महाविद्यालयका रुपमा विकास गरिँदै वेद विद्याश्रम

पोखरा न्यूज । पशुपति क्षेत्रस्थित वनकालीमा रहेको नेपाल वेद विद्याश्रममा हाल २०९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय नौ विद्यार्थीका लागि आवासीय व्यवस्था गरिए पनि कोरोना भाइरसको सङ्क्रमण शुरु भएसँगै वेद विद्याश्रमको छात्रावास बन्द छ । कोरोनाका कारण बन्दाबन्दी भएका बेला विद्याश्रम बन्द गरिएको थियो । अन्य क्षेत्र खुला भएसँगै प्रशासन खोलेर अनलाइनमाध्यमबाट पठनपाठन शुरु गरिए पनि प्रभावकारी हुन नसकेको अध्यापकहरुको अनुभव छ ।

हाल कक्षा ४ देखि १२ सम्म पढाइ हुने विद्याश्रममा विसं २०७६ देखि ११ कक्षा शुरु भएको हो । हाल कक्षा ११ मा २२ र कक्षा १२ मा १७ विद्यार्थी अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक विष्णुप्रसाद पोखरेल बताउनुहुन्छ । संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र उत्तर वाहिनी गुरुकुलमा समेत गत वर्षदेखि कक्षा ११ को पढाइ शुरु भएको छ । उपत्यकाका यी तीन संस्थामा कक्षा ११ र १२ मा संस्कृत पढाइन्छ ।

विद्याश्रमलाई कोषले सञ्चालन गर्नुअघि गुठी संस्थानले चलाउने गरेको थियो । विसं २०५२ देखि २०५४ सम्म दुई वर्ष भने विश्व हिन्दू महासङ्घले विद्याश्रम सञ्चालन गरेको थियो । विसं २०५४ देखि २०५६ सम्म फेरि संस्थानले नै सञ्चालन गरेको जनाइएको छ ।

संस्थानले २७ जना विद्यार्थीका लागि आवासीय व्यवस्था गरेको थियो । विसं २०५५ मा पशुपतिनाथको दर्शनसहित नेपाल भ्रमणमा आउनुभएका काञ्चीकामाकोटी पीठका शङ्कराचार्य जयन्द्र सरस्वतीले पाँच विद्यार्थीका लागि आवासीय विद्यार्थी थप गरिदिनुभएको थियो ।

विसं २०५६ मा तीर्थराज आचार्यले पशुपति क्षेत्रमा लगाउनुभएको सोमयाग यज्ञबाट जम्मा भएको स्रोतबाट एक जना विद्यार्थीका लागि विद्याश्रमको आवासीय सुविधा थप गरिएको थियो । विसं २०६० मा बलबहादुर केसी संस्कृति मन्त्री हुँदा विद्याश्रममा एक जिल्लाको एक जना विद्यार्थीलाई आवासीय रूपमा छात्रावासमा राखी पढ्ने व्यवस्था गरिएको प्रधानाध्यापक पोखरेल बताउनुहुन्छ ।

विसं २०७६ देखि भने आवासीय विद्यार्थीको सङ्ख्या बढाएर १०९ पुर्याइएको छ । आवासीय विद्यार्थीको सङ्ख्या १०९ पुर्याएपछि कोरोनाका कारण १० महिनादेखि छात्रावास बन्द छ । कोषले विद्याश्रमलाई महाविद्यालयका रूपमा अघि बढाउने सोच अघि सारेको छ । यसका लागि विद्याश्रमका भवन जीर्णोद्धारसँगै बिस्तारसमेत हुन थालेका छन् । योग कक्षा, यज्ञशाला र कक्षाकोठा धमाधम निर्माण भइरहेको छ ।

पशुपति क्षेत्रस्थित वनकालीको ३१ रोपनी क्षेत्रफलमा फैलिएको विद्याश्रम नेपालमा वेदको औपचारिक पठनपाठन हुने महत्वपूर्ण शैक्षिक संस्था हो । यही विद्याश्रमकै कारण पाठ्यक्रम विकास केन्द्रले वेद विद्याश्रमको छुट्टै पाठ्यक्रम निर्माण गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक समेत छपाइ भइरहेको छ । यसबाट देशभर सञ्चालनमा रहेका करिब २०० गुरुकुललाई सहयोग पुगेको छ ।

विद्याश्रम पूर्वीय दर्शनको संरक्षणमा महत्वपूर्ण शैक्षिक संस्था भए पनि शिक्षक, कर्मचारीको वृत्ति विकासमा व्यवस्थापनले ध्यान नदिएको गुनासो हुने गरेको छ । विसं २०५६ देखि कार्यरत शिक्षक, कर्मचारीमध्ये विद्याश्रमका एक जना अध्यापकमात्र स्थायी र अरु करारमा नियुक्ति हुँदा शैक्षिक क्रियाकलापमा असर पुगेको छ । करारमा काम गर्दा अवसर पाउने बित्तिकै अध्यापक अन्यत्र जाने गर्नाले पठनपाठनमा समस्या आउने गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button