बाल्यकालमा पैसा चोरी-चोरी फिल्म हेरिन्थ्यो : तारानाथ आचार्य

सानो छँदा फिल्ममा अभिनय गर्ने रहर धेरै हुन्थ्यो

पोखरा न्यूज । नेपाली लोक संगीतको क्षेत्रमा बेग्लै परिचय बनाएका व्यक्ति हुनुहुन्छ तारानाथ आचार्य । २०३६ सालमा अमलाचौर-६, बागलुङमा बुबा घनश्याम र आमा नन्दकला शर्माको कान्छो सन्तानको रुपमा उहाँको जन्म भएको हो । उहाँ बाल्यकालमा चञ्चले स्वभावको हुनुहुन्थ्यो । सानैदेखि लोक दोहोरी गीतप्रति रुचि राख्ने आचार्यको स्कूल तथा गाउँमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिइहाल्ने बानी थियो । त्यतिबेला उहाँले भजन समेत गाउनुुहुन्थ्यो ।

बाग्लुङबाट २०५८ पोखरामा झर्नुभयो । त्यसपछि उहाँले संगीतको बारेमा धेरै कुरा बुझ्ने मौका पाउनुभयो । संगीतको बारेमा जानकारी पाउँदा उहाँमा संगीतप्रति मोह बढेर गयो । फलस्वरुप २०५९ सालमा ‘आँखाबाट आँशु झर्यो नि’ गीत रेकर्ड गरी औपचारिक रुपमा नेपाली गीत संगीतको क्षेत्रमा यिनको यात्रा सुरु भयो । उहाँले २०६० सालमा लोक तथा दोहोरीगीत समावेश गरी ‘शंका लाग्छ झन्’ एल्बम बजारमा ल्याउनुभयो । त्यसपछि निरन्तर उहाँ सांगीतिक क्षेत्रमा अगाडि बढिरहनुभएको छ ।

उहाँका भजन गीतलाई समेत दर्शक श्रोताले रुचाएका छन् । उहाँले भारतको मन्द्रासमा गएर संगीत सिक्नुभएको थियो । यसका अलावा पोखराका विभिन्न संगीत पाठशालामा समेत संगीत सिकेर आफूमा निखारता थप्नुभयो । लोक दोहोरीगायन, शब्द संकलन तथा म्यूजिक एरेन्जमा उहाँको पृथक पहिचान छ । हाल उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । पोखराको डिजिटल स्टार रेकडिङ स्टुडियोको मेनेजिङ डाइरेक्टर समेत रहनुभएका उहाँसँग सांगीतिक क्षेत्र भन्दा भिन्न फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?
हेर्छु प्रायः ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

पहिला-पहिला सिनेमा हलमा हेरिन्थ्यो । अहिले बढी युट्युब मार्फत हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा हेर्दाको जस्तो मजा घरमा त कहाँ हुन्छ र, त्यहीपनि घरमा हेर्दा आफ्नो समयमा हेर्न पाइन्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

बाल्यकालमा पैसा चोरी-चोरी फिल्म हेरिन्थ्यो, पैसा चोरेर फिल्म हेरको हो भन्ने थाहापाएपछि बा–आमाको कुटाइ पनि त्यतिकै खाइन्थ्यो । त्यही हो बाल्यकालमा फिल्म हेर्दाको रमाइलो अनुभव ।

हलमा हेरेको पहिलो फिल्म ?

हलमा हेरेको पहिलो फिल्म नेपाली फिल्म ‘अन्याय’ हो ।

मनपर्ने फिल्मी कलाकार ?

मनपर्ने फिल्मी कलाकारमा श्रीकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ र राजेश हमाल हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ? 

समाजको कुरीति विकृति देखाउँछ, फिल्म हेरेपछि समाजका कुरीति विरुद्ध आवाज उठाउन सहयोग गर्छ । समाज परिवर्तनमा फिल्मले सघाउँछ ।

सुधार गर्नुपर्ने पक्ष ?

प्रविधीसँगै अहिले धेरै जसो नेपालीहरु साउथ इण्डियन फिल्महरु हेर्छन । किनकी साउथ इन्डियन फिल्म रिलिज हुनासाथ युट्युको ट्रेन्डिङमा आइहाल्छ । साउथ इण्डियन फिल्म जत्तिको क्वालिटीमा गहन विषयबस्तु उठाउन सक्ने हो भने नेपाली फिल्मप्रतिको आर्कषण बढ्नेछ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

सानोछदाँ फिल्ममा अभिनय गर्ने रहर धेरै हुन्थ्योे । र, मैले स्कूल पढ्दा अभिनय पनि गर्थे ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

नेपाली फिल्म र हाम्रो लोकदोहोरी गीत एउटै जस्तो लाग्छ, किनकी समाजको ऐना भनेकै फिल्म र लोक दोहोरी गीत हुन् । जहाँ समाजकै कथा हुन्छ । सबैले नेपाली फिल्म हेरौँ, नेपाली लोक दोहोरी गीत सुनौँ भन्छु । पछिल्लो क्रममा फिल्ममा समावेश गरिएका लोकशैलीका गीतलाई दर्शक श्रोताले रुचाउनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button