बागलुङका पाँच विद्यालयमा नर्सिङ सेवा शुरु

पोखरा न्यूज । बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नर्सिङ सेवा शुरु गरिएको छ । विद्यालयमा स्वास्थ्य परीक्षण र सचेतना प्रदान गर्ने उद्देश्यले बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नमूना परीक्षणका लागि नर्सिङ कार्यक्रम शुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखासँगको समन्वयमा बागलुङ नगरपालिकाले पाँच विद्यालयमा एक महिनादेखि नर्सिङ सेवा प्रदान गर्न थालेको छ । विद्यालयमा आउने स्वास्थ्य समस्या, सचेतना, स्वास्थ्य शिक्षा र वातवरणीय शिक्षाका लागि विद्यालयमा नर्सिङ कार्यक्रम शुरु भएर सेवा प्रदान गर्न थालएको हो ।

विद्यालयमा अध्ययनरत किशोरीका लागि सेनेटरी प्याडको प्रयोगलगायत विषयमासमेत शिक्षा प्रदान गरिनेछ । पाँचवटै विद्यालयमा एक एक जना स्टाफ नर्स नियुक्ति भएर विद्यालयमा हाजिर भइसकेको नगर स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले विद्यालयस्तरबाटै स्वास्थ्य सचेतता प्रदान गर्दा विद्यार्थीको परिवार, विद्यालय र समाजमा स्वास्थ्य सचेतना पु¥याउन सकारात्मक प्रभाव पार्ने बताउनुभयो । गण्डकी प्रदेशमा नै नमूनाका रुपमा बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नर्सिङ कार्यक्रम शुरु भएको बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले जानकारी दिनुभयो ।

“विद्यालयमा नर्सले स्वास्थ्य शिक्षा र प्राथमिक उपचार गर्नेछन्” उहाँले भन्नुभयो, “विद्यार्थीलाई स्वास्थ्यप्रति जागरुकता, वातावरण तथा सरसफाइ र सामान्य उपचारको व्यवस्था गर्दा निकै सहज हुन थालेको छ ।” बागलुङ नगरपालिकाभित्रका विद्यामन्दिर, रुद्रेपिपल, गणेश, बौडेचौर र तितौरे माध्यामिक विद्यालयमा नर्सिङ तथा स्वास्थ्यसेवा कार्यक्रम शुरु भएको छ ।

नर्ससहित विद्यालयमा आवश्यक औषधि र सामान्य उपकरणको व्यवस्थासमेत गरिएको छ । उनीहरुले सरसफाइ, प्राथमिक उपचार, कान, आँखा परीक्षण, कुपोषण भए नभएको जानकारी दिने र जनचेतना फैलाउनेछन् । विद्यालयको भौगोलिक अवस्था, विद्यार्थीको सङ्ख्या अधिक तथा स्वास्थ्य सेवा टाढा रहेको जस्ता सूचकका आधारमा पहिलो चरणमा पाँच विद्यालय छनोट गरिएको महाशाखाको अस्पताल नर्सिङ शाखाले जनाएको छ । शाखाका अनुसार छात्राको महिनावारी हुँदाको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचारसम्मको व्यवस्था नर्सले गर्नुहुनेछ । स्टाफ नर्सले विद्यार्थीको तौल तथा उचाइका आधारमा वृद्धि र विकास भए नभएको जानकारी अभिभावकलाई दिने र त्यस सम्बन्धी आवश्यक सल्लाह र सुझावसहित जानकारी दिनेछन् ।

नेपालमा भर्खरै मात्र विद्यालयस्तरबाटै स्वास्थ्य सचेतना तथा सामान्य औषधि उपचारका लागि शुरु भएको नर्सिङ स्वास्थ्यसेवा प्रदेश नम्बर १, २ र ३ ले केही स्थानीय तहका विद्यालयमा नमूनाका रुपमा लागू गरिसकेका छन् । स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको बागलुङ नगरपालिकामा उक्त कार्यक्रम शुरु गरिएका हो । नर्सिङ स्वास्थ्य सेवाले स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेका विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममार्फत स्वस्थ रहनका लागि आवश्यक खानपान, ब्यायाम, औषधि उपचार सेवालगायत विषयमा जानकारी गराइने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button