कारवाहीमा परेका बागलुङका वडाध्यक्ष पदमुक्त

पोखरा न्यूज । बागलुङको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष पदमुक्त हुनुभएको छ । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले सार्वजनिक सूचनामार्फत पदमुक्त गरेको हो । उहाँसँगै सोही वडाका सदस्य तिलबहादुर फगामीलाई पनि पदमुक्त गरिएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित वडाध्यक्ष पुन र वडासदस्य फगामीलाई पदमुक्त गरेको सार्वजनिक सूचना प्रकाशन गरेको छ ।राष्ट्रिय जनमोर्चाको सिफारिसमा वडाध्यक्ष र सदस्यलाई आयोगले पदमुक्त गरेको हो । पार्टीको आन्तरिक विवादका कारण जनमोर्चाले आफ्नै जनप्रतिनिधि निर्वाचित व्यक्तिलाई पदमुक्त गर्न आयोगलाई पत्र लेखेको थियो । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले पनि विज्ञप्ति जारी गर्दै जनमोर्चा परित्याग गरेका पुन र फगामीलाई आयोगले पदमुक्त गरेको जानकारी गराउनुभयो ।

राष्ट्रिय जनमोर्चा केन्द्रीय कमिटीले वडाध्यक्ष र सदस्य दुवैले दल त्याग गरेको सिफारिस निर्वाचन आयोगलाई लिखितरुपमा पेश गरेपछि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम अध्यक्ष र सदस्य पद स्वतः रिक्त भएको जानकारी दिएको छ ।

गत वर्षको कात्तिक १२ गते जनमोर्चाका कार्यकर्ताबीचको झडपमा परी पुन र फगामी घाइते हुनुभएको थियो । झडपमा वडाध्यक्ष पुनसहित अन्य कार्यकर्ता गम्भीर घाइते हुने गरी कुटपिट भएको भए पनि वडाध्यक्ष पुनसहित उहाँ पक्षीय कार्यकर्तामाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । अध्यक्ष पुनलाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ गरी हिरासतमा राखेको छ ।

त्यो घटनामा सात जनाविरुद्ध मुद्दा दायर गरिएको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष पदमुक्त भएपछि खुङगावासीलाई सिफारिसलगायतका काममा समस्या भएको छ । नगरपालिकाले बैठक राखेर मौजुदा वडासदस्यमध्ये कसैलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने तयारी गरेको नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button