पर्वतमा खुर्कोट सवस्टेशन चार्ज शुरु

पोखरा न्यूज । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सवस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन चार्जका लागि गए राति १० बजेदेखि परीक्षण शुरु गरेको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले जनाएको छ ।

आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले भौतिक संरचना निर्माण र आन्तरिक परीक्षण सकेर सवस्टेशन चार्ज शुरु गरेको जानकारी दिनुभयो । सवस्टेशन चार्जको परीक्षण अवधि २४ घण्टाको हुने भएको छ । पर्वतको मोदी–चुवा हुँदै खुर्कोटसम्म १३२ केभी विद्युत् ल्याएर सवस्टेशनको टान्सफर्मर चार्ज शुरु गरिएको हो ।

आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयाँलले खुर्कोटको सवस्टेशनको परीक्षण सफल र ट्रान्सफर्मर चार्ज भएपछि म्याग्दीको दाना सवस्टेशन चार्जको प्रक्रिया अघि बढाइने बताउनुभयो । स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले पर्वतको मोदी–चुवा–खुर्कोट हुँदै दाना सवस्टेशनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो ।

दाना सवस्टेशनअन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दी खोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना चालु छन् । बयालीस मेगावाट क्षमताको मिस्ट्रिखोला परीक्षण उत्पादनको तयारीमा छ । सवस्टेशनको ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ ।

सवस्टेशन चार्ज गर्नका लागि आयोजनाका कर्मचारी गए राति १० बजेसम्म खुर्कोटमा बसेर काम गर्नुभएको थियो । खुर्कोटस्थित सवस्टेशन चार्जमा उपस्थित हुनुभएका नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधानले सवस्टेशन चार्ज प्रसारण लाइनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले खुर्कोट सवस्टेशनको परीक्षण सफल भएकामा खुशी व्यक्त गर्दै त्यहाँबाट दाना सवस्टेशनसम्म १३२ केभी लाइनबाट विद्युत् पठाएर त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारी भएको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना र पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा सवस्टेशन तथा दुई ठाउँ जोड्ने ३९.६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । एक सय १० वटा टावर निर्माण भएको छ । खुर्कोटदेखि पर्वतको कुश्मा नगरपालिका-८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सवस्टेशन जोड्ने छ किलोमिटर लामो प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ ।

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सवस्टेशन निर्माण भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । प्रसारण लाइन र सवस्टेशन बनाउन सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button