मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान

पोखरा न्यूज । निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ अनुसार बुधबारदेखि जिल्ला निर्वाचन कार्यालय काभ्रेले आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको छ ।

निर्वाचन आयोगले नयाँ मतदाता नामावली सङ्कलनको कामलाई स्थगित गर्दै मतदाताको नामावलीलाई अध्यावधिक, मतदानस्थल र केन्द्रलाई राजनीतिक दल र स्थानीय सरकारको आवश्यक सल्लाह सुझावका आधारमा संशोधन अगाडि बढाएको जनाइएको छ । यससँगै जिल्लामा पनि कार्यालयले छलफल आयोजना गरेको छ ।

पहिलो चरणको काम मतदानस्थल, केन्द्रको अवस्था र स्थानीय तहबाट आएको औपचारिक पत्रसहितको सुझावका आधारमा छलफल गरी निर्वाचन आयोगमा सिफारिस गर्ने काम अगाडि बढाएको कार्यालयका निर्वाचन अधिकारी उमेशकुमार राईले जानकारीदिनुभयो ।

“आयोगको निर्देशन अनुसार नयाँ मतदानस्थल बनाउन नमिल्ने तर भएकोलाई अवस्था र मतदाताको समस्यालाई ध्यानमा राखेर राजनीतिक दल र स्थानीय तहको सुझावको आधारमा निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेका छौं”, उहाँले भन्नुभयो,“उहाँहरुको सुझावलाई मध्यनजर गरी सोही अनुसारले प्रक्रियालाई अगाडि बढाएका छौं ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि नारायण पाण्डे र नेपाली काँग्रेसका प्रतिनिधि महेश पौडेलले निर्वाचन कार्यालयले गरेको आग्रहका आधारमा स्थानीय तहहरुले पठाएको आधिकारिक पत्र बाहेक अरु मतदानस्थललाई अहिलेको लागि नचलाउन सुझाव दिनुभयो ।
विसं २०७४ को निर्वाचनमा जिल्लामा दुई लाख ७२ हजार २९२ मतदाता सङ्ख्या रहेकोमा अहिले नयाँ दश हजार २६३ जना थप भएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावलीलाई अद्यावधिक गर्न सबैले सहयोग पुर्‍याउन आह्वान गर्नुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button