महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

पोखरा न्यूज । महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । लमजुङ बेंसीशहर नगरपालिका– ८ फूलबारीमा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दर्ता भएका उजुरीमध्ये ९० प्रतिशत नै मिलापत्रमा मात्र सीमित हुने गरेको पाइएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार चार आर्थिक वर्षको २०७४।२०७५ देखि चालु आव २०७७।०७८ को साउदेखि पुस महिनासम्ममा १८४ घरेलु हिंसा सम्बन्धी प्रहरी कार्यालयमा दर्ता भएको छ । यीमध्ये ११६ वटा घरेलु महिला हिंसाका उजुरी मिलापत्र भएको छ भने २४ मात्र अदालती प्रक्रियामा गएको अर्थात् अदालतमा मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै ४४ उजुरीको भने काम भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुटपिट गरी घर निकाला गरिएको, शारीरिक यातना, शारीरिक तथा मानसिक, शारीरिकसँगै मानसिक यातना, आवश्यक खर्चसमेत नदिइ आर्थिक अभावमा पारेर यातना, आर्थिक यातना दिएकोलगायतका महिला हिंसाको उजुरी आउने गरेको छ । यी प्रहरी कार्यालयमा दर्ता भएका उजुरीमध्ये यस चालू आवको साउनदेखि पुस महिनासम्म ३२ वटा उजुरी दर्ता भएका थिए । सोमध्ये १७ वटा मिलापत्र भएको छ ।”

त्यस्तै छ मात्र अदालती प्रक्रियामा गएको छ भने नौको काम भइरहेको केन्द्रले जनाएको छ । गत आव २०७६।०७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६१ घरेलु महिला हिंसासम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । यी मध्ये ४५ उजुरी मिलापत्र भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । छ उजुरी अदालती प्रक्रियामा रहेको छ भने १० उजुरीको काम भइरहेको प्रहरीले जनाएको छ ।

आव २०७५।०७६ मा १२ सो सम्बन्धी उजुरी परेको थियो । यीमध्ये नौ मिलापत्र गरी टुङ्ग्याइएको छ । बाँकी तीन उजुरीका उजुरीकर्ता सम्पर्कमा नआएको केन्द्रले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७४।२०७५ मा ७९ उजुरी प्रहरीमा दर्ता भएको थियो । यी उजुरीमध्ये ४५ मिलापत्र गरी टुङ्ग्याइएको छ । बाह्र वटा अदालती प्रक्रियामा लगिएको थियो । बाइस वटा भने उजुरीपछि उजुरीकर्ता सम्पर्कमा नआएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शारीरिक, मानसिक, आर्थिक यातना दिएकालाई मिलापत्र गराएपछि त्यही पीडितको त्यस्तो समस्या नदेखिएको, खान, लाउन दिएको पाइएको छ । यस प्रहरी कार्यालयमा घरेलु महिला हिंसाका ठाडो उजुरीसमेत आउने गरेको छ । आव २०७४।०७५ देखि चालु आव को साउदेखि पुस महिनासम्ममा १९७ ठाडो उजुरी अर्थात् मौखिक उजुरी आएको प्रहरीले जनाएको छ ।

यीमध्ये पनि १४२ ठाडो उजुरी मिलापत्रमै सीमित बन्न पुगेको छ । पच्चीस उजुरी अदालती प्रक्रियामा अर्थात् मुद्दा दर्ता भएको छ भने ३० को काम भइरहेको केन्द्रले जनाएको छ ।

यी ठाडो उजुरी परेकामध्ये यस चालू आव को साउनदेखि पुस महिनासम्ममा १५ ठाडो उजुरी परेको छ । यीमध्ये ११ को मिलापत्र तथा एक अदालती प्रक्रियामा र तीनको काम भइरहेको जनाइएको छ ।
आव २०७६।०७७ मा १८ ठाडो उजुरी परेकामध्ये ११ को मिलापत्र एकको अदालती प्रक्रिया तथा छको काम भइरहेको केन्द्र प्रमुख अधिकारीको भनाइ छ । त्यस्तै आव २०७५।०७६ मा १२६ ठाडो उजुरी परेको थियो । प्रहरी कार्यालयको तथ्याङ्कअनुसार उक्त ठाडो उजुरीमध्ये ९१ को मिलापत्र भएको थियो भने २३ अदालती प्रक्रिया अर्थात् अदालतमा मुद्दा दर्ता भएको थियो । बाह्रठाडो उजुरीको काम भइरहेको केन्द्रले जनाएको छ ।

आव २०७४।०७५ मा ३८ ठाडो उजुरी परेको थियो । यीमध्ये २९ को मिलापत्र भएको थियो भने नौको काम भइरहेको केन्द्रले जनाएको छ । प्रहरी कार्यालयमा आएका उजुरीबाहेक जिल्लाको आठवटै स्थानीय तहको न्यायिक समितिमा परेका सोसम्बन्धी उजुरीसमेत मिलापत्र नै हुने गरेको पाइन्छ । सक्दो छलफल गर्दै विवाद मिलापत्र गराउने र कुरा मिल्दै नमिलेमा मात्र अदालत पठाउने गरेको न्यायिक समितिले जनाएको छ ।

पछिल्लो समयमा स्थानीय तहका न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलुहि‌साका आउने गरेको उक्त समितिले जनाएको छ । कुटपिट गरेको, महिला हिंसाका बारेमा खान लाउन नदिएको लगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक होमबहादुर विकले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button