राजेश हमाल हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली कला, संस्कृतिको जगेर्ना गर्नु, रोजगार र हाल नेपाली बिषय बस्तुमा फिल्म बन्दै जानु सकारात्मक पक्ष हो । यसका अलावा गुणस्तरमा उपलब्धिमुलक तरिकाले सुधार हुँदै गर्दा देशलाई पनि आर्थिक उन्नतिलाई टेवा पु¥याउनु समेत सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?

नेपाली फिल्ममा सुधार गर्नुपर्ने पक्ष भनेको आफ्नै माटोको कथामा अध्ययन गरेर कथा चयन गर्नु हो । यसो गर्न सके नेपाली फिल्मको महत्व बढ्नेछ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

फिल्म हेर्दा अभिनय गर्ने रहर धेरै लाग्थ्यो, सोही कारण हलमा फिल्म हेरेपछि घरमा अभिनयको नक्कल समेत गरिन्थ्यो ।

हुक्का फिल्म मार्फत निर्देशनमा डेब्यु गर्नुभएको छ, निर्देशनको अनुभव कस्तो हुँदैछ ?

निर्देशकको रुपमा काम गर्दा चुनौती र जिम्मेवारी एकदमै ठूलो हुने रहेछ । फिल्म निर्देशन सजिलो कुरा होइन, एकदम गाह्रो हुन्छ, अझ मैले त बाहिर व्यवस्थापन हेर्नुपर्ने, निर्देशन गर्नुपर्ने, आर्थिक पाटो सहित सबै जिम्मा समेत हुँदा गाह्रो थियो । तर तालमेल मिलाइरहेको छु । टिम एकदमै मिलेको कारण सहजता भइरहेको छ । किनकी सबै सहयोगी भावनाका छौँ । एक अर्कामा सहयोग गर्छौ । प्राविधिक टिमले राम्रो सहयोग गरिरहनुभएको छ । टिम वर्कले सजिलो भएको छ ।

तपाईंले देखेको सपना ?

सबैभन्दा पहिला ‘हुक्का’ फिल्म सफल बनाउने र पोखराबाटनै वर्षको एउटा फिल्म निर्माण गर्ने योजना मसहितको टिमको रहेको छ । मेरो व्यक्तिगत सपना भन्नुपर्दा सफल निर्माता बन्ने सपना मेरो हो । फ्रन्टमा अरुलाई राखेर निर्माताको रुपमा काम गर्ने मेरो रहर हो । बाहिरबाट आफूले सहयोग गर्दा फिल्म राम्रो बन्छ भन्ने मलाई लाग्छ ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

ओझेलमा परेका तर गहन बिषय बस्तुमा नेपाली फिल्म बनाउने हाम्रो ब्यानरको चाहना रहेको छ । यसकै प्रयास स्वरुप फिल्म हुक्का मार्फत गाउँघरमा हुने घटनालाई जस्ताको तस्तै पस्कन खोजेका छौँ । असहज परिस्थितिमा पनि सहज तरिकाले फिल्म छायाँङकन सकिएको छ, अब सम्पादन लगायतका काम हामी गर्दैछौ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button