मतदाता नामावली अद्यावधिक गरिँदै

पोखरा न्यूज । जिल्ला निर्वाचन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा सक्रियता देखाएको छ । कार्यालयले सरोकारवालासँग समन्वय गरी जिल्लाभरी कुन ठाउँमा के कति मतदानस्थल र केन्द्र रहने भनी टुङ्गो लगाइसकेको छ । जिल्लामा साविकको भन्दा चार वटा मतदानस्थल थप्ने व्यवस्था गर्न लागिएको कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।

विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा भएसँगै कार्यालयले निर्वाचनको तयारीमा सक्रियता देखाएको हो । यसै क्रममा आज कार्यालयमा मतदाता नामावली अद्याबधिक लगायतका बारेमा सरोकारवालासँग छलफल गरिएको छ ।

राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सहभागी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले निर्वाचन सम्पन्न गराउन सरोकारवाला सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो ।

निर्वाचन कार्यालयका प्रमुख भट्टले निर्वाचनको तयारीका लागि भइरहेको कामबारे जानकारी दिनुभएको थियो । यही माघ १५ गतेदेखि मतदाता नामावली अध्यावधिक(दाबी विरोध समेत) लगायतका काम गर्न लागिएको छ ।

पछिल्लो तीन वर्षमा आठ दशमलब पाँच प्रतिशतले मतदाता थपिएका छन् । थपिएका मतदाता समेत गएको गत पुस ५ गते सम्म कूल पाँच लाख ४६मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार लाख ६० हजार ५७८ मतदाता रहेका थिए ।

जिल्लामा पुरुषको भन्दा महिला मतदाता बढी छन् । दुई लाख ५६ हजार २०४ महिला मतदाता र दुई लाख ४३ हजार ८३२ पुरुष मतदाता पुगेका छन् । तेस्रो लिङ्गी मतदाता दश जना छन् । जिल्लामा प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र र प्रदेशसभाका दश निर्वाचन क्षेत्र रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button