संसद विघटन गरेर प्रधानमन्त्रीले कलंकको टिका लगाएः प्रचण्ड

पोखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले कलंकको टिका लगाएको टिप्पणी गर्नुभएको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहको काठमाण्डौ भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान विपरित जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा विघटन गरेर ओली इतिहासमा नै कलंकित हुन पुगेको बताउनुभएको हो । पटक पटक पार्टी फुटाउने प्रयास असफल भएपछि ओलीले संसद विघटन गरेको आरोप प्रचण्डले लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले आफनो निर्णयलाई राजनीतिक निर्णय भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिदै आएको उल्लेख गर्दै ओलीकै ‘जोकरपन’को पछाडि लागेर निर्णय भए मुलुकमा ‘आँधीहुरी बतास’ आउने चेतावनी दिनुभयो । ओलीले पार्टीले काम गर्न नदिएर संसद विघटन गरेको भन्दै झुट बोलेर जनतामा भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप प्रचण्डले लगाउनुभयो ।

अध्यक्ष प्रचण्डले अध्यादेश ल्याएर र नेकपा एमालेको पार्टी दर्ता गराउन लगाएर पार्टी फुटाउने प्रयास गरेका ओलीले संसद विघटन गरेर “घर मै आगो” लगाईदिएको दाबी गर्नुभयो । संसद विघटन गरेर ओलीले इतिहासमा नै कलंकको टिका लगाएको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “घरमै आगो लगाई दिनुभयो । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गर्ने काम गर्नुभएको छ । उहाँले बाजी हार्नुभयो । उहाँले लडाई हार्नुभयो । जब उहाँले लोकतन्त्रमाथि प्रहार गर्नुभयो र संविधानमाथि आक्रमण गर्नुभयो । उहाँले लडाई हार्नुभयो । जतिबेला विदेशीको इसारामा फेरि एकचोटी नेपाल राष्ट्रको अस्मितामाथि प्रहार गर्ने जमर्को गर्नुभयो । त्यसकारण मैले भनेको छु इतिहासमा अब केपी ओलीले कलंकको टिका लगाउनुभयो । यो मेटिदैन । ”

प्रचण्डले प्रधानमन्त्री ओलीलाई “पोलिटिकल जोकर”को संज्ञा दिनुभएको छ ।
उहाँले भन्नुभयो “नौटंकी प्रहसन भइरहेको देख्नुभएको छ । यो विक्षिप्त मानसिकताको उपज हो कि जस्तो लाग्छ । कहिलेकाही साथीहरु विक्षिप्त भएछन् कि भन्ने डर लाग्छ उनीहरुको तर्क सुन्दा । कहिलेकाही साथीहरु जोकरमा परिणत हुनुभएछ क्यारे जस्तो लाग्छ । पोलिटिकल जोकर । जोकर जस्तो लाग्छ । ४ सय ४१ जनाको केन्द्रीय समिति, सय जना जुटेर ११ सय जनाको केन्द्रीय समिति बनायौ भन्ने यो नौटंकी नभए के हो यो ? यो नेपालमा प्रहसन देखाउन खोजेको नभए के चाँहि हो यो ?”

केन्द्रीय समितिको दुई तिहाई वहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने विधानमा नै लेखिएको भन्दै उहाँले सय जनाले विधान संशोधन गरेर ओलीले नाटक गरेको आरोप लगाउनुभयो । पार्टीको विधान निर्वाचन आयोगमा नै दर्ता भएको र दुई तिहाई बहुमत विना विधान संशोधन कसैले गर्न नसक्ने र दलसम्बन्धी ऐनमा ५० प्लस केन्द्रीय समिति संख्या भएको नै आधिकारिक पार्टी हुने भएकाले आफुहरु नै आधिकारिक भएको दोहोर्याउनुभयो । सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति आफुहरुलाई भरोसा रहेको तर उनीहरु पनि ओलीको राजनीतिक जोकरपनको पछाडि लागे भने मुलुकमा ठूलो आँधी हुरी आउने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो पार्टीको नाम र चुनाव चिन्ह सुर्य हाम्रै हुनेछ । म यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु । यदि त्यसो भएन भने यहा कयामत आउँछ । यहाँ आँधी हुरी बतास आउँछु । केपी ओलीले संविधान मिचे जस्तै गरेर, केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको मुटु माथि छुरा प्रहार गर्या जस्तै यदि अरु संबैधानिक निकायहरुले पनि त्यही गर्न थाले भने यो देश यी नेपाली जनता हेरेर बस्न सक्छन् ? आँधी हुरी बतास आउँछ । ”

