संगीत क्षेत्र अहिले प्रयोगको थलो बनेको छ: एम डि काफ्ले

संख्यात्मक भन्दा केही गुणात्मक कामहरु गर्ने योजना छन्

पोखरा न्यूज । गायक एम डि काफ्लेको जन्म स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ थाउनुङ्गमा भएको हो । उहाँको सांगीतिक यात्राको औपचारिक शुरुवात २०६९ सालबाट भएको हो ।

एल्बम धुनमा समाबेश ‘रुने मन’, राष्ट्रिय गीत ‘मेरो देश’, तिम्रो आँखामा, सजिएको रंगीन, फूललाइ सोध, तोरी लाहुरे आदी गीत मार्फत उहाँले बेग्लै छाप छोड्न सफल हुनुभएको छ । शब्द प्रधान आधुनिक गीत उहाँको पहिलो रोजाइँमा पर्छन् ।

कवि तथा गीतकार तीर्थ श्रेष्ठको रचना, संगीतकार रोम तामाङको संगीत, संगीतकार किरण कंडेलको संगीत संयोजनमा ‘टाढा कतै’ बोलको गीत उहाँको आवाजमा छिट्टै बजारमा आउने तयारीमा छ । उहाँलाई मन परेका र अब्बल शब्द र संगीतमा तयार भएका गीतहरु बिभिन्न कारणले त्यसै थन्किएका छन । विस्तारै ती गीत समेत पस्कने योजना काफ्लेले बनाउनुभएको छ । यसका अलावा उहाँ रंगकर्मतर्फ समेत अगाडि बढ्न खोजिरहनु भएको छ ।

उहाँ संगीत प्रशिक्षण केन्द्र, बिन्ध्यवासिनी पोखराको महासचिव, पोखरेली युवा सांस्कृतिक परिवारको संगीत संयोजक तथा आदर्श इन्टरप्राइजेज प्रा.लि. पोखराको कार्यकारी निर्देशकको जिम्मेवारीमा समेत हुनुहुन्छ । यसपाली एम डि काफ्लेसँग सांगीतिक यात्राका बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईंको सांगीतिक यात्रा कसरी शुरु भयो ?

२०६९ सालतिर पोखराकै पुरानो र चर्चित एउटा एफ एममा गायन प्रतिस्पर्धात्मक कार्यक्रम भएको थियो । फोनबाट सहभागी भई महिनाको अन्तिममा फाइनलको लागि रेडियोको स्टुडियोमै आउनुपर्ने थियो । सो कार्यक्रम बिन्ध्यवासिनीमा रहेको संगीत प्रशिक्षण केन्द्रले प्रायोजन गरेको रहेछ । प्रथम पुरस्कार ३ महिने निःशुल्क संगीत सम्बन्धी प्रशिक्षण थियो । त्यही कार्यक्रमको एउटा श्रृखलामा प्रथम भएपछि संगीतसँग औपचारिक रुपमा जोडिएको हुँ भन्ने लाग्छ ।

 कस्ता गीत गाउन मनपर्छ ?

बिधागत हिसाबले भन्नुपर्दा शब्द प्रधान आधुनिक गीत नै पहिलो रोजाइँ हुन् । शब्द, संगीत र गायन तिनवटैको उत्कृष्ट समानान्तर मिश्रण भएका गीतहरुनै पहिलो रोजाइँमा पर्छन् । कार्यक्रमहरुमा आवश्यकता अनुसार लोक, फिल्मी, पप, हिन्दी सबै खाले गीत गाउने गरिन्छ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?

मौलिक गीत संगीतहरु बिहे, पूजा, रोधी, चाडपर्वहरुमा गाइने भजन, रत्यौली, तीजगीत, भैलोदेउसि, सालैजो, लोकगीत, असारेगीत आदि नै सुन्ने गाउने गरियो । झण्डै गाउँभरिमै एउटा रेडियो थियो घरमा । कामको सिलसीलामा घरबाहिर अलि टाढा जांदा समेत रेडियो बोकेर हिड्ने बानि थियो । शर्टवेभ र मिडियमवेभ फ्रिक्वेन्सिमा रेडियो नेपाल क्षेत्रीय र केन्द्रीय प्रशारणबाट मात्र नभएर गीतहरु बजिरहेको भारतीय रेडियोका माध्यमबाट समेत गीतसंगीत सुनिन्थ्यो ।

तपाईंलाई मनपर्ने गायक तथा गायिका ?

