राजतन्त्रलाई पुर्नस्थापित गर्ने प्रक्रियामा केपी ओली अगाडि वढेका छन्– प्रचण्ड

पोखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रलाई पुर्नस्थापित गर्ने प्रक्रियाको सुरुवात भएको बताउनुभएको छ ।

मंगलबार आफू निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन गरी राजतन्त्रलाई पुर्नस्थापित गर्ने तथा देशलाई निरंकुशता तथा अराजकताको भूमरीमा लैजाने प्रक्रियाको सुरुवात गरेको बताउनुभएको हो । उहाँले यस कदमलाई हरमूल्यमा रोक्ने पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले ओलीले विदेशी शक्तिको विरोध गरेर राष्ट्रवादको नारा लगाएपनि तिनै विदेशीको लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरेको बताउनुभयो । ओलीको राष्ट्रवाद खोक्रो तथा सामन्ती राष्ट्रवाद रहेको उहाँको टिप्पणी छ । भेलामा सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले संसद विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताउनुभयो । प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उहाँले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले आफु प्रचण्डको कार्यकर्ता भनि ओलीले गरेको टिप्पणीको जवाफ दिदैँ ओरिजिनल एमाले केपी ओली नभई आफु भएको जिकिर गर्नुभयो । एकीकरण पछि एमाले तथा माओवादी पार्टी इतिहास भइसकेको भन्दै उहाँले अब ती पार्टी नब्युतिने बताउनुभयो । अध्यक्ष नेपालले लोकतन्त्र, गठतन्त्र, संघीयता, संविधान लगायतका राजनीतिक परिवर्तनहरु संकटमा परेको भन्दै गलत कामको विरुद्ध उभिनुपर्ने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button