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई ढाँटछलका कुरा गर्न “दुध भात खाए” जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “बिहान ११ बजे बामदेव जीलाई बोलाउनुभएछ र अबको अध्यक्ष तपाई नै हो कमरेड । प्रधानमन्त्री नि अब तपाई नै हो । मैले अरु देखिन भन्नुभएछ । उही दिन १ बजे माधव कमरेडलाई बोलाएर तपाई नै अभिभावक हो हाम्रो । तपाई उभिदिन पर्यो । अब अध्यक्ष पनि तपाई नै हो । प्रधानमन्त्री पनि तपाई नै हो भन्नुभएछ । ४ बजे म गएको, मैले त एमाले भित्र नेता नपाएर तपाईलाई ल्याएको भन्नुभयो मलाई । कस्तो सकेको हो के ? सकेको देखेर ताजुब मान्छु के उहाँलाई त ढाडढुट गर्न दुध भात खाए जस्तो के ।”

विगतमा पनि आफुहरुलाई ढाँट्दै आएका ओलीले आफु भागेर अरुलाई भगौडा भन्ने गरको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “हामीलाई भगौडा भन्नुभएछ । लाजैमर्दो । ७२ प्रतिशत केन्द्रीय भगौडा अनि ३० प्रतिशत पनि नभएको त्यो रैथाने । आधिकारिक त्यस्तो पनि कहीँ हुन्छ त्यो केपी ओलीको दिमाग भन्दा बाहिर ? जहिले नि बैठक बस्नु पर्यो भनेर जाँदा जहिले पनि भाग्ने अनि उहाँ भगौडा नहुने ? बैठकबाट जहिले पनि भाग्ने । हामीले निर्णय अनुसार केन्द्रीय समिति बैठक बस्दा हामी चाँही भगौडा हुने ? ”
उहाँले ओलीमा लाज घिन हराएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “पछिल्लो बैठक केपी ओली समेतको सहमतिको केन्द्रीय समितिको बैठक हो । त्यो बैठक छोडेर विधान मिचेर, संविधान मिचेर, निर्ममतापुर्वक, बडो निरंकुश ढंगले तानाशाही रुपमा पार्टिलाई लात हानेर भाग्ने चाही भगौडा नहुने । अनि हामी निर्णय अनुसार बैठक बस्दा हामी भगौडा हुने । मान्छेमा अलिकति लाज घिन चाँही हुनु पर्छ के । मान्छेमा अलिअलि लाज नैतिक हुनुपर्छ नि । निर्रघिणी हुनुहुन्न क्या । हाम्रो केपी जी त निर्रघिणी । झुटो कुरालाई हो के हो के भन्या जस्तो पार्न सक्ने क्षमता चाही केपीमा रच । त्यो त हुदै आएको थियो । ”

दाहालले पार्टीले काम गर्न दिएन भनेर झुटो बोलेको भन्दै प्रधानमन्त्रीलाई त्यसको प्रमाण पेश गर्न चुनौति दिनुभयो । पार्टीले काम गर्न दिएन भनेर ओलीले दिउँसै रात पारेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “पार्टीले के को घेराबन्दी गर्यो ? उहाँले प्रमाण सहित भन्नु सक्नुहुन्छ ? पार्टीले सरकारबाट उहाँले गर्न खोजेको कुन काममा बाधा हाल्यो ? एउटा मात्रै प्रमाण दिनुहोस् । म केपी ओलीलाई चुनौति दिन चाहन्छु यो मञ्चबाट । एउटा प्रमाण । पार्टीको यो निर्णयले पार्टीका यी नेताहरुले मलाई यो काम गर्न खोज्दा दिएनन् भनेर एउटा प्रमाण पेश गर्न म चुनौति दिन चाहन्छु केपी ओलीलाई । बरु पार्टीले यसो गरौ भन्दा त्यो नगरीकन उल्टो उल्टो गर्या हुनाले बिग्रेको हो भनेर म स्पष्ट राख्न चाहन्छु । ”

