समयमा काम सक्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कार

पोखरा न्यूज । अक्सर निर्माणका काम अलपत्र परेका, समयमा काम नसकिएकाले सर्वसाधारणले समस्या भोगेका र निर्माण व्यवसायी नै फरार भएका समाचार अखबारहरुमा आउँछन् । यस्तै समाचार सुनेका बागलुङका सर्वसाधारणले शनिबार निर्माण व्यवसायी सम्मानित र पुरस्कृत हुँदा जोडले ताली बजाए ।

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको देशकै लामो (५६७ मिटर) झोलुङ्गे पुल उद्घाटनको कार्यक्रम थियो । विसं २०७६ वैशाख १ गते पुलको शिलान्यास गर्नुभएका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले एक वर्षमा नै निर्माण सम्पन्न भएको पुलको उद्घाटन पनि आफैँ गर्दै हुनुहुन्थ्यो । शिलान्यासको समयमा निर्माण व्यवसायीलाई आफू बोल्ने समयमा प्रतिबद्धता व्यक्त गर्न लगाउनुभएका तिमिल्सिनाले उद्घाटनमा वाचा पूरा गरेको भन्दै निर्माण व्यवसायीलाई सम्मान र पुरस्कारसमेत दिनुभयो ।

शिलान्यासको समयमा निर्माणको जिम्मा लिएको थानी एण्ड हिमशिखर जेभीका प्रतिनिधि नरहरि खड्काले तोकिएको समयभन्दा छ महिना पहिला पुल निर्माणको काम सक्ने बताउनुभएको थियो । विसं २०७७ फागुनसम्म पुल निर्माणको अन्तिम मिति रहेको भए पनि वैशाखमा नै निर्माण सम्पन्न भएको थियो । खड्कालाई अध्यक्ष तिमिल्सिनाले रु ५० हजार नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । वाचा पूरा गरेर जनचाहनाअनुसारको काम गरेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।

समयअगावै तोकिएको मापदण्डको काम गरेको भन्दै लुम्बिनी फाउण्डेशनका निर्देशक नीरजगोविन्द श्रेष्ठले रु २० हजार पुरस्कार दिनुभयो । बागलुङ नगरपालिकाले कम्पनीलाई प्रशंसापत्रले सम्मान गर्यो । ठेकेदारलाई पुरस्कारभन्दा खान नपाउनेलाई दिएको भए हुन्थ्यो भनेर प्रश्नहरु आउलान् भन्दै तिमिल्सिनाले भन्नुभयो, “मैले प्रोत्साहनका लागि पुरस्कार दिएको हुँ, काम गर्नेको सम्मान जरुरी छ ।”

रु १२ करोड २२ लाख १८ हजारमा निर्माण सम्पन्न भएको पुल गत वैशाखदेखि नै सर्वसाधारणका लागि खुला गरिएको थियो । कोरोना भाइरस महामारीका कारण ढिला गरी यसको उद्घाटन भएको हो । पुरस्कार र सम्मानले आफूले जिम्मेवारी पाएका अन्य काम समयमा सक्ने जिम्मेवारी थपिएको खड्काले बताउनुभयो ।

यो पुल निर्माणपछि बागलुङको जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउमा पर्वतको पाङवासीलाई सहज हुनेछ भने आन्तरिक पर्यटकका लागि यो पुल अब बागलुङको पहिलो गन्तव्य बनेको छ । “निर्माण सम्पन्न भएपछि उद्घाटन र हस्तान्तरण नहुँदै हामीले खुला गरेका थियौँ, दिनहुँ सयौँ जना यो पुल हेर्न आउने गर्नुभएको छ”, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्नुहुन्छ, “छेवैमा रहेको कालिका, पञ्चकोट र कालीगण्डकी माथिको संसारकै लामो पुल पर्यटकको एउटा प्याकेज हो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button