खेलाडी प्रोत्साहनका लागि मन्त्रालयद्वारा बजेट व्यवस्थापन गरिने

पोखरा न्यूज संवाददाता । युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताउनुभएको छ ।

मंगलबार ललितपुरमा आयोजित अखिल नेपाल फुटबल संघको १९ औँ एन्फा कंग्रेस(साधारण सभा) बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले मन्त्रालयले विगतका वर्षमा दिदैँ आएको तर हाललाई रोकिएर रहेको खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्तालाई मन्त्रालयले पुनः व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने बताउनुभएको हो । यसको सन्दर्भमा मन्त्रालय छिट्टै टुंगोमा पुग्ने उहाँको भनाई छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली खेलाडीहरुसँग योग्यता, क्षमता तथा सीप भएपनि व्यवस्थित प्रशिक्षणको अभाव रहेको बताउनुभयो । नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिलाउन सके खेल क्षेत्रमा उपलब्धि हासिल गर्न सकिने उहाँको भनाई छ । खेलाडीहरु फुट र विभाजनमा नलागी एकताबद्ध भएमात्रै फुटबल क्षेत्रले सफलता हासिल गर्न सक्ने उहाँले बताउनुभयो ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबललाई परिणाममुखी रुपले व्यवस्थित गर्नका लागि बजेटको आवश्यकता रहेको बताउनुभयो । बजेटको व्यवस्था मन्त्रालय तथा परिषद्ले गरिदिए नेपाली फुटबललाई चार वर्ष भित्र व्यवसायिकतातर्फ उन्मुख गराउने उहाँको भनाई छ । कोभिड-१९ को मारमा खेल क्षेत्र पनि उत्तिकै प्रभावित भएको छ । खेलाडी तथा खेल क्षेत्रका व्यक्तिहरुले खेल क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा फर्काउनको निम्ति सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताउने गरेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button