कोरोना महामारी सुरु भएका बेला महामारीलाई नियन्त्रण गर्न केन्द्रदेखि तल्लो तहसम्म संयन्त्र बनाउँ भन्दा आफ्नो सुझावलाई व्यंग्य गर्दै हिडेको उल्लेख गर्दै उहाँले सरकार स्वंयम स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारमा मुछिएको बताउनुभयो । अध्यक्ष दाहालले आफ्नै सहकर्मी साथीहरु कै विश्वास जित्न नसकेर प्रधानमन्त्री ओली सबै कोणबाट अल्पमतमा पर्दै गएको बताउनुभयो । ओलीले अरुलाई दोषारोपण गर्नुभन्दा एकपटक आत्मसमीक्षा गर्नुपर्ने तर्क दाहालले गर्नुभयो । उहाँले भन्नुभयो “आफू अल्पमतमा परेपछि देश भाडमा जाओस् भन्ने पनि नेता हुन्छ ? देश र सिस्टम प्रति जिम्मेवार हुनु पर्दैन ? पार्टीलाई विश्वासमा लिने जिम्मेवारी ओलीको होइन ? माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम संगै काम गरेपनि उनीहरुको विश्वास जित्न किन नसकेको ? एकचोटी ऐनाको अगाडि आफ्नो अनुहार राम्रोसंग हेर्न पर्दैन केपी ओलीले ? ”

लोकतन्त्रको ‘क ख रा’ भनेको बहुमत नै भएको भन्दै दाहालले बहुमतलाई ओलीले पनि मान्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “त्यही प्रचण्ड जसले संविधान बनाउने बेलामा संविधान बनाउँ म तपाईलाई प्रधानमन्त्री प्रस्ताव गर्छु भनेर पहिलोचोटी प्रधानमन्त्री प्रस्ताव गर्यो त्यही प्रचण्ड पार्टी एकता र गठबन्धन गरौ तपाईलाई प्रधानमन्त्री मै प्रस्तावित गर्छु भनेर गर्यो त्यही प्रचण्डलाई यति साह्ै खेद्नुपर्ने कारण के पर्यो ? ”

भारतले भनेर संसद भंग गरेको हो ?

अध्यक्ष दाहालले भारतको इसारामा संसद भंग गरेको हो भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभएको छ । भारतीय गुप्तचरसंगको अपारदर्शी भेटघाट जनतामाझ छर्लङग भएको भन्दै उहाँले विगतमा ‘भारत र साथीहरुले मलाई प्रधानन्त्रीबाट हटाउन खोजे’ भन्ने प्रधानमन्त्रीले अहिले भारतले भनेर संसद भंग गर्नुभएको हो ? भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिले त नाङै देखिएको छ नि । विदेशी शक्ति केन्द्र आएर उहाँलाई के के मन्तर सुनाए । उहाँले त्यो मन्तर सुन्नुभयो । अस्ति भर्रखरै तपाईहरुले हेर्नुभयो नि जी न्युजको इन्टरभ्यु । त्यो पनि नाटकै हो । नाटक हो भन्ने कुराको पटाक्षप आज भईसक्यो । अब एभरेष्टको नाम फेर्ने रे । त्यही जी न्युजले । यो के नाटक देखिदैछ तपाई हामीले ? असारको स्थायी समितिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ । मेरा साथीहरुले पनि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो । हामीले हटाएनौ त्यतिबेला । भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौ नि त हामीले । अनि उहाँले अहिले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्या ? सारा जनताले देखे बुझे । यसलाई के भन्नुहुन्छ केपी जी ? मेरो प्रश्न तपाई यसलाई के भन्नुहुन्छ ? ”

लोकतन्त्र र राष्ट्रहित विपरित संसद विघटन गरेर प्रधानमन्त्री ओलीले “आईएम त स्टेट” भन्दै संबै संबैधानिक निकायलाई आफु अनुकुल निर्णय गराउन उद्ध्त रहेको आरोप अध्यक्ष दाहालले लगाउनुभएको छ । पार्टीभित्र र संसदमा आफ्नो समर्थन गुमाएपछि ओलीले अस्वभाविक ढंगले वक्तव्यवाजी गर्न थालेको आरोप उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो “सचिवालयमा बहुमत छैन उहाँको । स्थायी र केन्द्रीय समितिमा दुई तिहाई बहुमत उहाँको विरुद्ध छ । सांसदहरुको वहुमत उहाँको विरुद्ध भईसकेपछि त म भएत हेर्नुहोस् देख्ने वित्तिकै राजीनामा दिईहाल्थेँ । त्यो लोकतन्त्रको हितमा हुन्थ्यो । राष्ट्रको हितमा हुन्थ्यो । मैले छोड्नु पर्यो भने कुर्सी सुर्सी भाँचेर छोड्छु । हामीलाई लागेको थियो कुर्सी मात्रै भाँचियो भने त अर्को बनाउला भन्ने लागेको थियो । संविधान नै भाँचकुच । संघीय लोकतान्त्रिक गणतन्त्र नै भाँचकुच गर्ने अनि राष्ट्र नै भाँचकुच गर्ने स्थिति आयो । अझै उहाँ हासी हासी भन्नुहुन्छ । देश र संविधान वरबात भईरहेका बेला ,संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा परिहेका जितेको विजेता जस्तो गरि खुसी भएर । उहाँको नृत्यलाई ताण्डव नृत्य जस्तो लागेको छ । भांङ खाएर नाचेको जस्तो के ।”

