मुस्ताङको धम्पुस पीक आरोहण गर्न पोखराबाट व्यवसायीसहितको टोली त्यसतर्फ प्रस्थान

पोखरा न्यूज । हिमाल आरोहणका गतिविधि बढाउन प्रवद्र्धनात्मक कार्यक्रम अन्तरगत सोमबार पर्यटन व्यवसायीसहित २६ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सहभागी २६ मध्ये १० जनाले मुस्ताङको ६ हजार १२ मिटर उचाईको धम्पुस पीक आरोहण गर्ने आयोजक संस्था नेपाल पर्वतारोहण संघ गण्डकीले जनाएको छ । उत्तः टोलीलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बिहान विदाई गर्नुभएको हो ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गर्न लागिएको हिमाल आरोहण प्रवद्र्धन कार्यक्रमले गण्डकी प्रदेशको पर्यटनको समृद्धि र विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ । नेपाल सरकारले नेपाल पर्वतारोहण संघलाई २७ वटा हिमचुचुरा आरोहणको व्यवस्थापनको जिम्मा दिइसकेको विदाई अवसरमा बताइएको थियो । विदाई कार्यक्रममा गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री विकास लम्सालले समेत सहभागिता जनाउनुभएको थियो ।

हिमाल पारीको जिल्ला मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले हिमाल आरोहणसंगै कोरोनाको कारण सिथिल बनेको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्तगर्नुभयो । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले प्रदेशका हिमालहरुमा आरोहणका गतिविधि बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

आरोहण टोली सोमबार मुस्ताङको मार्फा पुग्ने र दुई दिनमा पाँच हजार मिटर उचाईको याकखर्कको फेदीहुँदै बेसक्याम पुगेर दुई दिन आधारभूत तालिममा सहभागी हुने छ । माघ ३ गते शनिवार धम्पुस पीक आरोहण गर्ने कार्यक्रम रहेको छ । आठ दिनको उक्त आरोहण कार्यक्रम अन्तर्गत कूल २६ जनाको टोलीमध्ये दुई महिला सहित ९ जना व्यवसायी र एक जना सञ्चारकर्मी गरी १० जनाले हिमाल आरोहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button