धेरै नै हुनुहुन्छ । खासमा मलाई सबै गायक गायिका मन पर्छ । सबै गायक गायिकाले गाउनुभएका सबै गीत मन नपर्न सक्छ, त्यो फरक कुरा हो । प्रभावितको हिसाबले स्वरसम्राट नारायणगोपाल, भजन शिरोमणि भक्तराज आचार्य, गुलाम अलि, कर्णदास, दीप श्रेष्ठ, राज सिग्देल, तारादेवी, अरुणा लामा, अन्जु पन्त, मेलिना राई आदि अब्बल लाग्छ । 

तपाईंको    सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?

सकिन्छ, तर व्यवसायिक हिसाबले संगीतमा लाग्ने र योगदानका हिसाबले सक्ने जति गरेर सन्तुष्टि लिने कुराले भर पर्छ । पूर्णरुपमा संगीतमै समर्पित हुन पृष्ठभूमि मिल्नुपर्ने देखि कठोर मेहनत सम्मका कुराहरु छन् । मैले व्यक्तिगत रुपमा आफुलाई स्वतन्त्र राख्ने कोशिष गरेको छु ।

देखेको सपना ?

संख्यात्मक रुपमा थोरै हुन् तर संगीत बुझेको मान्छेले आत्मसात गर्ने खालको केही काम गर्न सकियोस् । सांच्चिकै यो क्षेत्रमा आफ्नो उपस्थिति जनाउने खालको कामहरु गर्ने सपना छ । भौतिक सुःख सुविधाका साधन जोड्ने सवाल मात्रैका लागि भन्दापनि कलाको पूजा गर्न सकियोस भन्ने चाहना छ, हेरौं के हुन्छ ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?

मौलिक संगीतकालागि नेपाल उर्वर भूमि हो । कला संस्कृतिका लागि नेपाल धनी भएकै कारण यहाँका धेरै सांस्कृतिक सम्पदा विश्वमै नमूना छन् । तिनै सम्पदा र श्रष्टाहरुको अथक प्रयासले यहाँ प्रशस्त अब्बल गायक, संगीतकार र रचनाकारहरु जन्मिनुभएको छ । संघर्षरत नयाँ पिँढीलाइ प्रेरणाको कमि छैन ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?

संगीत क्षेत्र अहिले प्रयोगको थलो बनेको छ । भाइरल हुने रहर र लोकप्रियताको भोकले गर्दा यो क्षेत्रमा विकृतिले पनि प्रश्रय पाउने अवस्था देखिएको छ । प्रबिधिको बिकासले काम गर्न सहज तथा नयाँ–नयाँ प्रयोग भैरहेको भएपनि रोयल्टी संकलन र ब्यबस्थापनमा चुनौति बढेको छ । प्रभावकारी तरिकाले यि बिषयलाई नियमन गर्नुपर्ने हो कि ।

आफुमा निखारता कसरी थप्दै आउनुभएको ?

नियमित स्वराभ्यास मुख्य कुरा भैहाल्यो । श्रुतिअभ्यास पनि एउटा तरिका हो । जसले राम्रो सृजना सुनेर सिक्न मद्दत गर्छ किनकी भनाइ नै छ ‘असल प्रस्तोता बन्नकालागि असल श्रोता बन्नु जरुरी छ’ । समय मिलेसम्मको सांगीतिक संगत, अभ्यास र निरन्तरतालेनै आफुमा निखारता थपिने विश्वास राख्छु ।

संगीत क्षेत्रबाट पाएको कुरा ?

धैर्यता, सकारात्मक उर्जा र आशावादी बन्ने प्रेरणा पाएको छुँ ।

संगीत क्षेत्रबाट गुमाएको कुरा ?

घमण्ड, निराशा, केही आफन्तहरुका अपेक्षा (हाँस्दै)

अबका योजना के छन् ?

कोभिडको कारण अवस्था अलिक असामान्य बनेकोले धेरै महत्वाकांक्षी योजनाहरु बनाउन सकिएको छैन । संख्यात्मक भन्दा केही गुणात्मक कामहरु गर्ने योजना छन् । आवाजमा मात्रै ध्यान दिने भन्दा साजबाजतिर दक्खल राख्नुपर्ने महशुस भएको छ, त्यसकालागि धेरै मेहनत गर्नु छ ।अर्को कुरा रंगकर्मतर्फ समेत क्रियाशील हुने जमर्को ‘शुरुवातमै झरी’ जस्तो भएको छ । त्यसलाईपनि समेट्ने प्रयास जारी रहन्छ ।

अन्तमा के भन्नुहुन्छ ?

कोरोनाले विश्व आक्रान्त छ । आशा गरौं छिट्टै यो महाप्रकोपबाट मुक्ति पाइयोस् । कलाक्षेत्रले फेरी पुरानै गति लिन सकोस् तर लय अलि नयाँ होस् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button