नेपालको रंगमञ्च अब पुन : जाग्ने

पोखरा न्यूज । कोरोना भाइरसको महामारीका कारण ठप्प भएको नेपालको रंगमञ्च अब पुनः जाग्ने भएको छ ।

माघ एक गतेबाट लगातार १० दिनसम्म नेपालका विभिन्न थिएटरले गतिविधि गर्दै नेपाली रंगमञ्चलाई जगाउन खोजेका हुन् । थिएटरको हबको संयोजनमा ‘सँगसँगै रंगमञ्च’ भन्दै नेपालका रंगकर्मीले नयाँ उत्साह थप्न खोजेका छन् । जसका लागि विभिन्न आठवटा कार्यक्रम गरिने तय भएको हो ।

माघ १ गतेबाट माघ ९ गतेसम्म हुने कार्यक्रम अन्र्तगत माघ १ गते शिल्पी थिएटर काठमाण्डौँमा ‘६ पात्रको एकालाप’ नाटक दिउँसो ४ बजे मञ्चन गरिने भएको छ । घिमिरे युवराजको लेखन निर्देशनमा तयार भएको यो नाटक माघ १० गतेसम्म लगातार मञ्चन हुनेछ । माघ २ गते ‘हराउँदै भेटाउँदै’ शीर्षकमा प्लेब्याक थिएटर साँझ कौसी थिएटर काठमाण्डौमा साँझ ५ बजे हुने भएको छ । माघ ४ गते झोराहट थिएटर विराटनगरमा ‘कोरोना टाइम्स’ नाटक बिहान ८ बजे मञ्चन गरिनेछ ।

यसैगरी माघ ५ गते आरोहण गुरुकुल विराटनगरमा ‘नयाँ नाटकको नमूना मञ्चन तथा छलफल कार्यक्रम’ दिउँसो ३ बजे हुने तय भएको छ । माघ ६ गते पोखरा थिएटरमा साँझ ५ बजे ‘नाटक महोत्सव’ घोषणा कार्यक्रम हुने भएको छ । माघ ७ गते दिउँसो ३ बजे मण्डला थिएटर काठमाण्डौमा ‘कोरोना अघि र पछिको रंगमञ्च र अबको बाटो’ संवाद कार्यक्रम हुनेछ । शैली थिएटर काठमाण्डौले माघ ८ गते बिहिबार दिउँसो १ बजे ‘शैली संवाद’ कार्यक्रम गर्दैछ । माघ ९ गते थिएटर मल कीर्तिपुर रंगमञ्चमा ‘पोयट्री पटरी रंगकर्मीका कविता’ कार्यक्रम दिउँसो २ बजे हुने भएको छ ।

यसरी नेपालका विभिन्न थिएटर तथा रंगकर्मीले रंगमञ्चीय गतिविधिसँगै रंगमञ्च कोरोना कहर अगाडिकै अवस्थामा दौडिने लागेको सन्देश दिन खोजेका छन् । हुनपनि कोरोना कहर अगाडि नेपालमा रंगमञ्चको माहोल बन्दै थियो । रंगमञ्चीय गतिविधि एक ठाउँमा मात्र गरेर हुने कुरा हैन ।

सामाजिक रुपान्तरणका लागि देशभरै रगंकर्म हुनुपर्छ । जुन माहोल सुरु भएको थियो । काठमाण्डौ बाहिर महोत्सव हुन थालेका थिए । त्यो ‘स्पीड’ रोकियो । देशभरि छरिएर रहेका रंगकर्मीले सामुहिक रुपमा नाट्य गतिविधि सम्बन्धी तालिका सार्वजनिक गरेकोले अब पुरानै स्पीडमा रंगमञ्चीय क्रियाकलाप हुने आशा बढाएको छ ।

त्यसो त  कोरोनाको कहर अगाडि नयाँ पुस्ताको चासो रंगक्षेत्रमा देखिन थालेको थियो । नेपालको समसामयिक रगंकर्मको स्थिति गतिशील र बिस्तारित भएका भएको थियो । फलस्वरुप नेपालमा रंगमञ्चप्रति मानिसको चासो बढेको छ । माघ १ गतेबाट शुरु हने गतिविधिले नेपाली रंगमञ्च क्षेत्रमा नयाँ उर्जा थप्ने रंगकर्मीको विश्वास छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button