आफ्नो निर्णय राजनीतिक भएको र राजनीतिक निर्णयलाई अदालतले मान्नुपर्छ भन्दै हिडेका ओलीमा निरंकुश र तानाशाही प्रवृति हावी हुदै गएको टिप्पणी दाहालले गर्नुभयो । उहाँले भन्नुभयो “मेरो राजनीतिक निर्णय हो अदालतले मान्नुपर्छ । निर्वाचन आयोगले मैले भनेपछि मान्नुपर्छ । उहाँको सबै अभिव्यक्ति सर्वोच्च पनि केही होइन । निर्वाचन आयोग पनि केही होइन । संविधान पनि केही होइन । संघीय लोकतान्त्रिक गणतन्त्र पनि केही होइन । पार्टी पनि केही होइन । बहुमत पनि केही होइन । म नै सबैथोक हो । आई एम त स्टेट । तानाशाहहरुले निरंकुशहरुले संसारभर भन्ने गरेको यही नै हो । ”
तानाशाही र निरंकुश हुने भुत सवार भएपछि मान्छेले आफुलाई नहेर्ने र आफ्नो आत्मआलोचना नगर्ने तथा आफु ध्वस्त नहुदा सम्म निहुँ खोजिरहने प्रवृत्ति देखिने भन्दै उहाँले ओली पनि पतनको बाटोमा हिडेको दाबी गर्नुभयो । ओलीले पटक पटक पार्टी फुटाउन खोज्दा झुकेर आफुले जोगाएको स्मरण गर्दे अब भने लड्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “कमिलाको प्वाँख उम्रिएपछि सिद्धिन्छ भन्छन् । उहाँको कमिलाको प्वाँख उम्रेको देखेको छु मैले । उहाँको धेरै महिना जानेवाला छैन । नेपाली जनताले छोड्नेवाला छैनन् । हामी छोड्नेवाला छैनौ । उहाँ गणतन्त्र विरोधी हो भन्दैमा नेपाली जनता गणतन्त्र विरोधी होइन् । पार्टीका सवै नेता कार्यकर्ता गणतन्त्र विरोधी होइनन् । उहाँ गणतन्त्र विरोधी हो भन्ने हामीलाई थाहा छ । नेपाली जनतालाई पनि थाहा छ । सच्चिए होलान् कि सच्चिएलान् कि भनेको । के को हुन्थ्यो कुकुरको पुच्छर ? जति तेल लगाए पनि बांङगाको बाङगै भयो । हामीले त कम तेल त लगाईएन । सबै भन्दा बढी तेल त मैले नै लगाएँ होला यो तीन बर्षमा । खुरु खुरु जे भन्छन् मान्दिदा खेरी राम्रो हुन्छ कि भन्दै मान्दै । पोहोर साल देखि ३ पटक पार्टी फुटाउन खोज्दा झुकेर जोगाएको ।”

