पोखरामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव हुँदै

उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गरिने

पोखरा न्यूज । पोखरा थिएटरको आयोजनामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव हुने भएको छ । गत वर्षदेखि पोखरा थिएटरले विद्यालय स्तरीय नाटक महोत्सव गर्न थालेको हो । यस पटकको दोस्रो संस्करणको विद्यालय स्तरीय नाटक महोत्सव हो । पहिलो संस्करणको महोत्सव पोखरा महानगरपालिका स्तरीय थियो । अब हुने महोत्सव भने गण्डकी प्रदेश स्तरीय हुनेछ । पोखरा थिएटरद्वारा आयोजित पत्रकार भेटघाटमा यसपाली प्रतिकूल समयका कारण महोत्सवको स्वरुपमा समेत केही परिवर्तन गरिएको वताइएको छ ।

पहिलो पटक भौतिक उपस्थितिमा आयोजना भएको उक्त महोत्सवमा पोखरा महानगरपालिका भित्र रहेका माध्यामिक तहसम्मका ९ विद्यालयको सहभागिता रहेको थियो । ‘महोत्सव आयोजनाको क्रममा गण्डकी प्रदेश सरकार,विद्यालय, अभिभावक, शिक्षाविद् तथा सरोकारवालाहरुबाट उत्साहजनक चासो, उत्सुकता र शुभेच्छा अभिव्यक्त भएका कारणले हामीले उक्त महोत्सवलाई यो वर्षबाट प्रदेश स्तरीय बनाउने निर्णय गरेका छौ’ पोखरा थिएटरका अध्यक्ष समेत रहनुभएका महोत्सव निर्देशक परिवर्तनले भन्नुभयो ।

यस वर्ष भर्चुअल माध्यमबाट नाटकको आवेदन आह्वान, छनोट लगायतका कार्यहरु गरिने छ । यसरी सहभागी प्रतिष्पर्धीमध्येबाट उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गरिने छ । उत्कृष्ट ४ मा पर्न सफल नाटकलाई भौतिक उपस्थितिमा पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिनेछ । यसरी मञ्चन गरिएको नाटक थिएटरको युट्युब च्यानलमा समेत राखिनेछ । प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवमा गण्डकी प्रदेश सरकारसँगको सहकार्य गरिएको छ ।

उत्कृष्ट ४ नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । जसको सदस्यमा कलाकार माओत्स गुरुङ र प्रमिला तुलाचन रहनुभएको छ ।गण्डकी प्रदेशका जुनसुकै विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्ने नाटक महोत्सवमा छनोटका लागि केही नियम बनाइएको आयोजकले जनाएका छन् ।

महोत्सव निर्देशक परिवर्तन भन्नुहुन्छ-‘प्रतियोगीतामा भाग लिनको लागि प्रस्तुति एकल हुनुपर्ने छ । नेपाली नाटक हुनुपर्ने छ । नेपाली भाषा वा साङ्केतिक भाषाको पनि प्रयोग गर्न पाइने छ ।कुनै पनि जाति, सम्प्रादय, धर्म, संस्कृतिको मूल्य मान्यतालाई खलल पार्ने खालको नाटक मूल्याङकन प्रक्रियामा सहभागी गराइने छैन । नाटकको समयावधि घटीमा १० देखि बढीमा १५ मिनेटसम्मको हुनु पर्नेछ । नाटकलाई भिडियोमा खिचेर पठाउनु पर्ने छ । भिडियो स्पष्ट र गुणस्तरयुक्त हुनु पर्ने छ ।’

महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यामिक तहसम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् । लेखन, निर्देशन आवश्यकता अनुरुप विद्यार्थी स्वयम् वा अन्य व्यक्तिहरुले पनि गर्न सक्ने आयोजकले बताएका छन् । प्रतियोगीले नाटकको भिडियोको साथमा अनिवार्य रुपमा विद्यालयको स्वीकृति पत्रसमावेश गर्नु पर्ने छ । नाटकको भिडियो माघ महिनाको २८ गतेसम्म पठाइसक्न थिएटरको आग्रह छ । पुरस्कृत नाटकलाई एक विशेष समारोहको विचमा पुरस्कार वितरण तथा प्रत्यक्ष मञ्चन गर्ने व्यवस्था गरिने पोखरा थिएटरका सञ्चालक मध्येका एक दिलप्रसाद गुरुङले जानकारी दिनुभयो ।

‘प्रथम पुरस्कार पचास हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद पच्चीस हजार रुपैयाँ, तृतीय पुरस्कार १२ हजार ५ सय रुपैयाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ’ गुरुङले भन्नुभयो । महोत्सवको घोषणसंगै करिव दश महिनाबाट बन्द रहेको पोखरा थिएटर औपचारिक रुपमा संचालनमा आएको समेत गुरुङको भनाई छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि प्रकाश ओझाले नयाँ पुस्तामा रंगक्षेत्र तर्फको आर्कषण बढाउन सहकार्य गर्न लागिएको प्रष्ट पार्नुभयो ।

नाटक छनोट समितिका सदस्य प्रमिला तुलाचनले समेत नाटक महोत्सवको बारेमा बोल्नुभएको थियो । पुरस्कार वितरण तथा प्रत्यक्ष मञ्चन आगामी फागुन २ गते थिएटरको वार्षिकउत्सवको अवसरमा गर्ने थिएटरले तयारी गरेको छ । फागुन २ गते थिएटर सञ्चालनमा आएको तीनवर्ष पुग्दैछ । पोखरा थिएटरमा हालसम्म ४८ वटा नाटक मञ्चन भैसकेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button