केपी इमान्दार नहुँदा पार्टीमा समस्या आएको हो-प्रचण्ड

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका बेला गरिएका सहमतीमा केपी ओली इमान्दार नभएका कारण पार्टीमा समस्या आएको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित आफु पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दाखेरी तय गरिएको विचार र विधि पद्धतिको कार्यान्वयनमा प्रधानमन्त्री ओली इमान्दार नभएका कारण अहिलेको परिस्थितिको सिर्जना भएको बताउनुभएको हो । उहाँले पार्टीभित्र व्यक्तिगत र पदको लागि संघर्ष नभएको भन्दै विचार, विधि तथा पद्धतीको संघर्ष भएको बताउनुभयो ।

राजनीतिक प्रतिवेदन तथा पार्टीको विधान अनुरुप चले नचलको हेरेर को सहि र को गलत छुट्याउन उहाँले कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी एकताको बेलामा गरेको सहमती, समझदारी तथा निर्णयहरुको अतिक्रमण गरेपछि पार्टीमा समस्या शुरु हुन थालेको उहाँको भनाई छ ।

अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउने आफ्नो मनशाय भएको भएपनि प्रधानमन्त्री ओलीको शक्ति केन्द्रित गर्ने मनशाय मात्रै भएको जिकिर गर्नुभयो । ओलीले सबै सहमती किर्ते गरेका कारण प्रतिगामी सोच रहेछ भन्ने प्रमाणित भएको उहाँको भनाई छ । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेकोले आफुहरुले आधिकारिकता पाउने विश्वास व्यक्त गर्दै उहाँले आफुहरु जनताको अदालतमा जाने उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले आन्दोलनलाई निरन्तरता दिने बताउनुभयो । माघ १६ गतेपछि आम हड्ताल नै गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै उहाँले कार्यकर्तालाई तयार रहन निर्देशन समेत दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button