प्रचण्डले प्रधानमन्त्री ओली नै जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति भएको दाबी गर्नुभयो । पार्टी एकताको समयमा राजनीतिक प्रतिवेदन छाप्न ओली तयार नभएको तथा समाजवाद उन्मुख जनताको जनवादमा सही गर्ने पहिलो व्यक्ति नै उहाँ भएको तर्क दाहालले गर्नुभयो । उहाँले भन्नुभयो “जबज मदन भण्डारीको भुमिकालाई पनि स्थापित गर्नुपर्छ भनेर लेख्ने हामीहरु नै हौ । जबज छोड्ने पहिलो व्यक्ति केपी ओली हो । तपाईहरु कोही भ्रममा नपर्नुहोला । अहिले भ्रम दिन खोजेका छन् उनीहरुले । पार्टी भनेको विचार र विधि हो । अहिले त जनताको बहुदलिय जनवाद भन्न खोज्नुहुन्छ , जनताको बहुदलिय जनवादलाई हटाएर समाजवाद उन्मुख जनताको जनवादमा सही गर्ने पहिलो व्यक्ति को ? केपी ओली । उहाँलाई अब यो बोल्ने कुनै बैचारिक, राजनीतिक र नैतिक अधिकार छैन भन्ने छ मेरो दाबी । उहाँ हो छोड्ने । ”
ओलीले पार्टीको विचार र विधिको सही लाईनबाट भड्किएका,े कम्युनिष्ट र समाजवाद मननपर्ने र उदार समाजवाद र पूँजीवाद मन पर्ने बताउनुभयो । एमालेजति एक हुनुपर्ने भन्ने अभियान चलाएकाले कतिपयलाई भ्रम श्रृजना भएको भन्दै उहाँले ओली भित्र कम्युनिष्टको विचार र सिद्धान्त नभएको दाबी गर्नुभयो ।

उहाँले ओली सुरु देखि नै नेपाल खेमालाई सिध्याउने र पछि आफुलाई सिध्याउने रणनीतिमा लागेको दाबी समेत गर्नुभयो । माधव कुमार नेपाल ओलीको गलत निर्णयको विरुद्ध सतिसाल भएर उभिएकाले आफुमा नेता नेपाल प्रति सम्मान बढेको बताउनुभयो । उहाँले ओलीको तानाशाही निर्णय विरुद्धको संघर्ष पार्टी भित्रको अन्र्तर संघर्ष पनि भएकाले विचार, विधि र समाजवादको आर्दश तर्फ अगाडि बढ्नेगरि पार्टीलाई एकताबद्ध गर्ने बाटोमा एकजुट हुन कार्यकर्तालाई आव्हान गर्नुभयो । उहाँले आफै भित्रको अवसरवादका विरुद्ध संघर्ष गर्न तयार रहेमात्रै ओलीको अवसरवादी निर्णय विरुद्ध लड्न सकिने भएकाले त्यसका लागि तयार रहन पनि उहाँले सबैलाई निर्देशन दिनुभयो ।
लाखौ जनता सडकमा नउत्रिईकन प्रतिगमन नसच्चिने भन्दै उहाँले सडक संघर्षका लागि तयार रहन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । हरेक उपलब्धि र आन्दोलनमा काठमाण्डौको भूमिका प्रमुख रहदै आएको स्मरण गर्दे उहाँले यसपटक पनि निर्णायक ढंगले आन्दोलनमा लाग्न सबैलाई आव्हान गर्नुभयो ।

आफ्नो सम्बोधन भरी प्रधानमन्त्रीको आलोचनामा खर्चेका दाहालले कमेडी शो गर्न नभई संविधान र लोकतन्त्र धरापमा परेकाले त्यसको रक्षाका लागि उपस्थित भएको भन्दै ओलीलाई व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो “संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र यसरी आक्रमणमा परेको छ । हामी उखान टुक्का भनेर कमेडी शो गर्न नि उपस्थित भएका छैनौ । हामी मानिसहरुलाई दिग्भ्रमति पार्ने , उद्धेलित पार्न पनि जुटेका होइनौ । हाम्रै पार्टीको , हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट , हाम्रै पार्टीले हिजो अध्यक्षमा निर्वाचित गरेको व्यक्तिबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ र त्यो प्रहारको सामना गर्न हामी यहाँ उपस्थित भएका छौ । हामी ठूलो बलिदानीबाट प्राप्त उपलब्धि एम्बुसमा परेकाले र त्यसबाट बचाउनका लागि छलफलमा जुटेका हौ ।
उहाँले पार्टी एकताको तयारी बिना नै पार्टी एकता भएको भन्ने टिप्पणी सही नभएको स्पष्ट पार्नुभयो । ‘पर्याप्त तयारी नभईकन गरेको एकताका कारण यस्तो समस्या आएको हो कि ?’ भन्ने विश्लेषण सही नभएको भन्दै उहाँले यथेष्ठ छलफल भएको र विचार र निर्देशक सिद्धान्त बारे स्पष्ट रुपमा किटान गरिएको प्रष्ट पार्नुभयो । विचारमा ध्यान नदिईकन हतारमा पार्टी एकता नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button