प्रचण्ड-माधव पक्षीय विद्यार्थीको भेला

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्याउने डरलाग्दो षडयन्त्र भइरहेको बताउनुभएको छ ।

आइतबार प्रचण्ड-माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्याउने डरलाग्दो षडयन्त्र भएको बताउनुभएको हो । यस्तो षडयन्त्रको विरुद्ध आक्रमक आन्दोलन गर्नुपर्ने उहाँको भनाई छ । सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफूहरुले आशंका नगरेको भएपनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र, संविधान र जनादेशको विरुद्धमा उभिएको बताउनुभयो । ओलीले पहिलेदेखि नै गुटबन्दी गर्दै आएको बताउँदै सरकारमा गएपछि दक्षिणपन्थी अवसरवाद लागु गरी प्रतिक्रान्ति गरेको खनालले बताउनुभयो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता भीम रावलले विगतमा भएका विभाजनका श्रृङ्खलाहरुलाई समाप्त गर्नेगरी पार्टी एकीकरण भएको भएपनि एकीकरणले ओलीलाई प्रधानमन्त्री बनाउनुबाहेक केही हुन नसकेको टिप्पणी गर्नुभयो । ओलीले देशलाई स्थायित्व दिन आफैले गरेको हस्ताक्षरलाई आफैले निर्लज्ज रुपमा च्यातेर फ्याकेको बताउनुभयो । प्रचण्ड-माधव पक्षले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर संघर्षका कार्यक्रम गरिरहेका छन् भने विभिन्न जनवर्गीय संगठनहरुको भेलालाई पनि तीव्रता दिएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button