सम्मान गरिएका पत्रकारसँग लोकदोहोरी कलाकारको गुनासो

लोकदोहोरी गायिका थापा, महासंघ कास्की अध्यक्ष श्रेष्ठ लगायत सम्मानित

पोखरा न्यूज । आफैले सम्मान गरेका पत्रकारसँग लोकदोहोरी कलाकारले गुनासो गर्नुभएको छ । पत्रकारिता मार्फत लोक दोहोरी क्षेत्रको बारेमा जनमानसमा सुसुचित गराउने अपेक्षाका साथ यसअघि सम्मान तथा पुरस्कृत गरिएका पत्रकारहरूले अपेक्षाकृत लोकदोहोरी क्षेत्रको बारेमा कलम नचलाएको तथा बोलाएका कार्यक्रममा उपस्थित समेत नहुने गरेको भन्दै उहाँहरूले गुनासो व्यक्त गर्नुभएको हो ।

शनिबार पोखरामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराद्वारा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह कार्यक्रममा बोल्दै प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका अध्यक्ष सुरेन्द्र गुरुङले लोकदोहोरी कलाकार र पत्रकारबिच सुमधुर सम्बन्ध हुने अपेक्षाका सम्मान गरे पनि सम्मानित भएपछि अपेक्षाकृत सर्पोट नपाएको गुनासो गर्नुभयो । ‘पत्रकारलाई सम्मान ग¥यो, न लोकदोहोरी क्षेत्रको बारेमा कलम चलाउँछन्, न बोलाएको कार्यक्रम मानै आउँछन्, यसमा हाम्रो गुनासो छ’ अध्यक्ष गुरुङले भन्नुभयो ।

अध्यक्ष : सुरेन्द्र गुरुङ

कार्यक्रममा नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट अग्रज लोकदोहोरी गायिका धनकुमारी थापालाई पुरस्कृत गरियो । यसै गरी तिर्थसागर सुबेदी स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष पत्रकार दीपेन्द्र श्रेष्ठ सम्मानित हुनुभयो । दुवै पुरस्कारको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको थियो ।

यसै गरी प्रतिष्ठान नेपाल गण्डकीले उत्कृष्ट कार्य गर्ने प्रतिष्ठानका जिल्ला शाखालाई पुरस्कृत गरेको छ । यसरी उत्कृष्ट जिल्लामा प्रथम गोरखा जिल्ला, दित्तीय कास्की, तृतीय स्याङ्जा र प्रोत्साहनबाट पर्वत तथा लमजुङलाई सम्मान गरिएको थियो । उच्च शिक्षा हासिल गर्ने सदस्य पदाधिकारीबाट वरिष्ठ उपाध्यक्ष पूर्ण परियार, सचिव राजन कार्की, प्रचार विभाग प्रमुख युवराज भण्डारी, दोहोरी गायिका मधु चापागाईँलाई सम्मान गरियो । यसै गरी कार्यसमिति मध्ये उत्कृष्ट वर्ष पुरुष दीपक पौडेल र उत्कृष्ट महिला अनिता पन्त घोषित हुनुभयो । करोड क्लबमा पुग्ने गीतबाट गायिका सरस्वती लामिछाने र सर्जक नकुल ढकाललाई सम्मान गरियो ।

यसै गरी भवन निर्माण तथा शिक्षा पुरस्कार कोष सहयोगी सल्लाहकार शेर बहादुर गुरुङ, महाधिवेशन तथा लोक सांस्कृतिक महोत्सवमा कुशलता पूर्वक स्वयंसेवकको भूमिका निर्वाह गर्ने दीपक पौडेल, ईश्वर सिंह, जीवन कार्की, नारायण सुनार, दीपक गदाल, रचित पौडेल, बज्र बिराज अधिकारी र विनोद रामदामलाई सम्मान गरियो । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ गण्डकीका नवनिर्वाचित अध्यक्ष सञ्जीव बहादुर कोइराला, सृजना विकास केन्द्रका नवनिर्वाचित अध्यक्ष इन्द्र पौडेललाई सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक गायिका प्राज्ञ हरिदेवी कोइराला, केन्द्रीय सचिव जीवन दाहाल, शङ्कर विरही गुरुङ, संरक्षक याम गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ गण्डकीका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले बोल्नुभएको थियो ।

प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पूर्ण परियारले स्वागत र सचिव राजन कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सोही कार्यक्रममा गायिका ज्योति लोहनीले गीत सुनाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button