बाँदर नियन्त्रणपछि बाँझो जमिनमा खेती

पोखरा न्यूज । बाँदर आतङ्कका कारण खेतबारी बाँझै राखेका पर्वतका महाशिला गाउँपालिकाका कृषक पछिल्लो समय खेती गर्न थालेका छन् । गाउँपालिकाले बाँदर नियन्त्रण गरेपछि कृषक व्यावसायिक खेतीतर्फ आकर्षित बनेका हुन् । बाँदरले बालीनाली सखाप पारेपछि महाशिला गाउँपालिकाले विगत तीन वर्षदेखि बाँदर नियन्त्रण अभियान चलाएपछि कृषकलाई राहत भएको हो । पालिकाले मानिस र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन कार्यविधि तयार पारेर बाँदर नियन्त्रण अभियान चलाएकामा पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष जीवनविक्रम उचैका अनुसार अहिलेसम्म ४२३ बाँदरलाई नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जमा पठाइएको छ । गत वर्षसम्म करिब ६० को सङ्ख्यामा रहेकामध्ये ३० लाई छोपिएपछि अब करिब २५–३० वटा रैथाने जातका बाँदर मात्र बाँकी रहेको उहाँको भनाइ छ । गाउँपालिकाले बाँदर नियन्त्रण गर्ने काम गरिरहँदा कतिपय अवस्थामा कानूनी अड्चन आएका कारण भने समस्या भएको प्रवक्ता उचैले बताउनुभयो ।

“कतिपय अवस्थामा वन्यजन्तुसँग सम्बन्धित कानून तथा सङ्घीय र प्रदेश सरकारको प्रावधानका कारण पनि समस्या आउने रहेछ । स्थानान्तरणका लागि कानूनी असहजता पनि उत्पन्न भयो”, उहाँले भन्नुभयो, “दुःख गरेर लगाएको खेती पाकेर खाने बेलामा बाँदरका हातमा पुग्यो । चुनावी घोषणापत्रमा पनि यो प्रतिबद्धता राखिएकामा सोहीअनुसार काम भएको छ ।” कृषक राजेन्द्र पौडेलका अनुसार वन्यजन्तुले मान्छेलाई बसाइँ सरेर जानुपर्ने अवस्थामा ल्याएका थिए । लगाइएको खेती नै नष्ट भएपछि गाउँमा ऋण गरेर अन्न खानुपर्ने बाध्यताले कतिपयलाई विस्थापित गरेको सम्झिँदै उहाँले अब भने त्यो अवस्था नरहेको बताउनुभयो ।

“बाँदर नियन्त्रण गरेर व्यवस्थापन गरिँदा जङ्गलकै छेउमा रहेका जग्गामा त फाटफुट बाँदर देखापरेका छन् । तर गाउँमा आउने, घरभित्रै छिर्ने, अन्न चोर्ने गरेका बाँदर अहिले छैनन् । फाटफुट भए पनि महत्वपूर्ण खेतीमा बाँदर जाँदैनन्”, उहाँले भन्नुभयो, “बच्चादेखि अहिलेसम्म पनि बारीमा छाप्रो बनाएर बाँदर रुँगेर बस्नुपरेकामा अहिलेबाट यसको अन्त्य भएको छ । बाँदरकै कारण जमिन बाँझो छाड्नुपरेको अवस्था छैन ।” महाशिला गाउँपालिकाभित्र रहेका बाँदरको नियन्त्रण गरिएको भए पनि छिमेकी स्थानीय तहले यो अभियान नचलाउँदा छिमेकबाट आएका बाँदरले हैरानी दिनसक्नेप्रति भने कृषक चिन्तित छन् ।

तीन वर्ष अगाडिबाट बाँदर नियन्त्रण गर्न थालिएपछि गत वर्षबाट कृषकले बाँझो छाडिएका जग्गामा पनि खेतीपाती गर्न थालेको भनी वडाबाट आफूलाई सूचना आएको गाउँपालिकाका प्रमुख राजुप्रसाद पौडेलले बताउनुभयो । बाँदर नियन्त्रण गर्न यस अगाडि भारतबाट जनशक्ति ल्याइएको भए पनि अब भने स्थानीय प्रविधि र स्थानीय जनशक्तिकै प्रयोग गरेर काम गरिने अध्यक्ष पौडेल बताउँनुहुन्छ । उहाँका अनुसार बाँदरको स्थानान्तरणको लागि शुरुमा रु ३० लाख बजेट विनियोजन गरेको भए पनि त्यो सबै पैसा खर्च गर्नु परेन ।

बाँदर नियन्त्रण गर्न वडा नं ३, ४ र ५ लाई समेटेर व्यवस्थापन समिति बनेको छ । समितिले स्थानीय तहसँग सम्झौता गरेर बाँदर नियन्त्रणको काम गर्दै आएको छ । स्थानीय तारा पौडेलले बाँदरको हैरानी सकिएको भए पनि खरायो, मृग, दुम्सीलगायतले अहिले पनि खाद्य बाली खेतबाटै सक्दिने गरेका कारण त्यसका लागि पनि पालिकामा अनुरोध गरिएको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button