हंशबाहिनीका उत्कृष्ट विद्यार्थी पुरस्कृत

पोखरा न्यूज । शुक्लागण्डकी-२ तनहुँस्थित हंशबाहिनी माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव एवम् ४९ औं अभिभावक दिवस विभिन्न कार्यक्रमकाबीच आज सम्पन्न भएको छ ।

अभिभावक दिवस एवम् वार्षिकोत्सवका अवसरमा २०७६ को वार्षिक परीक्षामा कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीका साथै विभिन्न विधामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् शुक्लागण्डकी नगरपालिका वडा नं २ का वडा अध्यक्ष जगतबहादुर गुरुङले विद्यालयको भौतिक विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिमा जोड दिदै उहाँले विद्यालयको समग्र विकासमा स्थानीय अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

विशिष्ट अतिथिका रुपमा बोल्दै शुक्ला गण्डकी नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत ज्योतिप्रकाश तिमल्सिनाले कोरोना कहरका कारणबाट विद्यालय आउन नसकेका विद्यार्थीका लागि नगरपालिकाले स्वअध्ययन सामाग्री वितरण गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रराज खनालले विद्यालयको उन्नति प्रगतिमा सबैको साथ र सहयोग अपरिहार्य हुने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालय निरन्तर कृयाशील रहेको बताउनुभयो ।

उक्त अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नं २ स्थित विद्यालयको नजिकै सञ्चालन हुँदै आएको नमूना बालविकास केन्द्रलाई नगरपालिकाको निर्णय अनुसार बालविकास केन्द्रका अध्यक्ष रामचन्द्र खनालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रराज खनाललाई हस्तान्तरण गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि ठाकुरप्रसाद खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत विद्यालयका शिक्षक कविराज खनालले गर्नुभयो । उक्त अवसरमा विद्यार्थीका तर्फबाट उषा पोखरेल, प्रतिज्ञा तिवारी र दीक्षा तिमल्सिनाले आ आफ्ना प्रस्तुति प्रस्तुत गर्नुभयो भने पूर्व शिक्षक माधवप्रसाद खनाल, विद्यालय व्यवस्थापन समितिका सदस्य धर्मप्रकाश तिमिल्सिना लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजेन्द्रप्रसाद खनालले स्थापना गर्नुभएको रुद्र–कोपिला-सुरेन्द्र छात्रबृत्ति कोष र पूर्व प्रधानाध्यापक खेमराज खनालले स्थापना गर्नुभएको रुद्र-कोपिला छात्रबृत्ति कोषबाट कक्षा ८, एसइई, कक्षा ११ र कक्षा १२ मा उत्कृष्ट छात्रछात्रालाई छात्रबृत्ति वितरण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button