कास्कीमा सम्बन्धविच्छेद गर्ने घटे

६ महिनामा ३ सय ६२ थान सम्बन्धबिच्छेदका मुद्दा दर्ता

पोखरा न्यूज । कास्की जिल्ला अदालतमा गत साउन देखि पुस मसान्तसम्म ३ सय ६२ थान सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् ।

अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ६१ थानले कमी हो । आर्थिक वर्ष ०७६-०७७ को साउन महिनादेखि पुस महिनासम्म ४ सय २३ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको उहाँले जनाउनुभयो । आर्थिक वर्ष ०७५-०७६ को सोही अवधिमा सम्बन्धबिच्छेदका ४ सस ५४ थान मुद्दा दर्ता भएको अदालतको तथ्यांकबाट देखिन्छ । यसैगरी आर्थिक वर्ष ०७४-०७५ को पहिलो ६ महिनामा ३ सय २५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए ।

सूचना अधिकारी पनेरुका अनुसार अदालतमा फछ्यौट हुन बाँकी सम्बन्धविच्छेदका मुद्दाको संख्या २ सय ४८ थान रहेको छ । ‘लगाउका अन्य मुद्दा समेतका कारण केही मुद्दा समयमा फछर्याैट हुन सकेको छैन । हामीसँग अहिले फछर्याैट हुन बाँकी सम्बन्धविच्छेदका मुद्दा २ सय ४८ थान रहेका छन्, बाँकी रहेका मुद्दा २०७५ सालमा दर्ता भएका समेत छन्, कोभिडका कारण समेत फछ्यौटमा असर परेको हो’ पनेरुले भन्नुभयो ।

मुलुकी देवानी संहिता २०७४ अनुसार पतिपत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पतिपत्नीको सम्बन्धविच्छेद गर्न सक्नेछन् ।मुलुकी देवानी संहिता २०७४ को दफा ९४ अनुसार कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीलेपतिको अंगभंग हुने वा अरु कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पत्नीको मञ्जुरी नभएपनि पतिले सम्बन्धविच्छेद गर्न सक्नेछन् ।

यसैगरी दफा ९५ अनुसार कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिलेपत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अंगभंग हुने वा कुनै शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा, पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पतीको मञ्जुरी नभएपनि पत्नीले सम्बन्धविच्छेद गर्न सक्नेछिन् ।

सम्बन्ध विच्छेद गर्न चाहने पति पा पत्नीले अदालतमा निवेदन दिनुपर्छ । यसरी दिएको निवेदनमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउनुपर्नेछ । सम्झाई बुझाउँदापनि मेलमिलाप हुन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद गर्नु उपयुक्त देखेमा अदालतले निजको सम्बन्धविच्छेद गरिदिनुपर्नेछ । तर सम्झाई बुझाउदा उनीहरुको मञ्जुरी भएन भने दफा ९८ अनुसार एक वर्षपछि अदालतले सम्बन्धविच्छेद गराइदिनुपर्नेछ ।

यसैगरी कास्की जिल्ला अदालतमा यो आर्थिक वर्षको साउन देखि पौष मसान्तसम्मको अवधिमा कुल १ हजार २ सय ९४ थान मुद्दा दर्ता भएका छन् । यो अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा २ सय ९ थानले कम हो । अघिल्लो आर्थिक वर्ष ०७६-०७७ को साउन देखि पौष मसान्तसम्म १ हजार ५ सय ३ थान मुद्दा दर्ता भएको थियो । अहिलेको आर्थिक वर्षमा मुद्दाको संख्या घट्नुमा कोरोना महामारीका कारण अदालतको सेवा प्रवाहमा आएको संकुचनले भएको हुनसक्ने उहाँले बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button