पोखरा न्यूज । संगीतकर्मी कृष्ण गौतमको जन्म कास्की जिल्लाको पोखरामहानगरपालिका वडा नम्बर २८ कालिकाको काफलघारीमा भएको हो । बुबा ठाकुरप्रसाद गौतम र आमा सावित्री गौतमको सन्तानको रुपमा जन्मनुभएका उहाँमा बाल्यकालदेखिनै गीत संगीतमा रुचि थियो ।
उहाँको सांगीतिक क्षेत्रमा औपचारिकता यात्रा भने २०६८ सालमा ‘झम्के साँझ’ गीतबाट भयो । उहाँको आवाजमा हालसम्म करिब एक सय गीत रेकर्ड भइसकेको छन् । ती मध्ये झण्डै ९० गीत श्रोतामाझ बजारमा आइसकेका छन् । उहाँले बढी भजन गीत गाउँनुभएको छ । उहाँका हालसम्म भजन मात्रै ३० गीत बजारमा आइसके ।
गौतम राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको अध्यक्ष हुनुहुन्छ । यसैगरी ॐ कारेश्वर शिबालय सेवा समितिको सचिव, पुष्पाञ्जली भजन समूहको अध्यक्ष, अलिमिया बाङ्यमय प्रतिष्ठान कार्यसमिति सदस्य, राष्ट्रिय हिन्दू परिषद गण्डकी प्रदेशको महासचिब पदमा रहेर उहाँले सांगीतिक तथा सामाजिक क्षेत्रमा रचनात्मक सहयोग गर्दै आउनुभएको छ । यसपाली उहाँसँग सांगीतिक क्षेत्रको बारेमा केही प्रश्न सोधेका छौँ ।
तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
गाउँमा हुर्केको हुँ । गाउँमा आमाहरुसँग बसेर रत्यौली र बुबाहरुसँग बसेर भजन गाउँदै सुरु भयो मेरो सांगीतिक यात्रा । औपचारिकता भने २०६८ सालमा पहिलो लोकगीत ‘झम्के साँझ’बाट सुरु भएको थियो ।
कस्ता गीत गाउन मनपर्छ ?
मलाई बिशेषत भजन र रत्यौली गीत गाउन मन पर्छ । सोही कारण मेरा त्यस्तै खालका गीत बजारमा आएका छन् ।
बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
अहिले जस्तो मोबाइल टिभी हुन्थेन, एफएम रेडियोमा गीत सुनिन्थ्यो । रमाइलो कुरा के छ भने रेडियो लागि एक हप्ता भरि चिठी तयारी गर्थे । अनि पोखरा आएर सबै एफएम रेडियोमा चिठी दिन्थे । त्योबेला रेडियोमा नाम आएमात्रै पनि संसार नै जितेको भान अर्थात खुशी भइन्थ्यो । आफन्तले फलानाको नाम त रेडियोमा आएको थियो भनेर चिया गफ गर्थे । ती दिन सम्झदा रमाइलो लाग्छ ।
तपाईलाई मनपर्ने गायक तथा गायिका ?
मलाई मनपर्ने गायक बम बहादुर कार्की र गायिका लक्ष्मी न्यौपाने हुनुहुन्छ ।
सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
गाह्रो छ, तर यहीं पेशामा लागेर हरेक कुरामा सफल हुनेहरु समेत हुनुहुन्छ । उहाँहरुलाई हेर्दा कमाइ राम्रै छ भने जस्तो लाग्छ । ठ्याक्कै भन्दा गीत चलेका कलाकारहरुलाई गाह्रो छैन । बर्षौ दुःख गरेर गीत निकाल्यो तर गीत चलेन भने उनीहरुलाई गाह्रो छ । पछिल्लो समयमा मेलामहोत्सब सञ्चालन भएका छैनन् । मेला महोत्सव लगायतका स्टेज कार्यक्रम नहुँदा कलाकारको आम्दानी घटेको छ । केही कलाकारलाई दैनिकी चलाउननै समस्या परेको छ ।
तपाईले देखेको सपना ?
मैले ठुलो सपना देखेको छैन । बस् कलाकारिता क्षेत्रमा निरन्तर लागेर कलाको माध्यमबाट आफ्नो नाम चिनाउन पाउँ भन्नेनै हो ।
नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?
नेपाली संगीतबजार सकरात्मक पक्ष भनेको यो बजार खुल्ला छ । पहिला जस्तो गीत गाउन स्वर परीक्षा पास गर्नुपर्ने बाध्यता अहिले छैन । रहर भए कलाकार बन्न पाइन्छ । निरन्तरता दिन, यहीं क्षेत्रमा लागेर जीवन चलाउन भने निकै मेहनत गर्नुपर्छ । मेहनत गर्ने तथा प्रतिभा भएको कलाकारलाई दर्शक श्रोताको माया मिलिहाल्छ यो सकारात्मक पाटो हो ।
नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
मुख्य कुरा भनेको आजकल गीत संगीतमा खोजी छैन, अरुको शैली चोर्ने प्रचलन छ । जुन गीत चल्यो त्यसैको सिको गर्दै निकाल्ने होडबाजी देखिन्छ यसलाई सुधार गर्नुपर्छ । मौलिक गीतलाई महत्व नदिने परिपाटीको अन्त्य हुनुपर्छ । छोटो समयमा भाइरल हुने उद्देश्यले भन्दा कालजयी बन्ने खालका गीतलाई दर्शक श्रोताले समेत सर्पोट गर्नुपर्छ ।
आफूमा निखारता कसरी थप्दै आउनुभएको ?
औपचारिक रुपमा गायन क्षेत्रमा आउँदा म काँचो थिए । अहिले काम गर्दै सिक्दैजाँदा खारिदै गएको छुँ । सिक्न धेरै बाँकी छ । हिजो गीत गाउँदा स्केल के हो, रिदम के हो थाहा थिएन । बाजा बजाउन आउनेथिएन । अहिले केही मात्रामा सुधार हुँदैछ । निरन्तरको परिश्रमले अझै निखारिने आशा छ ।
संगीत क्षेत्रबाट पाएको कुरा ?
मैले पाएको भनेको नाम, इज्जत नै हो ।
संगीत क्षेत्रबाट गुमाएको कुरा ?
संगीतमा लाएको कारण केही गुमाएको जस्तो त लाग्दैन ।
अबका योजना के छन् ?
हाल आफ्नो कलाकारिता यात्रासँगै आफु नेतृत्वमा रहेको संस्थालाई जसरी हुन्छ सफल बनाउने योजना मैले बनाएको छुँ ।
अन्तमा के भन्नुहुन्छ ?
निरन्तर सांगीतिक कोसेली पस्कने छुँ । दर्शकको साथ सर्पोट पाइनै रहुँ । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी मार्फत कलाकारको हकहितको लागि कल्याणकारी कोष स्थापना र प्रदेश कमिटीको भवन बनाउने अभियानमा छौँ । भवनको आगामी बैशाख महिनामा शिलान्यास गर्ने लक्ष्य छ । संस्था मार्फत सधै कलाकारको हकहीतको लागि काम गर्नेछु ।