देशको आर्थिक सूचकहरु सकारात्मकः अर्थमन्त्री पौडेल

पोखरा न्यूज । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरु सकारात्मक रहेको बताउनुभएको छ ।

बुधबार कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशको आर्थिक क्षेत्रको सूचकहरु सकारात्मक रहेको बताउनुभएको हो । कोभिड १९ को कारणले राजस्व परिचालनका केही सन्दर्भमा प्रतिकुलता रहेपनि अन्य क्षेत्रमा आर्थिक सूचकहरु सकारात्मक रहेको उहाँको भनाइ छ । उहाँले कोभिड १९ को बावजुद पनि देशको अर्थतन्त्रलाई गतिशील, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको बताउनुभयो । मन्त्री पौडेलले नेपाल कोभिडविरुद्द सही नीति, सहि योजना र प्रभावकारी कार्यान्वयनका साथ अघि बढेको भन्दै छिटोभन्दा छिटो कोभिडविरुद्दको भ्याक्सिन आयात गरेर आम नागरिकलाई निशुल्क उपलब्ध गराउने जानकारी दिनुभयो । पहिले फ्रन्टलाइनबाट शुरु गरेर क्रमशः आम नागरिकमा पुर्‍याउने उहाँको भनाइ छ ।

मन्त्री पौडेलले मध्यावधि निर्वाचन गर्ने कुरा संविधानले प्रवन्ध गरेको व्यवस्था भएको भन्दै उहाँले संविधानको कार्यान्वयनले मुलुकलाई गतिशिल ढंगले अघि बढाउन मद्दत गर्ने बताउनुभयो । मुलुकलाई संविधानले परिलक्षित गरेको दिशामा लैजानको निम्ति निर्वाचनको अपरिहार्यता रहेको पनि उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागु गरेको र वित्तीय क्षेत्रलाई यसले विशेष रुपले समेट्ने भएकोले बढीभन्दा बढी विद्युतीय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैंक अघि बढेको बताउनुभयो । यसबाट सुशासन कायम हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । कृषिमा आधुनिकिकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषि विकास बैंकले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उहाँले बताउनुभयो ।

कृषि विकास बैंक लिमिटेडका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्चमुल्य प्राप्त हुने फलफुलमा कर्जा विस्तार गर्ने बताउनुभयो । त्यसैगरी गाई, भैंसी फार्ममा पनि लगानी विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । बैंकले उत्पादन र उत्पादकत्व बढाउने तर्फ काम गर्ने उहाँले बताउनुभयो । कृषि विकास बैंक लिमिटेडले बुधबार ५४ औँ वार्षिकोत्सव मनाएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button