चिसो छल्न बालिएको घुरले ज्यान लिँदै

पोखरा न्यूज । चिसो छल्न बालिएको घुरबाट आगो सल्केर गत शनिबार सिरहाको बरियारपट्टि गाउँपालिका–१ का ८५ वर्षीया प्रयागीदेवी साहको मृत्यु भयो । घुरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर घाइते साहलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

त्यसको केही दिनअघि पुस २२ गते सिरहाको मिर्चैया नगरपालिका–७ मा एक नबालकको घुरको आगोमा जलेर मृत्यु भयो । मिर्चैया नगरपालिका– ८ का रसिद राइनको ८ वर्षीय छोरा जावीर राइनको आगोमा जलेर मृत्यु भएपछि गाउँमा रुवावासी नै चल्यो । यसअघि घुरकै आगोमा जलेर सप्तरीको राजविराज नगरपालिका बोरियाका ८५ वर्षीय वृद्धको मृत्यु भएको थियो । यसरी शीतलहर बढ्दै जाँदा घुर बालेर आगो ताप्ने क्रम बढेगै आगोमा जलेर मृत्यु हुनेको सङ्ख्या सिरहामा बढ्दै गएको छ ।

शीतलहरका कारण विगत एक महिनाको अवधिमा सिरहामा मात्रै तीनजनाको मृत्यु भएको छ भने १० जना आगोमा जलेर घाइते भई उपचार गराइरहेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । चिसोका कारण कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, मिर्चैया नगरपालिका–७ का ८ वर्षीय जावीर राइन र बरियारपट्टि गाउँपालिका–१ की प्रयागदेवी साहको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

गत पुसको दोस्रो सातादेखि हालसम्मको अवधिमा उहाँहरुको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताउनुभयो । तीनै जनाको घुरमा आगो ताप्ने क्रममा नै जलेर मृत्यु भएको उहाँको भनाइ छ । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर १० जना घाइते भएको र उहाँहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रजिअ कणेलले जानकारी दिनुभयो ।

“बढीजसो आगो ताप्ने क्रममा मानिसको मृत्यु भएको छ”, उहाँले भन्नुभयो, “जाडो महिनामा न्यानो हुन तराईमा घुर आगो ताप्ने चलन छ तर आगो ताप्दा सचेतता नअपनाएकै कारण धेरैजसोको ज्यान जाने गरेको छ ।” त्यसैले चिसो छल्न बालिएको घुरमा आगो ताप्दा होस पु¥याउनुपर्ने उहाँको भनाइ छ । अत्यधिक चिसो र शीतलहरबाट प्रभावित विपन्न, दलित परिवारका लागि घुर चिसो छल्ने माध्यम भए पनि आगो ताप्ने क्रममा सावधानी नअपनाउँदा आगलागीको घटनासमेत वृद्धि भएको छ । गत मङ्सिरको अन्तिम साताबाट चिसो क्रमशः बढ्दै गएको छ । चिसो छल्न बालिएको घुरबाट हालसम्म सिरहाको मिर्चैया, भगवानपुर, लहानलगायत आधा दर्जन स्थानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ती आगलागीका कारण करीब रु तीन करोडभन्दा बढीको धनमालको क्षति भइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताउनुभयो । “जिल्लामा भएका अधिकांश स्थानमा भएको आगलागीको प्रमुख कारण नै घुर हो”, प्रहरी नायब उपरीक्षक शर्माले भन्नुभयो, “बिहान र बेलुका गाईगोठमा घुर बाल्ने गर्छन् तर बिर्सेर आगो राम्ररी निभाउँदै, बिर्सेर अरू काममा व्यस्त हुँदा आगलागीको घटनाहरु हुने गरेको छ ।”

जिल्लाको अधिकांश स्थानमा भएको आगलागीको घटनाका प्रमुख कारण नै घुर हो । तर पनि यसको नियन्त्रण, जोखिम न्यूनीकरण र व्यवस्थापनमा भने खासै ध्यान दिएको पाइँदैन । घुरबाट हुने आगलागीमा परेर मृत्यु हुनेको यर्थाथ तथ्याङ्क नभएपनि यसबाट नेपालमा बर्सेनि धेरै मानिसले ज्यान गुमाउँछन्, सयौं घाइते र अर्बौंको क्षति हुन्छ । घरबाट हुने आगलागीकै कारण धेरै घरगोठ जलेर घर नष्ट हुने गरेका छन् भने यसबाट हुने क्षतिको अनुपात वार्षिक रूपमा करिब तीन गुणाले बढ्दै गएको अनुमान छ ।

साथै केटाकेटीले जथाभावी आगो खेलाउँदा पनि आगलागी हुने गरेको उहाँको भनाइ छ । घुर कसैका लागि चिसो छल्न आधार बन्दा कसैकसैका लागि अभिशाप बन्ने गरेको छ । त्यसैले चिसोको समयमा सही ढङ्गबाट घुर बाल्न र आगलागीको घटनामा कमी ल्याउन सरोकारवाला निकायहरुले जनचेतना जगाउनुपर्ने नागरिक समाजका रामानन्द गुप्ताले बताउनुभयो ।

“गाउँघरमा अझै यो विषयमा चेतना छैन, त्यसैले लापरबाही हुँदा एकै छिनमा अकल्पनीय घटनाहरु भइरहेका छन्”, उहाँले भन्नुभयो, “त्यसका कारण चिसोका मौसममा घुर बाल्दा के के कुरामा सावधानीहरु अपनाउने ? चिसोबाट कसरी जोगिने ? लगायतका विषयमा सरोकारवालाले नागरिकलाई सचेत बनाउनुपर्छ ।” अनि मात्रै वर्सेेनी हुने आगलागी र जलेर अनाहकमा हुने मृत्युको घटनामा कमी ल्याउन सकिने उहाँको कथन छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button