गण्डकी प्रदेशका ४ जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण

देशभरका थप २० स्थानमा स्टेशन निर्माण गरियो

पोखरा न्यूज ।  गण्डकी प्रदेशका ४ जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको छ । सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा प्रदेशका लमजुङ र  मुस्ताङ तथा जापान सरकारको सहयोगमा स्याङ्जा र म्याग्दी जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरेको हो ।

विसं २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि चीन, जापान र थाइल्याण्डको सहयोगमा जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको हो ।

चीन सरकारको सहयोगमा १० स्थानमा  जापान सरकारको सहयोगमा  ८ स्थान र   थाइल्याण्डको रायम्स कम्पनीको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरेको भूगर्भ विभाग भूकम्प मापन तथा भूकम्पीय जोखिम मूल्याङ्कन शाखाका प्रमुख भरतप्रसाद कोइरालाले  जानकारी दिनुभयो ।

त्यस्तै अन्य स्थानहरुमा चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, डोल्पा, मुगु, बाजुरा, दार्चुलालगायत जिल्लामा, जापान सरकारको सहयोगमा सिन्धुली, बारा, चितवन, नवलपरासी, कपिलवस्तु, रोल्पा तथा रायम्सको सहयोगमा महोत्तरी र दाङमा स्टेशन निर्माण गरिएको छ । गोरखा भूकम्पअघि नेपालका २२ स्टेशनले मात्र भूकम्प मापन गर्दै आएकामा अहिले २० स्टेशन थपिएसँगै ४२ स्टेशन पुगेका छन् । विस २०३७ सालमा ललितपुरको फूलचोकी डाँडामा पहिलो भूकम्प मापन स्टेशन निर्माण गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले भूकम्प मापन स्टेशन निर्माण भएसँगै देशभर जाने भूकम्पको डाटा मापन गर्न सहज हुने बताउनुभयो । “भूकम्प मापन गर्ने धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पसमेतको मापन गर्न सहज भएको छ”, उहाँले भन्नुभयो । नेपाल हिमालय हिमश्रृङ्खलामा रहेको मुलुक भएकाले पनि यस क्षेत्रमा अन्य क्षेत्रको तुलनामा धेरै भूकम्प जाने गरेको केन्द्रले जनाएको छ ।

गोरखा भूकम्पसँगै नेपालमा चार रेक्टरभन्दा माथिका ५५० पराकम्पन गइसकेका छन् । यस्तै नेपालका पूर्वी तथा पश्चिमी क्षेत्रमा नयाँ भूकम्प जाने क्रम बढेको छ । हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतबाट देशरभरको भूकम्पका बारेमा जानकारी लिइँदै आइरहेकोे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button