बागलुङ स्थित धौलागिरि अस्पतालका चिकित्सक आन्दोलित

पोखरा न्यूज । धौलागिरि अस्पताल बागलुङका चिकित्सक आन्दोलित बनेका छन् । अतिरिक्त समयमा काम गरेको सुविधा नपाएको जनाउँदै उनीहरु आन्दोलित भएका हुन् ।

सरकारले तोकेभन्दा बढी समय काम गर्न लगाएर अस्पताल प्रशासनले चिकित्सकको श्रम शोषण गरेको भन्दै दबाबस्वरुप अन्दोलनमा जानु परेको डा गणेश चालिसेले बताउनुभयो । चिकित्सकले आज अस्पतालको प्रशासन शाखा अघि बिरामी जाँचेर आफ्ना मागको सुनुवाइका लागि दबाब दिएका छन् ।

सरकारले तोकेको भन्दा बढी समय काम गर्न नसक्ने र आकस्मिक काममा लगाउँदा अस्पताल व्यवस्थापनले सेवा सुविधा थप गर्नुपर्ने चिकित्सकको माग रहेको छ । हप्तामा पाँच दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बिरामी जाँच गरे आफूहरुको काम पूरा हुने भए पनि अस्पताल प्रशासनले २४ घण्टा काममा लगाउने गरेको उहाँको भनाइ छ ।

“हामीलाई तोकिएको काम गर्छौं तर यहाँ २४ घण्टा काम गर्नुपर्छ, आराम गर्ने समयसमेत चिकित्सकले पाउँदैनन्”, अस्पतालको नाक कान घाँटी रोग विभागमा कार्यरत डा गणेश चालिसेले भन्नुभयो । एउटा विभागमा एक जना मात्रै चिकित्सक हुँदा अन्तरङ्ग र बहिरङ्ग दुवै सेवामा खट्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

अस्पतालमा अहिले १५ जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अफिसर छन् । उनीहरुले चिकित्सकका मागको सुनुवाइका लागि भन्दै एक दिन अस्पताल प्रशासन धर्ना कार्यक्रम गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button